काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा बिहीबार आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनका लागि प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नारा रहेको छ ।
उद्घाटनअघि भृकुटीमण्डपबाट विभिन्न जातजातिका झाँकीसहित सांस्कृतिक र्याली निकालिएको थियो । महाधिवेशनमा देशभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
‘पहिचानको आधारमा प्रदेशहरूको पुनःनामाङ्कन र प्राकृतिक स्रोतमा अधिकार’ भन्ने नारासहित आयोजना गरिएको महाधिवेशनमा आदिवासी जनजातिका समसामयिक मुद्दाहरूमा छलफल हुने बताइएको छ । नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।






