काठमाडौं । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका लागि स्थापित गरेको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत भएकी छन् ।

‘एभरेष्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ पहिलो पटक सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चारकर्मी गोलेलाई प्रदान गरे। पुरस्कारमा ३५ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ।
पुरस्कार प्रदानपछि उपराष्ट्रपति पुनले बेलायतमा बसेर पनि नेपाली पत्रकारिताको विकास र विशेष गरेर अपांग महिला पत्रकारको प्रोत्साहनमा काम गर्नु सह्रानीय रहेको उल्लेख गरे। उनले पत्रकारिताको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले शारीरिक रुपमा कमजोर भएर पनि पत्रकारितामा संघर्ष गरिरहेका महिलाहरुलाई प्रोत्साहन दिनको लागि पुरस्कारको व्यवस्था गरिएको बताए। उक्त पुरस्कारलाई वर्षेनी प्रदान गर्नका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
हरेक वर्ष एक जना अपांग महिला पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ।






