एटा संवाददाता
अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले ‘नेपालमा आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र अबको बाटो’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
गत शनिबार ३ नोभेम्बर दिन संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली कांग्रेसका नेताहरुलाई एउटै मञ्चमा ल्याएर नेफिन यूकेले अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । संघीय समाजवादी फोरमका नेता अशोक राई, संघीय समाजवादी फोरमकी महिला इन्चार्ज सुशीला श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीकी उपाध्यक्ष कमला थापा र नेपाल तरुण दलका महामन्त्री तथा नेपाली कांग्रेस कालीकोट जिल्लाका पूर्वसभापति भूपेन्द्रजंग शाहीले सो अन्तक्र्रियामा सहभागी रहेका थिए ।
संघीय समाजवादी फोरमका नेता अशोक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेफिन युकेका पूर्व अध्यक्ष एर्व वर्तमान सल्लाहकारहरु तुल छन्त्याल, श्रीप्रसाद लिम्बु र थर्क राना, नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए युके उपाध्यक्ष पुनम गुरुङ, एनपीसीसी युकेका अध्यक्ष युवराज गुरुङ, नेफेसो युकेका उपाध्यक्ष राजकुमार राई, आदिवासी जनजाति महिला महासंघ युकेकी बिमला सेने, समाजसेवी शुस्मा राई, हङ्गकङ्ग नेपाली मञ्च युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ लगायतको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राईले अहिलेसम्म आदिवासी जनजातिहरुको मुद्धा बोक्ने पार्टी भनेकै संघीय समाजवादी पार्टी रहेको र आफूले भूतपूर्व गोर्खाजहरुको मुद्धाबारे निरन्तर रुपमा सशक्त भूमिका खेलिरहेको बताए । त्यस्तै, सबै पार्टीका नेताहरुले आ–आफ्नो पार्टीको विचार व्यक्त गर्दै आदिवासी जनजाति आन्दोलनलाई आफूहरुले साथ दिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, कार्यक्रममा नेफिन युकेका अध्यक्ष जंग सुनुवारले आदिवासी जनजातिहरुको बटमलाइन भनेको नै पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र समानुपातिक प्रतिनिधित्व, समावेशी र पहिचान सहितको प्रदेशको नामाकरण हुनुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिहरुको आन्दोलन नसेलाएको जनाउँदै अहिले आन्दोलन सुस्त रुपमा संचालन भैरहेको बताए ।
बिशेषगरी नेपालका आदिवासी जनजातिहरुको वर्तमान अवस्थाको बारेमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नेताहरुलाई जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासाहरुलाई चारैजना नेताहरुले मेटाउने प्रयास गरेका थिए ।
नेफिन यूके अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी सल्लाहकार भावना परिष्कृतले स्वागत मन्तब्य दिएकी थिईन् भने महासचिव खुशी लिम्बुले कार्यक्रम संचालन र मिलन तमुले फोटोग्राफी गरेका थिए ।






