बेलायत – बिहिवार २५ सेप्टेम्वर २०२५ का दिन दशैं परित्याग तथा मौलिक चाड संचेतना मन्चले आदिवासी र दसैं विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साँस्कृतिक सहिद राम्लिहाङ र रिदामा आठपहरियाको १५९ औ स्मृति दिवसको अवसरमा भर्चुअल अन्तरक्रियामा अगुवा बुद्धिजीवी एवम् साँस्कृतिक अभियन्ताहरूबाट विचार प्रस्तुति एवम् सहभागीहरूबीच प्रश्नोत्तर कार्यक्रम भएको हो ।
उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी तथा दशैं परित्याग तथा मौलिक चाड संचेतना मन्चले दर्शै मनाउन ईन्कार गरेको कारण झूण्डाएर मारिएका सहिदद्धय राम्लिहाङ र रिदामाका १५९ औं स्मृति दिवस तथा आदिवासी र दशैं विषयक अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भयो र यस कार्यक्रमबाट निम्न ७ बुंदे घोषणा पत्र जारि गरेको छ।
घोषणा–पत्र
१. दशैंको कारण वर्णाश्रममा नपर्ने आदिवासीहरु शोषित पीडित बनेको, औपनिवेशिक मानसिकता निर्माण भएको, गरिबी बढेको कारण यी तमाम शोषणबाट मुक्त हुनको निमित्त जर्बरजस्त लादिएको दशैंलाई परित्याग गर्नुपर्ने निष्कर्ष ।
२. विद्यालयमा दशैं टिका नलगाई दिन अनुरोध गर्ने, दबाब दिने, त्यस्ता विद्यालयमा आफ्ना बालबच्चा नपढाउने ।
३. आदिवासीहरुले टिका नलगाउने, दशैं नमनाउने अरुलाई पनि नमान्न आग्रह गर्ने तर धार्मिक सहिष्णुतालाई सम्मान गर्ने ।
४. प्राविधिक रुपबाट दशैं पूर्णरुपमा छोड्न नमिल्ने अवस्था भएको खण्डमा कम्तिमा नयाँ बालबच्चालाई टिका नलगाई दिने अर्थात दशैंको प्रभाव नदिने ।
५. प्रत्येक बर्ष दशैंको नजिक नेपाल आदिवासी जनजाति महासंघ तथा जातिय उत्थान संगठनलाई सहज र सरल भाषामा दशैं हाम्रो नभएकोले नमनाउनु भन्ने शन्देशको सम्झाउनी अपिल जारी गर्न आग्रह गर्ने ।
६. दशैंलाई अनर्थ र अनावश्यकीय ढंगले मनाउदा ठूलो खर्चको कारण आदिवासीहरु प्रतिदिन गरिबी हुदै गएकोले सबैलाई सचेतना दिने ।
७. प्रत्येक बर्ष दशैं टिकाका दिन सांस्कृतिक सहिद त्रय राम्लिहाँङ, रिदामा र लालसेर सेन्दाङको स्मृति सभा गर्ने ।
आदिवासी अभियन्ता निमा पोंगसुवाले अध्यक्षता गरेको कार्यक्रमलाई साहित्यकार तथा युवा नेता अमित थेवेले संचालन गरेका थिए भने अगुवा बुद्धिजीवी एवम् साँस्कृतिक अभियन्ताहरू डा. कृष्ण भट्टचन, आङकाजी शेर्पा, नन्द कन्दंवा र सालिक राई प्रमुख वक्ताको रुपमा रहेका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा संसारभरका झन्डै ६ दर्जन भन्दा बढी समाजसेवी, बुद्धिजीवी, पत्रकार र साहित्यकारहरुको उपस्थिति रहेको थियो ।







