पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित

SHARE:


लन्डन २८ सेप्टेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित भएका छन् ।

अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार सम्पन्न भएको समाजको नवौं महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष नेम्बाङले यसअघि दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

पाँचथरको इम्बुङ जन्मिएका नेम्बाङ पूर्वगोर्खा हुन् । ब्रिटिस सैनिक सेवाबाट अवकाशपछि उनी ड्राइभिङ प्रशिक्षक र मनोक्रान्तिको क्षेत्रमा सक्रिय हुँदै आएका छन् । बेलायतमा नेम्बाङ मामा ड्राइभिङ इन्स्टिच्युटका प्रोपाइटर र मनोक्रान्ति टिम यूकेका टिम लिडर छन् । साथै उनी एभरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक हुन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार पाँचथर समाज सेवा सेवाको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्यक्षमा लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्रराज थाम्सुहाङ, दीपा योङ्ग्या लिम्बु र महासचिवमा पारु राई, सचिव एवं फुटबल कोअर्डिनेटर प्रताप तामाङ, सहसचिव राजन सेलिङ, कोषाध्यक्षमा शिखर लिम्बु, सहकोषाध्यक्ष अर्जुन सेलिङ सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा रस्मी केरुङ योङ्या, राजन राई,देउमान लावती,धन नेम्बाङ,मनकुमार चेम्जोङ , श्रीप्रसाद माबो, शुभ नेम्बाङ र कालु सिङ थाम्सुहाङ चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराए । निर्वाचन समिति सचिवमा छबि सेलिङ र धन काम्बाङ सदस्य रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङले समाजले वार्षिक रुपमा गर्दै आएको पाँचथर कपलाई निरन्तरता दिँदै पर्मानेन्ट डेट तोक्ने, वार्षिक भेला र च्यारिटी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतवासी पाँचथरवासीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिने भन्दै संस्थालाई नयाँ हिसाबले परिवर्तन गर्ने योजना सुनाए ।

उनले शान्ति लिम्बु नेतृत्वको निवर्तमान कार्यसमिति र निर्वाचन समितिलाई धन्यवाद दिए । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।

अधिवेशनको पहिलो चरण अध्यक्ष शान्ति लिम्बु र निर्वाचन समिति अध्यक्ष नर थाम्सुहाङ्ले दिप प्रज्वलन गरी नेपाल र बेलायतको राष्ट्रिय गीत बजाएलगत्तै नेपालबाट आएकी कलाकार निरन्ता नेम्बाङले देशभक्तिले भरिएको गीत गाएर उद्घाटन गरेकी थिइन् । अधिवेशनमा वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले स्वागत मन्तव्य राखेका थिए ।

महासचिव लाहाङ चेम्जोङले संस्थाको कार्यकाल प्रतिवेदन र कोषाध्यक्ष शिखर सम्बाहाङ्फेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनहरु अधिवेसनले सर्वसहमतिमा पास गरेको थियो ।

त्यसैगरी विधान संशोधन गरी सदस्यता नवीकरण १० पाउन्डलाई प्रत्येक वर्ष १० पाउन्ड गरी दुई वर्षे कार्यकालमा २० पाउन्ड संकलन गर्ने पारित गरिएको छ भने ७० वर्ष नाघेका सदस्यहरुलाई १ सय पाउन्डमा आजीवन सदस्य बन्न पाउने नियम पनि अधिवेशनले पारित गरेको छ ।

अध्यक्ष लिम्बुले आफ्नो कार्यकालको कार्यसमितिहरुलाई मायाको चिनो (टोकन ओफ लभ) पनि वितरण गरेकी थिइन् ।

अध्यक्ष लिम्बुले आफ्ना कार्यकालका कमीकमजोरी भएमा माफी माग्दै अधिवेशन सफलताको शुभकामना दिँदै साधारणसभा समापन गरेकी थिइन् ।

कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए ।

तस्बिरहरु : गजेन्द्रराज नेम्बाङ

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!