काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ । आइतबार बिहान ७ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १३० स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी हुनुभएको छ भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।
यसैबीच प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ रास्वपाले हालसम्म ११ लाख ३४ हजार २, नेपाली कांग्रेसले तीन लाख ७४ हजार २६२, नेकपा (एमाले)ले तीन लाख ३६४ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ३४ हजार ७७४ मत प्राप्त गरेका छन् ।







