एटा संवाददाता
अल्डरसट । नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालको संविधान २०७२ ले गैरआवासीय नेपालीहरुलाई आफ्नो नागरिक स्वीकार गरेको बताएका छन् । उनले गत बिहीबार ११ अक्टोबारका दिन अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा एनआरएनए युकेद्वारा आयोजित अन्तक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले नेपालमै रहेका नागरिकले पनि सहज रुपमा नागरिकता पाउन नसकेको अवस्था रहेको बताउँदै अहिले संसद्मा १०० भन्दा बढी नागरिकता संशोधन प्रस्ताव दर्ता रहेको जनाए । उनले चीन र भारतका विदेशमा बस्ने नागरिकले आफ्नो देश विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै विदेशमा बस्ने नेपालीहरुले पनि नेपाल बनाउन विशेष भूमिका खेल्न सक्ने भन्दै देश विकासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा वनमन्त्री शक्ति बस्नेतले गैरआवासीय नेपालीहरुको भावनासँग आफ्नो ऐक्यबद्धता जनाउँदै आर्थिक र सामाजिक परिवर्तनका लागि सरोकारवालाहरु थप गम्भीर हुनुपर्नेमा जोड दिए । उनले देश बाहिर बस्ने नेपालीहरुले आर्जन गरेको सीप, अनुभव, पुँजी र साधनस्रोतलाई नेपालको विकासमा सदुपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागरिकता पाउनेमा निश्चिन्त हुन अनुरोध गरे ।
कार्यक्रममा नागरिकता ऐन संशोधनका लागि उपप्रधानमन्त्री यादवलगायत नेपाल सरकारका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाइएको थियो । निर्धारित समयभन्दा धेरै ढिला सुरुआत भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली राजदूतावासले एनआरएनए युकेसँग सहकार्य गरी नेपालको आर्थिक र सामाजिक अभिवृद्धि गर्नका लागि निरन्तर अघि बढिरहेको बताए । उनले बेलायतवासी नेपालीहरुले नेपालको संकटमा र आपतविपतमा सहयोग र सहानूभूति प्रकट गर्दै आएका बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, एनआरएनए युकेका संरक्षक एवं पूर्वअध्यक्ष सूर्य गुरुङ, एनआरआएए युकेका सल्लाहकार शिवजी श्रेष्ठले समेत बोलेका थिए ।
कार्यक्रममा नेपालबाट आएका संघीय समाजवादी फोरमकी महिला नेतृ सुशीला श्रेष्ठ, डा. रविन्द्र ठाकुर, उमेन्द्र यादव र पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्टार प्रमिला थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै, नेपाली दूतावास लन्डनका मेलेटरी एट्याची कुमार बाबु थापा क्षेत्री, मगर संघ युकेका अध्यक्ष नेम थापा, तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, संघीय समाजवादी फोरम युकेका नवनिर्वाचित अध्यक्ष बालकृष्ण राई, निवर्तमान अध्यक्ष कमल गुरुङ, केन्द्रीय सदस्य भगवान चाम्लिङ्ग, किरात राई यायोक्खाका अध्यक्ष कल्पना राई, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एनआरएनए युकेका उपाध्यक्ष पुनम गुरुङ, शेर सुनारलगायत नेपाली समुदायका अग्रजहरुको विशेष उपस्थिति रहेको थियो ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुशीला राईले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव राजकुमार त्रिपाठीले औपचारिक र उपमहासचिव विनय अधिकारीले अन्तत्र्रिmयाको सञ्चालन गरेका थिए ।






