जयराम तामाङ
धादिङ गजुरी, हाल : स्वीन्डन यूके
जुनसुकै समयमा प्राय:जसो मानिसहरु बोल्नुभन्दा पहिले अभिवादन गरेर मात्र बोल्न सुरु गर्छन् । नमस्कार, नमस्ते, सलाम, वेलकम, गुडमर्निङ, गुडईभिनिङ आ–आफ्नो भाषामा जे–जसरी भने पनि अभिवादन गरिने चलन हुन्छ नै । तर, पश्चिमा र पुर्वेली मुलुकहरुमा गरिने अभिवादनमा धेरै फरक छ । पश्चिम मुलुकहरुमा सानो, ठूलो भन्ने अभिवादनमा खासै त्यत्ति फरक देखिँदैन । मैले देखेको र अनुभव गरेको कुराहरु गर्दैछु ।
मैले धेरै ठाउँमा काम गरेँ, जहाँ पनि अफिसमा होस् या घर भित्र होस् बाहिराबाट आउनेले भित्र हुनेलाई अभिवादन गरिन्छ । चाहे त्यो बाहिराबाट आउने साहू होस् या म्यानेजर होस्, ठूलो अफिसरहरु नै किन नहोस् । त्यसैले नै भित्र हुनेलाई अभिवादन गरेर पस्छन् । हामीभित्र काम गरिरहेका हुन्थ्यौं, जहिले पनि मेरो साहू र म्यानेजरले पहिला हामीलाई अभिवादन गरिन्छ । मलाई पनि त्यही बानी भएर नै होला आफूभन्दा सानो उमेरका नै किन नहोस् आफंैले नै अभिवादन गर्ने बानी बसेको छ ।
चिनेको होस् वा नचिनेको होस् नेपालीजस्तो देखियो भने पहिला नै हात जोडेर नमस्कार भन्न मन लागिहाल्छ । तर, मैले अभिवादनको बारेमा यो कुरा लेखिरहँदा कसैकसैले मलाई बिहानबिहानै सलाम ठोक्नु पर्छ भनेर आफ्नो निवासको आँगनमा प्रहरीहरुलाई लाइन लगाएर सलाम ठोक्न लगाएको विभिन्न सामाजिक सञ्जालहरुमा भाइरल भएको सर्वविदित भएकै कुरा हो ।
त्यस्तै सबैले अध्यक्षज्यु भनेर नमस्कार गरोस् र प्रत्येक कार्यक्रमहरुमा अग्रपंक्तिमा बसेर फूलको माला र खादाले स्वागत गरोस् भनेर ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै विश्वमा कहीं नभएको पार्टीहरु नेपालमा खोलेका छन् । त्यही हावाले नेपालीहरुलाई कहीं गए पनि नछोडेपछि विदेशमा समेत पार्टीको नाउँमा नेपालमा जति पार्टी छन् त्यत्ति नै संख्यामा भातृ संगठनहरु खोलेका छन् । त्यो त भए पार्टीका भातृ संगठनहरु । तर, त्यस्तै नेपालमा जति जातजातिहरु छन् त्यत्ति नै संख्यामा जातहरुको नाममा नेपालभित्र र विदेशतिर पनि संघहरु खोलेका छन् ।
अझै विदेशतिर त झन् देशको नाउँमा एउटा संस्था, जिल्लको नाउँमा एउटा संस्था, गाउँको नाममा एउटा संस्था, डाँडाको नाउँमा एउटा संस्था, खोलाको नाउँमा अर्को संस्था, थरको नाउँमा पनि संस्था, पेसाको नाउँमा संस्था, भूतपूर्व पेसागतहरुको नाउँमा, संस्था, परिवारको नाउँमा पनि संस्था गरी मान्छे नै पिच्छेका संघसंस्थाहरु खोलेका छन् ।
आफ्नो देशमा भएका विभिन्न नाउँमा खोलिएका संघसंस्थाहरुले पनि नपुगेर आफू जुन देशमा बसेको छ त्यही देशको विभिन्न जिल्ला, गाउँ, खोला नाला, पातपतिङ्गरको नाममा पनि त्यत्ति नै संघसंस्थाहरु खोलेका छन् । संघ संस्था खोल्नु नराम्रो होइन तर संघसंस्था खोलेर कुनै माखो मार्दैन भने त्यसको अर्थ हुँदैन । हरेक संस्थाले गर्ने काम भनेको चाडबाडको बेलामा रमाइलो गर्ने, भेटघाट गर्ने, खानेकुरा खाने हो तर त्यो कार्यक्रम गर्नु अगाडि अफ्रिकनमुलका ज्याङ्गो अनि पाखुरावालाहरु सुरक्षा गार्डको रुपमा खटाएपछि मात्र कार्यक्रम सुरु हुन्छ । कार्यक्रम हुनुभन्दा पहिले विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई मञ्चमा आशनग्रहन गर्नको लागि र सम्मान गरेर खादा लगाउनको लागि मञ्चमा बोलाउँदा बोलाउँदा अगाडिको दर्शक अथवा अरु मान्छे बस्ने ठाउँमा मान्छे नै हुँदैन किन भने भएभरको उपस्थित मान्छेहरु कुनै न कुनै संघसंस्थामा आबद्ध भएकै हुन्छन् र सबै मञ्चमा अटाइनअटाई बसेका हुन्छन् । अझ कोही कोही त तीन/चारवटा संस्थामा आबद्ध भएको हुन्छन् । यसरी बोलाउँदा बोलाउँदै कति धेरै समय गइसकेको हुन्छ तैपनि यसरी सम्मान गरेर बोलाएपछि एक दुई शब्द बोल्न दिनै पर्यो । यसरी बोल्दाबोल्दै एक जनालाई के चित्त बुझ्दैन अनि त्यही पाखुरा निमोठ्न थालीहाल्छ र त्यही हानाहान हुन्छ । मैले यसो भनिरहँदा सबै संघसंस्था यस्तो नहोला तर समग्रमा यस्तै खाले नै हुन्छन् । त्यो किन भयो भन्दा त्यही नमस्कार र सलाम खानाको लागि नै हो ।
त्यो सलाम, नमस्कार खानाको लागी मान्छेले कतिसम्म खर्च गर्छन् भन्ने कुरा विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको वर्तमान राष्ट्रपतिदेखि हाम्रै नेपालीहरुको गैरआवासीय नेपाली संघसंस्थाका हालका अघ्यक्ष र पूर्वअध्यक्षहरुलाई हेर्यो भने थाहा हुन्छ । यदी उनीहरुले स्वच्छ समाजसेवा अथवा देशको सेवा नै गर्ने हो भने उनीहरुसँग कत्ति पैसा छ हामीले अनुमान नै गर्न सकिन्न । गतसाल काठमान्डुमा भएको गैरआवासीय नेपाली संघको महाअधिवेशनको बेलामा एक जना सदस्य बनाउन कतिसम्म पैसाको चलखेल भएको थियो भन्ने कुराहरु विभिन्न सामाजिक सञ्जालहरुमा भाइरल भएकै थियो । यो सबै कुराहरु त्यही मैले भनिरहेको सलाम, नमस्कार खानाको लागि नै हो । नत्र हो भने उनीहरुसँग के को कमी छ र ? जसरी धुर्मुस र सुन्तलीले कुनै संघसंस्थाको पदमा नबसेर पनि आप्mनै नाउँको फाउन्डेशनमार्फत संसारभरको मानिसहरुसँग पैसा जम्मा गर्न सफल भए र कामहरु पनि गरेर देखाइदियो । तर, त्यो भन्दा पनि धेरै पैसा उनीहरुसँग छ, तैपनि उनीहरु कति धेरै खर्च गरेर भएपनि त्यो ठाउँमा पुग्न सफल हुन्छ । अर्थात् सलाम खाने ठाउँमा पुग्नु हुन्छ । गैरआवासीय नेपाली संघ अथवा अरु कुनै संघस्ांस्थाहरुमध्ये कुनै कुनै संस्थाले राम्रो काम गरेको उदाहरणहरु पनि छन् तर अधिकांश संस्थाहरु सेवाभन्दा पनि मञ्चमा बसेर नमस्कार खाना खादलगाउनाको लागि मात्र हो भन्दा फरक नपर्ला ।
मैले कति धेरै ठूला ठूला ओहदाको विदेशी मान्छेहरुलाई नमस्कार गर्दा उनीहरु धेरै खुसी भएर हात मिलाउन आउँछन् । तर त्यहीं ठाउँमा नेपाली आयो भने दुई हात जोडेर नमस्कार गर्दा पनि उसले नमस्कार फर्काउनु त कता हो कता पहिला नै अँ के छ ? भनेर रुखो पाराले सोध्नपट्टि लाग्छन् । एक, दुईजना व्यक्ति त्यसो नगर्ला तर अधिकांशले त्यस्तै नै गर्छन् । तर, मेरो एक जना साथी प्रताप खरेल र उहाँकी श्रीमती लक्ष्मी खरेलले आफ्नो छोरा र छोरीलाई राम्रो संस्कार सिकाउनु पर्छ भनेर छोरा छोरीलाई नमस्कार, हजुर, आउनोस्, खानोस् भनि मानमर्यादा गरेर बोलाउनु भएको देखेर अचम्म लाग्थ्यो ।
त्यसैगरी, सबैले सानैदेखि मानसम्मान गर्न बानी बसाल्यो भने ठूलो भएर पनि त्यही बानी हुन्थ्यो जस्तो मलाई लाग्छ । एक दिन म बिहानीपख शारीरिक अभ्यासको लागि हिँड्दै जाँदा एक जना महिला म भन्दा निकै कम उमेरको जस्तो देखिने बस स्टपमा उभिरहेको देखेर नेपाली होला भनेर दुई हात जोडेर नमस्कार गरेँ । तर, तिनले नबुझेर केही अपठेरो मानेको जस्तो गरिन् । मैले मलाई माफ गर्नु होला भनेर म आफ्नो गन्तव्यतिर लागे । मेरो भन्नुको मतलब हाम्रो चलेको चलनअनुसार भित्र हृदयदेखि खुसीले हात जोडेर अभिवादन गर्दाको क्षण अरु भाषा, अरु देशको तुलानामा सारै मान गरेको जस्तो लागेर त्यो नमस्कार खाना हानथाप गरे जस्तो लाग्यो । यो मेरो विचार हो ।






