लन्डन । पारिवारिक भ्रमणमा बेलायत आएकी तमु प्ये ल्हु संघ नेपालको केन्द्रीय महासचिव शान्ति पर्जु तमुलाई बेलायतमा सम्मान गरिएको छ ।
तमु प्ये ल्हु संघ युकेले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबरोमा एक कार्यक्रम आयोजना गरी महासचिव पर्जुलाई सम्मान गरेको हो । भ्रमणको क्रममा बेलायत आउने सबै शाखाहरुको पदाधिकारीहरु जोकोहीलाई पनि तमु प्ये ल्हु संघ युकेले स्वागत तथा सम्मान अनि भेटघाट गर्दै आएको छ । त्यसैअन्तर्गत गत २१ अक्टोबर आइतबार बेलायत आएकी केन्द्रीय महासचिव शान्तिसँग पनि भेटघाट गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमु एमभिओले पछ्यौरा ओढाएर सम्मान गरेका थिए । त्यसैगरी आमा समूहका द्वितीय उपाध्यक्ष बीजमाया थिम्चे तमु र सचिव बबिता प्हच्यु तमुले पनि पछ्यौरा र पुष्पगुच्छाले सम्मान गरेका थिए ।
सामुदायिक भवन तथा क्होँईबोँ निर्माण समितिको तर्फबाट प्रमुख संयोजक क्या. डेमबहादुर योज तमुले पुष्पगुच्छा दिई सम्मान गरेका थिए । संघका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमुको सभापतित्वमा भएको कार्यक्रम पूर्वसचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेका थिए ।






