काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्केका छन् ।
कात्तिक १२ गते उनको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्र असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।
प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो । ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने पार्टी नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षानिकाय, शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् ।






