भूतपूर्व ब्रिटिस गोर्खा उत्तरबहादुर गुरुङ बेलायतमा ७ मे २०२६ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका हुन् । गुरुङ रसमर बरो काउन्सिलअन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका लागि सत्तारुढ लेबर पार्टीका तर्फबाट काउन्सिलरमा विजयी बनेका हुन् ।
ब्रिगेड अफ गोर्खाजका लोकप्रिय कवाज प्रशिक्षक (ड्रिल इन्स्ट्रक्टर) गुरुङ तमु धीं यूके, ह्याम्पशायर शाखाका पूर्वअध्यक्ष तथा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेका उपाध्यक्षसहित विभिन्न संघ-संस्थामा समेत सक्रिय छन् ।
पिता नैनसिङ गुरुङ (९७ वर्ष) र माता लक्षिना गुरुङ (८९ वर्ष)को कोखबाट उत्तरबहादुर मलेसियाको सुंगाई पटानीमा जन्मिएका हुन् । उनको बाल्यकाल मलेसिया, सिंगापुर र कास्कीको मादी गाउँपालिका-१०, भाचोकमा बित्यो । प्रारम्भिक शिक्षा भाचोकस्थित सेवा मिलन निम्न माध्यमिक विद्यालयबाट सुरु गरी मकैखोलाको जनकल्याण माध्यमिक विद्यालयबाट प्रवेशिका (एसएलसी) तहको अध्ययन पूरा गरेका थिए ।
अध्ययनकै क्रममा दोस्रो विश्वयुद्धका योद्धा बाजे नरपति गुरुङ र बोर्नियो युद्धका योद्धा पिता नैनसिङको पदचाप पछ्याउँदै उनी सन् १९७९ मा ब्रिटिस आर्मीमा भर्ती भएका थिए । हङकङको सेकोङ्स्थित मलाया लाइन्समा आधारभूत सैन्य तालिम सफलतापूवर्क सम्पन्न गरेपछि उनी २/२ गोर्खा राइफल्समा आबद्ध भए।
सैन्य सेवाका क्रममा उनले जुनियर लिडर क्याडर (JLC), सेक्सन कमान्डर ब्याटल कोर्स (SCBC), वेपन ट्रेनिङ (WT), ड्रिल कोर्स, प्लाटुन कमान्डर ब्याटल कोर्स (PCBC) र न्युक्लियर बायोलोजिकल एन्ड केमिकल (NBC) जस्ता महत्त्वपूर्ण कोर्सहरू पूरा गरे । ब्रिगेड अफ गोर्खाजको इतिहासमा बेलायतमा ‘लाइट इन्फेन्ट्री ड्रिल कोर्स’ गर्ने पहिलो गोर्खा सैनिक उत्तरबहादुर गुरुङ नै हुन्।
इमानदारी, वफादारी र अनुशासनका पर्याय गुरुङले ब्रिगेड अफ गोर्खाजको कोर्सेस डिभिजनअन्तर्गत कवाज विङमा कार्यरत रहेर जुनियर तथा सिनियर एनसियो र अधिकृतहरूलाई कवाज प्रशिक्षण दिनुका साथै ‘असिस्टेन्ट वेल्फेयर अफिसर’का रूपमा समेत सेवा गरेका थिए। ब्रिटिस आर्मीबाट अवकाश पाएपछि उनले युगान्डास्थित अमेरिकी दूतावासमा इन्टेलिजेन्स सेक्युरिटीको अनुभवसमेत लिए ।
हाल उनी बेलायतको अल्डरसटमा श्रीमती बत्तीमाया गुरुङ, छोरा भुवन गुरुङ र बुहारी खुस्बु गुरुङका साथ बस्छन् । ६७ वर्षको उमेरमा पनि उर्जावान् गुरुङ समाजसेवा, कला र संस्कृतिमा उत्तिकै रुचि राख्छन् ।
उनी गीत रचना, गायन र नृत्यमा पनि दख्खल राख्छन् । उनले आफ्नै गाउँका बारेमा गीत सिर्जना गर्नुका साथै ‘पुर्खाको थलो’ नामक चलचित्रमा अभिनयसमेत गरेका छन्।
प्रस्तुति : चिम्खोले काइँला






