एटा संवाददाता
अल्डरसट । मगर महिला संघ युके केन्द्रीय समितिले विविध कार्यक्रमका साथ २१औं मगर महिला संघ स्थापना दिवस
मनाएका छन् ।
गत शनिबार २२ सेप्टेम्बर २०१८ का दिन अल्डरसटमा मगर संघ युकेका अध्यक्ष नेम थापामगर प्रमुख आतिथ्यमा दिवस मनाइएको हो । सो अवसरमा मगर महिला संघ युकेको स्थापनाका निम्ति अगुवाई गरेकी संस्थापक अध्यक्ष हिमाली रानामगरको योगदानलाई कदर गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो । उनी विशेष अतिथिको रुपमा उपस्थित थिइन् ।
त्यस्तै मगर संघ युकेको स्थापनाकालदेखि युकेमा रहेका मगर महिलाहरुलाई एकताबद्ध गराएर मगर संघलाई हरेक कार्यक्रममा साथ दिँदै आएकी गोमा रानामगरलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मगर महिला दिदीबहिनीहरू देवी आलेमगर, नर्मती पुनमगर, गोमा रानामगर, शशिकला थापामगर सुब्बा र मिस नेपाल युके (२०१६) टेनिसा रानामगरले कविता वाचन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा मगर महिला संघ वेम्ब्ली शाखाका सदस्य तथा नेपाली चलचित्र कन्यादान र तिलहरी जस्तो ठूलो पर्दामा बाल कलाकारको रूपमा अभिनय गरिसकेकी स्थानीय कलाकार रश्मी दर्लामीमगर साथै नेपालबाट आएकी चर्चित दोहोरी गायिका जुनु पुनमगर र जयालक्ष्मी छन्त्यालको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमलाई युकेभरी छरिएर रहेका मगरहरुले प्रायोजन गरेका थिए । कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिँदै वचत भएको रकम सीधै मगर महिला उत्थान कोषमा जम्मा गरिने संस्थाकी महासचिव सरला रानामगरले बताइन् ।
अन्त्यमा कार्यक्रममा विभिन्न किसिमका प्रतिभाहरु प्रस्तुत् गरेका सहभागी दिदीबहिनीहरूलाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै, मगर महिला संघ स्वीन्डन शाखाका मगर महिला भलिबल खेलाडीहरूलाई रिडिङ्ग कपमा तेस्रो स्थान र स्वीन्डन कपमा दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा धन्यवादसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीमगर, मगर संघ युकेअन्तर्गत मगर महिला समिति संस्थापक संयोजक तथा सल्लाहकार गोमा रानामगर, मगर संघ युकेका उपाध्यक्ष तथा सल्लाहकार अनिता रानामगर, मगर संघ युकेअन्तर्गत शाखा समिति अध्यक्ष तथा प्रतिनिधिहरु, मगर बौद्ध समाज युकेका अध्यक्ष कृष्ण दर्लामीमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष प्रतिमा लाबुङ राई, एशियन महिला एशोसिएसन (आमा)की अध्यक्ष अमिता बेल्वासे, मगर महिला संघ युकेका शाखा अध्यक्षलगायत सदस्यहरुको बाक्लो उपस्थिति थियो ।
मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव सरला रानामगर र सहकोषाध्यक्ष निर्मला थापामगरले सञ्चालन गरेकी थिइन् ।






