काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा अधिवक्ता डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त भएका छन् ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आइतबार नियुक्त गरिएको हो ।
सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हो । उनी रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए ।
बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’मा विद्यावारिधि गरेका छन् । कँडेल २०५८ देखि २०६० सम्म तत्कालीन नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका सभापतिसमेत बने । बागलुङबाट पत्रकारिता थालेका कँडेलले लामो समय पत्रकारिता र वकालतको अभ्यास गरेका थिए ।
२०६० साल असार ३० गते बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनी कानुन क्षेत्रमा सक्रिय भएका हुन् । उनी पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेको निजी कानुन व्यवसायी रहँदै आएका थिए भने रास्वपाको कानुन विभागमा पनि रहेर काम गरेका थिए । उनले विगतमा फ्रिडम फोरम,मानव अधिकार शान्ति समाज,एम्नेस्टे इन्टरनेसनललगायतका संस्थामा समेत विभिन्न भूमिकामा रही काम गरे ।
पत्रकारितातर्फ रेडियो नेपाल, नेपालवाणी साप्ताहिक, राष्ट्रपुकार र राजधानी दैनिकमा काम गरे । २०६३ सालमा आइरिस सेन्टर फर ह्युमन राइट्सबाट छात्रवृत्ति प्राप्त गरी उनी उच्च शिक्षा अध्ययनका लागि गएका थिए । उनले विद्यावारिधि भने बेलायतको क्विन्स विश्वविद्यालयबाट गरेका हुन् ।
अधिवक्ता कँडेल संवैधानिक कानुन, मानव अधिकार, राजनीति र समाजशास्त्रका ज्ञाता मानिन्छन् ।






