तेहरान । इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ ।
इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन । इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
अली लारीजानीको मृत्यु इरानका लागि ठूलो झट्का हो । करिब तीन हप्ता पहिले अमेरिका–इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवङ्गत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका रहेको थियो ।
दिवङ्गत खामेनीको अमेरिका–इजरायली आक्रमणमा भएको मृत्युसँगै मध्य पूर्वमा युद्ध भड्किएको थियो।
इरानी संसदका सभामुख बागर गलिवाफले ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाज युद्धपूर्वको मापदण्डमा नफर्कने वाचा गरेलगत्तै सोमबारदेखि मङ्गलबार बिहानसम्म इरानी राजधानी तेहरानमा गरेको व्यापक हवाइ आक्रमणमा लारिजानीको मृत्यु भएको थियो ।






