काठमाडौँ । वाइडबडी विमान खरिदमा अनियमितताको आरोप लागेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारीको युवा दस्ताले कालोमोसो दलेको बताइए पनि पार्टीले आधिकारिक रूपमा स्वीकार गरिसकेको छैन ।

काठमाडौँ प्रहरी परिसरले भने कालोमोसो दलेको भन्ने जानकारीको आधारमा आफ्नो टोली नेपाल वायुसेवा निगमको कार्यालय पुगे पनि कंसाकारसँग भेट नभएकोले यथार्थ जानकारी नभएको जनाएको छ।
प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत बनाउने समितिको निर्णय
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी खरीद प्रकरणमा भएको अनियमितताको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनपछि मात्र अघि बढाउने निर्णय गरेको छ ।
समितिको शुक्रबारको बैठकमा सदस्यले उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिवेदनको केही व्यहोरा र भाषिक सुधारको आवश्यकता औँल्याए । आगामी सोमबार बस्ने बैठकबाट निर्णय हुने गरी समितिले उक्त कार्यका लागि सभापति भरतकुमार शाह र सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि बैठकमा उपसमितिका सदस्यले कुनै व्यक्ति विशेषप्रति पूर्वाग्रह र रिसिबी साँध्ने ढङ्गबाट नभई स्वतन्त्र हिसाबले छानबिन गरी एकमतका साथ प्रतिवेदन तयार गरेको जानकारी दिएको थियो ।
मुलुकमा व्याप्त भ्रष्टाचारलाई न्यूनीकरण गर्न तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई मूर्तरुप प्रदान गर्ने काममा कसैले पनि अन्यथा रुपले हेर्न र प्रश्न उठाउनु उपयुक्त नहुने उनीहरुले धारणा राखे । विमान खरीदमा अनियमितता गर्ने दोषीलाई उम्कन नदिन तथा निर्दाेषलाई दण्डित गर्न हुन्न भन्ने पक्षमा उपसमितिले सजग र चनाखो ढङ्गले अध्ययन गरेको पनि सो अवसरमा जानकारी गराइयो ।
समितिका सदस्यले प्रतिवेदनको मूलभावलाई खदिलो बनाएर अघि बढ्नुपर्ने भएको हुँदा प्रतिवेदनमा उल्लेख भएका कतिपय विषय वस्तु परिमार्जन र सुधार गरेर अघि बढ्दा उपयुक्त हुने सुझाव प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले भन्नुभयो– प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत तुल्याउन आवश्यक छ ।






