काठमाडौं । स्पेनलगायत विभिन्न देशहरूमा देखिएको राहदानी समस्याको यथाशीघ्र समाधानको माग गरिएको छ ।
स्पेनमा परराष्ट्र मन्त्रालयको घुम्ती टोलीमार्फत बायोमेट्रिक गरिएका राहदानीहरू यथाशीघ्र पठाई सहयोग गरिदिन बिहीबार नेपाल सरकार, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालज्यूलाई भेट गरी ध्यानाकर्षण गराइएको छ । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग जोडदार आग्रह गरिएको छ ।
भेटमा गैरआवासीय नेपाली संघका सचिव यज्ञनारायण पौडेल र स्पेनका निवर्तमान सचिव राजेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।
भेटका क्रममा बनेका स्पेनका राहदानीहरू यथाशीघ्र पठाउने र छपाइ हुन बाँकी रहेका राहदानीहरू छिटो छपाइ गरी चाँडोभन्दा चाँडो पठाउने आश्वासन राहदानी विभागका महानिर्देशकबाट प्राप्त भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साथै अन्य देशका राहदानी समस्याहरु समाधान गर्नका लागि नेपाल सरकार राहादनी विभाग तत्पर रहेको जानकारी महानिर्देशक गराएका थिए ।






