काठमाडौं । नेपाल लोकतान्त्रिक पार्टीले आइतबार प्रथम स्थापना दिवस मनाएको छ ।
केन्द्रीय कार्यालय चुनदेवीमा चियापान, रक्तदानलगायत कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा अध्यक्ष भानुराम थारु, वरिष्ठ नेता शिवलाल थापा र सहअध्यक्षद्वय गीता क्षेत्री र सुरेशप्रसाद गुप्ताले संयुक्त रुपमा केक काटेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र विभिन्न दलका नेता, प्रतिनिधि सहभागी थिए ।
तत्कालीन अध्यक्ष विजयकुमार गच्छेदार कांग्रेस प्रवेश गरेपछि अध्यक्ष थारु र वरिष्ठ नेता थापालगायतको पहलमा लोकतान्त्रिक पार्टी पुनर्गठन गरिएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भइ केही साताअघि मात्रै नमस्कार चुनाव चिह्न प्राप्त गरेको महासचिव देवबहादुर दुराले जानकारी दिए । उनका अनुसार अब मेची-महाकाली पार्टी विस्तार अभियान चलाइने भएको छ ।
लोकतान्त्रिक पार्टीको विभिन्न विभाग, भ्रातृ संगठन र दुई दर्जन जिल्लामा समिति गठन भइसकेको महासचिव दुराले बताए ।






