काठमाडौँ । पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता र राष्ट्रिय एकताका प्रतिकका रुपमा लिनेहरु पनि छन् । तर, उनैलाई देशका जनतालाई नै प्रताडित गर्दै नरसंहार गर्ने अपराधीका रुपमा समेत लिनेहरु पनि छन् । उनले बाइसे चौबिसे राज्यहरुलाई एक गराए । तर त्यसरी एक गराउने क्रममा धेरै आदिवासी जनजातिहरुमाथि दमन र अत्याचार भने गरे । जसका कारण पृथ्वीनारायण शाहलाई खलनायकका रुपमा समेत चित्रण गरिएको छ ।
नायक थिए पृथ्वी ?
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७औँ पृथ्वी जयन्ती मनाइएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम गरेको छ ।
बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रूपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएको छ । सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताएको छ ।
प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रूपमा पनि चित्रण गरेको पाइन्छ ।
शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाए ।
शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो ।
प्राज्ञ जगमान गुरुङले शाह नेपालको अस्तित्वलाई जोगाउने युगपुरुष भएको बताउँदै टुक्राटुक्रामा विभाजित नेपाललाई शाहले गरेको एकीकणका कारण अहिले नेपालीले सङ्घीय गणतान्त्रिक नेपालको सत्ता उपभोग गर्न पाएको विचार व्यक्त गरे । उनले भने, “जातीय धरातलभन्दा माथि उठेर साझा पहिचानमा अगाडि बढ्यो भने मात्र राष्ट्रिय एकता कायम हुन्छ ।”
आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरूले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । शाहको एकीकरणका क्रममा भारतमा जस्तै नेपालमा पनि बेलायती साम्राज्यको प्रभाव पार्न खोजिए पनि नेपालीले मुसलमान र अङ्ग्रेज शासकबाट स्वतन्त्रता जोगाए ।
वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले विभिन्न भूगोलमा छरिएका खण्ड खण्ड राज्यलाई एकीकरण तथा त्यहाँका जनतालाई एकीकृत गरेर दुई ठूला देशबीच नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्ने महान् नेताका रूपमा शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिए । नेपालका विभिन्न जाति, धर्म र क्षेत्रको द्वन्द्धलाई मिलाउने महान् व्यक्ति शाहले साना राज्य–रजौटामा विभाजित देशलाई एकीकरण नगरेको भए हामी नेपाली नहुने उनको भनाइ थियो ।
जब हामीमा एउटै राष्ट्रको मान्छे हौँ भन्ने भावना आउँछ तब मात्र राष्ट्रिय एकता हुन्छ । सम्पूर्ण जातजाति, वर्ग, समुदायको मानिस एक जुट भएर अघि बढ्न सके मात्र राष्ट्रिय एकता हुन्छ । तल्लो वर्गलाई माथि उठाउने र माथिल्लो वर्गले पनि तल्लो वर्गलाई शोषण गरेन भने मात्र देश विकास हुन्छ । यो सबै जातको साझा फूलबारी हो भनेर परिचय दिने काम पृथ्वीनारायणबाट भएको थियो ।
इतिहासकार डा सुरेन्द्र केसीले नेपाल राष्ट्रका जनक शाहले विभिन्न राज्यमा विभाजित राज्यलाई विदेशी हस्तक्षेप हुनबाट जोगाउने कार्य गरेकाले नेपालीले सदैव उच्च सम्मान गर्नुपर्ने बताए । “भौगोलिक एकताले मात्र राष्ट्रिय एकता हुँदैन, राष्ट्रिय एकता हुनका लागि भावनात्मक एकताको खाँचो छ । भूगोलभित्र रहेको सम्पूर्ण जातजाति, धर्म, भाषाभाषी, साहित्य, लिपि, जीवन पद्धति आदिको समष्टिगत रुप नै राष्ट्र हो । सबै समुदायको समानुपातिक समावेशीसहितको समृद्ध र शान्तिपूर्ण नेपाल बनाउन सकिए मात्र राष्ट्रिय एकता हुनेछ” उनले भने ।
पृथ्वीलाई सम्मान कि थुक ?
नेपालका आदिवासी जनजातिहरुले भने पृथ्वीनारायण शाहलाई खलनायकका रुपमा लिने गर्दछन् । खलनायकलाई एकताको प्रतिकका रुपमा लिन नसकिने आदिवासी जनजातिहरुले बताउँदै आएका छन् । पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारका क्रममा हजारौं, सयौं आदिवासी जनजातिहरुको बली चढाएका छन् । ज्यादतीपूर्ण तवरले दानवीय रुपमा गोर्खा राज्य विस्तार गरेको आरोप पनि आदिवासी जनजातिहरुले लगाउँदै आएको छ ।
कीर्तिपुरमा पृथ्वीनारायणले विजय गर्दै गर्दा नेवारहरुको धार्नीका धार्नी कान र नाक काटेको तथ्य पनि भेटिन्छन् । त्यसैले त कीर्तिपुरबासीले नाक कान काटेर फालेको स्थानमा पुगेर पृथ्वी जयन्तीका दिन थुक्ने गर्दछन् । धेरैलाई मारेको, अंगभंग बनाएको, सर्वश्व लुटेको जस्ता इतिहास लेखिएका छैनन् । तर, उनले बाइसे चौबिसे राज्यहरु विजय प्राप्त गर्दैगर्दा स्थानीय समुदायमाथि अन्याय पनि उत्तिकै गरेका छन् ।
त्यसैगरी, पूर्व जित्दै जाँदा हजारौं हजार उनका फौजसँग लड्न आउने किरातीहरुलाई जिउँदै हातखुट्टा बाँधेर अरुण नदीमा फालेको तथ्य पनि उत्तिकै जोडदार आउने गर्दछ । इतिहास जित्नेको मात्र लेखियो । हार्नेको लेख्नेहरु कोही भएनन् । त्यसैले त जित्नेको इतिहास लेख्दै गर्दा हार्नेहरुमाथि भएको अन्यायको कुनै अत्तोपत्तो भएन । त्यसैले त पृथ्वीनारायणप्रति जति सम्मान गर्नेहरुको भिड छ, त्यति नै आफ्ना पूर्खाहरुमाथि अन्याय गरेको भेउ पाउनेहरु उनीप्रति आक्रोसित हुने गर्दछ ।
पृथ्वीनारायण शाहले विभिन्न समुदायहरुमाथि उनको भाषा, धर्म र संस्कृतिमाथि धावा बोलेर अर्को अन्याय पनि गरे । ती बाइसे चौबिसे राज्यमाथि विजय प्राप्त मात्र गरेनन् । उनले एक भाषा, एक धर्म र एक संस्कृति अनिवार्य गरे । जसका कारण समुदायगत भाषा, धर्म र संस्कृति लोप हुने स्थितिमा पुगे । त्यसको आक्रोसमा पनि पृथ्वीनारायणप्रति आदिवासी जनजातिहरुले सम्मान व्यक्त गर्दैनन् ।
राजतन्त्र फर्कने सपना नदेखे हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेको छ ।
दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा यहाँ आयोजित कार्यक्रममा उनले भने, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।”
प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै “यो पाँच वर्षे स्थायी सरकार हो, सङ्ख्याको बहुमत मात्र हैन, स्पष्ट ‘भिजन’सहित अगाडि बढेका छौँ, आँकडामा खेलेर परिवर्तन आउँदैन बरु उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो, मैले बजेट कार्यान्वयन मङ्सिरसम्मको पाँच महीने तथ्याङ्क प्रस्तुत गरेको हँु”, भने ।
राष्ट्रिय एकता आवश्यकताअनुरुप
प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायकका रूपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र बाबजुद बनाइनुपर्नेमा जोड दिए । पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उनको भनाइ थियो ।
स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियहित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उपदेश र विचारलाई स्वाधीन राष्ट्र निर्माणका लागि का दिनमा पनि उत्तीकै सान्दर्भिक भएको धारणा व्यक्त गरे । “पृथ्वीनारायणका विचार राष्ट्रलाई एकता र समृद्ध बनाउने खालका छन् ‘दुई ढुङ्गाबीचको तरुल’ यहाँको कूटनीति पनि सान्दर्भिक छ, प्राज्ञिक वर्षले यसलाई अझ सान्दर्भिक बनाएर लैजानुपर्छ”, उनले भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई को पुस्ताले भुल्न नहुने विचार व्यक्त गरे ।
प्रतिष्ठानकै उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिए । यसअघि प्रधानमन्त्री ओलीले प्रज्ञा–भवन परिसरमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमा अनावरण गरेको थियो ।






