
लन्डन १ मार्च २०२५ । पाँचथर समाज सेवा यूकेले च्यारिटी डिनरबाट संकलित १५ लाख रकम पाँचथरको फालेलुङ गाउँपालिका-३ मा अवस्थित पापुन्देन आधारभूत विद्यालयलाई दिने निर्णय गरेको छ ।
शुक्रबार २८ फेब्रुअरीमा बसेको जुम बैठकमा च्यारिटी डिनरको समीक्षा गर्दै सहयोग रकम पापुन्देन आविलाई दिने निर्णय गरिएको संस्थाका विदेश विभाग प्रमुख गजेन्द्र नेम्बाङले जानकारी दिए ।
‘पाँचथर समाज सेवा बेलायतले हालै आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमको हिजो जुममा बैठक गरी समीक्षा गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका-३ मा अवस्थित पापुन्देन आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका छात्र छात्राहरुलाई आर्थिक सहयोगको घोषणा समीक्षा बैठकले गरेको छ,’ उनले भने, ‘च्यारिटी डिनरबाट संकलित १५ लाख रकम उक्त स्कुलमा सहयोग पुग्ने छ ।’
बैठकमा सहभागीहरुले च्यारिटी डिनर सफल भएको भन्दै प्रशन्नता व्यक्त गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ, पूर्वअध्यक्ष नरवीर आङबो, सल्लाहकार छवि सेविङ, सल्लाहाकार दिल सम्बाहाङफेलगायत दर्जनौं उपस्थित थिए ।
पाँचथर समाज सेवा यूकेले गत जनवरी ८ तारिखमा अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी कार्यक्रम गरेको थियो ।
अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा बसेको जुम बैठक सञ्चालन सहसचिव सन्देश नेम्बाङले गरेका थिए ।






