चिम्खोले काँइला
ब्रिटिस आर्मीको भूतपूर्व सैनिकले लामो समयसम्म गरेको अनवरत संघर्षपछि बेलायत सरकारले उनीहरूका लागि युकेमा आवासीय भिसा उपलब्ध गराउन थाल्यो । त्यही सुविधाको उपयोग गर्दै धेरै गोर्खा परिवार युकेमा बसाइँ सरेका छन् । युके पुगेका नयाँ पुस्ताले त्यहाँ राम्रा जागिर पनि पाएका छन् । भूपू गोर्खासँगै उनीहरूका अठार वर्षमुनिका छोराछोरीले पनि युके गएर त्यहीं पढेर राम्रो ठाउँमा काम पाएको बग्रेल्ती उदाहरण छन् ।
तर, पुरानो पुस्ताका भूपू गोर्खा र तिनका परिवारले बुढ्यौली उमेर र अंग्रेजी भाषा नजान्दा भनेजस्तो जागिर पाएका छैनन् । अठार वर्ष नाघेका छोराछोरीलाई आफूसँगै लैजान नपाउँदा अनेकखाले समस्या सामना गर्नुपरेको छ । उनीहरूका परिवार कोही युके, कोही हङकङ, कोही नेपाललगायतका मुलुकमा छिन्नभिन्न भएर बस्नुपरेको छ । छोराछोरी युके ल्याउनका लागि अड्डा अदालत धाउनेक्रममा समय र पैसाको नाश भएको छ । अभिभावक र परिवार साथै नहुँदा कतिपय अवस्थामा छोराछोरी कुलतमा लागेर दु:ख पाएका पनि छन् । एकातिर छोरछोरी बिग्रनु, अर्कोतिर बाबुआमाले कमाएको पैसा पनि उनीहरूलाई युके झिकाउने तथा पालनपोषणमै खर्च हुने अवस्थाले त्यस्ता युवा जमात ‘घरको न घाटको’ हुने अवस्था पनि देखापरेको छ । एकातिर नेपालको घरमा मान्छे नबसेपछि खेतबारी बाँझो पल्टेको छ, अर्कोतिर कमाएको थोरैतिनो रकम पनि छोराछोरीका लागि नेपाल पेल्दापेल्दै युके पुगेको भूपू गोर्खा आफैं पिना बनेका छन् । नेपाल बस्नेले युकेमा ऐस–आरामको जिन्दगी बिताउँदै गरेको देखे पनि आम भूतपूर्व ब्रिटिस आर्मी र तिनको परिवारको न मनमा शान्ति छ, न हातमा पैसा ।
वीरबहादुर, ब्रिटिस आर्मीबाट अवकाशप्राप्त एक भूपू । उनी धेरै पुराना पुस्ताका पनि होइनन्, नयाँ पुस्ताका पनि होइनन् । यसो भन्दा मिल्छ होला, उनी बीचतिरका या मध्यम पुस्ताका हुन् । वीरबहादुरको जोइपोइ युके आएको झन्डै दस वर्ष भयो । वीरबहादुरकी श्रीमतीको युकेमा जागिर राम्रो छ । बचत पनि राम्रै छ । तर, उनीहरूको एउटै सन्तान रवीन नेपाल छाडिएको छ । त्यसैले जति कमाए पनि, जस्तो मोजमस्तीको जीवन जिए पनि मनमा चैन छैन । हुन त उनीहरूले आफूहरूसँगै रवीनका लागि पनि दस वर्षअघि युकेको प्रवेशाज्ञा आवेदन गरेका थिए । तर, १९ वर्ष पुगिसकेका कारण अस्वीकृत भयो । त्यसबेला रवीन बीएस्सी पहिलो वर्षमा पढ्दै थिए । उनी पढाइमा अब्बल थिए । हरेक कक्षमा डिस्टिङ्सन ल्याएर पास गर्थे । त्यसैले उनीहरूले ग्य्राजुएसनपछि युकेको हाइकोर्टमा पुनरावेदन गरेर युके लैजाने सोच बनाएर रवीनलाई नेपालमै छाडेका थिए ।
वीरबहादुरले रवीनलाई युके ल्याउन हाइकोर्टमा अपिल गरे । त्यसका लागि खर्चको जोहो गर्न जोइपोइ नै रात–दिन नभनी काममा जोतिए । तर, अभिभावकबाट टाढा भएपछि रवीनमा भने बिस्तारै परिवर्तन आउन थाल्यो । यसअघि सधैं डिस्टिङ्सन ल्याउने रवीनले बीएस्सीमा राम्रो गर्न सकेन । बाबुआमाले फेरि बीएस्सीमै पढ्न सल्लाह दिए । तर, बरालिने बानी परिसकेको रवीनले फेरि पढ्न मानेन । बरु ब्रिटिस आर्मीमा भर्ती हुने इच्छा बाबुआमासँग गर्यो । बिग्रन थालेको छोराले बाबुबाजेको पाइला पछ्याउँदै भर्ती हुने भने पनि वीरबहादुर र उनकी श्रीमतीलाई केही राहत मिल्यो । उनीहरूले छोरालाई सहर्ष स्वीकृति दिए । अब रवीन लाहुरे हुन ट्रेनिङ सेन्टर धाउन थाल्यो । ट्रेनिङ लिन त भन्नुमात्र हो, उनी त्यता हल्लिन थाले । एक्लो छोरा सानैदेखि पुल्पुलिएकाले उनी कमजोर छन्, लाहुरे हुनका लागि गर्नुपर्ने कडा अभ्यासमा मन लागेको छैन ।
अन्तत: रवीन भर्ती प्रक्रियाको पहिलो चरणको छनोटबाटै बाहिरियो । त्यहीबेला युकेमा बाबुआमाले गरेको रवीनलाई युके लैजान गरेको अपिल सफल हुन सकेन । यसरी एकैपटक दुवैतिर असफल भएकाले यो परिवार तनावमा पर्यो । रवीनका बाबुआमालाई झनै चिन्ता थपियो । एकातिर अभिभावकविनाको छोरो नेपालमा बिगँ्रदै गएको छ, अर्कोतिर आफूहरूले युके ल्याउन गरेको प्रयास पनि सफल हुन सकेन । दुवैतिर खर्च त्यत्तिकै भइरहेको छ ।
सोचेको काममा सफलता हात नलागेपछि रवीन झनै बिग्रँदै जान थालेको छ । एकहोरिएको छ । खर्चालु बनेको छ । बाबुआमाको मन त हो, छोराको हरेक माग पूरा गरिदिएका छन् । उनीहरूलाई त्यही चिन्ता छ, ‘एक्लो छोरोले खाना मन लागेको चीज खान र लगाउन मन लागेको चीज लगाउन पाएन कि ।’ त्यसैले रवीनले भन्नेबित्तिकै पठाइदिएका छन् । टन्न पैसा भएकैले हिजोआज रवीनको अगाडि पछाडि टन्नै साथीहरू छन् । साथीहरूलाई साथमा रवीन भएपछि कुनै कुराको फिक्कर नहुने भएको छ । खर्च सबै रवीनले बेहोर्ने गरेको छ ।
रवीन जाँड, रक्सी, ड्रग्स खाने, रन्डीबाजीमा लाग्न थालेको छ । हरेक रात नाइट क्लब जान्छ, मात्छ, हरेकरात केटी साथी फेरीफेरी घर ल्याउँछ । रातभरि बरालिएपछि दिनभरि सुत्छ । एक कान, दुई कान मैदान भनेजस्तै वीरबहादुरको छोरा रवीनको चर्तिकला युकेसम्म पुग्यो । वीरबहादुरको जोइपोइलाई अब इष्टमित्र, साथीभाइ, नम्बरी, गाउँलेकहाँ मुख देखाउन नहुने भइसकेको छ । सबैले रवीनको कुरा झिकिहाल्छन्, सहानुभूति दर्शाउन थालिहाल्छन् ।
एक साँझ वीरबहादुर र उनकी श्रीमती कामबाट फर्कंदा हुलाकीले एउटा चिट्ठी घरमा छोडेको भेट्टाउँछन् । चिट्ठी बेलायतको गृह मन्त्रालयले वीरबहादुरलाई सम्बोधन गरेर पठाएको थियो । चिट्ठी पढेर वीरबहादुरका जोइपोइको अनुहारमा असिम खुसी झल्कियो ।
चिट्ठीमा भनिएको थियो,
श्रीमान् वीरबहादुरज्यू,
संयुक्त अधिराज्य बेलायतको गृह मन्त्रालयको प्रदेशवास विभागको नीति फेरबदल भएको जानकारी गराउँछु । परिवार छिन्नभिन्न भएको अवस्थामा यदि रवीनले हालसम्म पनि अध्ययन गर्दै गरेको, विवाह नगरेको, शारीरिक अपांगता भएको तथा उनी उनका बाबाआमाको कमाइमा आश्रित भएको भए उनको सम्बन्धमा माथि उल्लिखित विषयहरूमा प्रमाण यहाँले पेस गर्न सक्नुभयो भने रवीनको बेलायत प्रवेशाज्ञाका लागि पुन: विचार गरिनेछ ।
गृह मन्त्रालय
संयुक्त अधिराज्य बेलायत
पत्र पढेर खुसी भएका वीरबहादुरले भोलिपल्ट नै गृह मन्त्रालयमा रवीनले शारीरिक अपांगताबाहेक अरू सबै सर्त पूरा गर्ने प्रमाणसहितका काजजात पेस गरे । तीन महिनाको पुनरावलोकन प्रक्रियापछि गृह मन्त्रालयले रवीनलाई यथाशीघ्र युके ल्याउन भनेको पत्र प्राप्त भयो । वीरबहादुरले रवीनलाई काठमाडौंस्थित बेलायती दूतावासको भिसा सेक्सनमा सम्पर्क गर्न पठाउँदा एक महिनाभित्र बेलायत पुगिसक्नुपर्ने नत्र भिसा रद्द हुने जानकारी पाए । यही खोजिरहेको रवीन एक हाप्तामै सबै बन्दोबस्त मिलाएर युके पुगे ।
वीरबहादुरको परिवारमा फेरि एकपटक खुसीको वहार छायो । लामो समयको संघर्षपछि छोरा रवीन अन्तत: युके आइपुग्यो । परिवारका सबै सदस्य एकैठाउँमा बस्न पाए । नजिकका नातेदार, इष्टमित्र, छिमेकी, बाबाका नम्बरीहरू, युकेमा रहेका गाउँलेहरू सबै रवीनलाई भेट्न आए । विभिन्न संघ–संस्थाहरूले रवीन भान्जा युके आउन सफल भएकोमा खादा र फूलमाला लगाइदिएर स्वागत गरेका छन् । रवीनलाई सबैले भान्जा भन्छन् । युकेमा लाहुरेका छोराछोरीहरूलाई भान्जाभान्जी भन्ने
चलन छ






