एटा संवाददाता
अल्डरसट । नेपाली चलचित्र ‘रामकहानी’ लन्डनमा प्रदर्शन हुने भएको छ ।
गत ७ सेप्टेम्बर अर्थात् २०७५ साल भाद्र २२ गते नेपालमा पहिलो प्रदर्शन भई धेरै दर्शकहरुको रोजाई बन्न सफल प्रेमकथामा आधारित चलचित्र रामकहानी बेलायतका विभिन्न सहरहरुमा प्रदर्शन हुन लागेको हो । आकाश श्रेष्ठ, पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, राजाराम पौडेल र रवीन्द्र झालगायतका .लोकप्रिय कलाकारको अभिनय रहेको छ ।
सुदर्शन थापा प्रोडक्सनको व्यानरमा बनेको सो चलचित्र अल्डरसटको एम्पायर हलमा आउँदो ४ नोभेम्बरका साँझ ५ बजे पहिलो प्रदर्शन हुन लागेको हो । त्यस्तै, हन्स्लो सहरमा ११ नोभेम्बर, मेडिस्टोन सहरमा १७ नोभेम्बर र स्वीन्डन सहरमा १ डिसेम्बर साँझ ५ बजे प्रदर्शन गर्न लागिएको बेलायत प्रदर्शन टिमका सदस्य मनोज गुरुङले जानकारी दिए ।
माया प्रेम, हाँस्यव्यङ्य र अन्धविश्वासको संगालो रहेको सो चलचित्रलाई ‘मेरो एउटा साथी छ, प्रेम गीत र म यस्तो गीत गाउँछु’ जस्ता अन्त्यन्त सफल चलचित्रका निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन् ।
नायिका पूजा शर्मा र सुदर्शन थापाको लगानीमा बनेको चलचित्र हेर्न ईच्छुक दर्शकहरुले आ–आफ्नो पायक पर्ने नजिकको प्रदर्शन हलमा गई चलचित्र हेर्न आयोजकले अनुरोध गरेका छन् ।






