सरकारद्वारा हेलिकप्टर दुर्घटनामा मन्त्रीसहित ७ को मृत्युमा दुःख व्यक्त, बिहीबार राष्ट्रिय शोक र सार्वजनिक बिदाको घोषणा

SHARE:

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त दुःखद् घटना भएकामा फागुन १६ गते राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उहाँहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।

अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उहाँहरुको आत्माको चिरशान्तिको कामना गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ ।

सार्वजनिक बिदा
सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले उक्त हेलिकप्टरका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहनुभएको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस क्षेत्रमा विमानस्थल निर्माणका सम्बन्धमा जनप्रतिनिधि, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकार पक्षसँग अन्तक्र्रियापछि सम्भाव्य स्थानको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्कने क्रममा पाथीभरा मन्दिरको पश्चिमतर्फ फुङ्लिङ नगरपालिका वडा नं १० मा पर्ने फुरुम्बु दारेढुङ्गा, सिस्नेभीर क्षेत्रमा अपराह्न १२:४० बजे हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!