एटा संवाददाता
अल्डरसट । भेडी गोठालेको जीवन कथामा आधारित नेपाली चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् भेडी गोठालेको विशेष प्रदर्शन गरिएको छ ।
तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होइबो धिं निर्माण सहयोगार्थ गत शुक्रबार २१ सेप्टेम्बर साँझ ५ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो । भेडीगोठ गुरुङहरुको परम्परागत पेसा हो । जुन गोठमा गोठालेको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कहिले लेक, कहिले बेंसी गरिरहने गोठालेको वास्ताविक जीवन कसरी बितेको हुन्छ भन्ने विषयलाई चलचित्रमा देखाउन खोजिएको छ ।
कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर (रि) खुशीमान गुरुङ एमभिओले सबै दर्शकहरुलाई स्वागत गर्दै चलचित्र प्रदर्शनको उद्देश्यबारे जानकारी दिएका थिए । संघले छिट्टै सामुदायिक भवन निर्माण गर्न लागेको बताउँदै सहयोगका लागि सबैलाई धन्यवाद दिए । साथै, उनले चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’ ले निःशुल्क चलचित्र र पुरन गिरिले निःशुल्क हल उपलब्ध गराई आपूmहरुको क्होइबो धिं निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद दिए । मिलन डीजी ईन्टरनेशनल प्रालिको पहिलो प्रस्तुति भेडी गोठाले अमेरिका, हङकङ, कतार, नेपाल, दुबईलगायत देशमा सफल प्रदर्शन भएपश्चात् बेलायतमा पहिलोपटक प्रदर्शन गरिएको हो । जुन चलचित्रको लेखन तथा निर्देशन सुवास गुरूङले गरेका छन् ।
दुर्गा गुरुङ मिलन कार्यकारी निर्माता रहेको सो चलचित्रलाई विक्रम गुरुङ (हङकङ), देउकुुमारी गुरुङ (अन्जना), देउकी सिञ्जाली (दिपीका मिलन) र विजया गुरुङ (हङकङ) ले निर्माण गरेका हुन् ।
अत्यन्तै मीठा गीतहरु रहेको चलचित्रमा आरके गुरुङ, बसन्त सापकोटा, सूर्य गुरुङको संगीत छ । त्यस्तै, मेलिना राई, आरके गुरुङ, सुवास गुरुङ, बसन्त सापकोटा, शान्ति गुरुङले स्वर दिएका छन् ।
प्रकाश गुरुङ ‘काश’ को कोरियाग्राफी, सुवास गुरुङ तथा ध्वज गुरुङको नृत्य र मोहन गुरुङको मेकअप रहेको चलचित्रमा राजेश गुरुङ, आश्मी गुरुङ, सनम गुरुङ, खुसी गुरुङ, मेख गुरुङ र गौरी गुरुङको अग्रणी भूमिका रहेको छ ।
गुरुङहरुको कला र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र असाध्यै राम्रो रहेको दर्शकहरुको भनाइ थियो । कथावस्तुले ग्रामीण परिवेशलाई स्मरण गरेको बताउँदै चलचित्रको भाग २ छिट्टै हेर्ने चाहना धेरै दर्शकले राखे । सामुदायिक भवन निर्माण सहयोगार्थ प्रदर्शन गरिएको चलचित्र हेर्न विभिन्न संघसंस्थाका अध्यक्षलगायत अग्रज र बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो ।






