सेमन्त राई
(संखुवासभा, हाल बेलायत)
जीवनको यात्रा कहिले तल झर्नु पर्ने कहिले माथि चढ्नु पर्ने दिनचर्या सँगै आज बिहानै लन्डनको भीडभाडमा म र सहकर्मी मित्र कामविशेषले अफिसबाट बाहिर निस्कियौ । लन्डनको वेलिंगटन ब्यारेकको मुख्य कार्यालयमा एक बैठकमा हामीलाई निम्तो पठाइएको थियो । बैठक अपराह्नमा भए पनि आजको दिन लन्डन घुमघाम गर्दै समयलाई अर्कै ढंगबाट सदुपयोग गर्ने हेतुले अफिसबाट चाँडै निस्कने निर्णय भयो । अफिसबाट झन्डै १०० मिटर हिँडेपछि बस स्टपमा पुग्यौं । बस र रेल दुबैको यात्रा गर्नुभन्दा बसको मात्र यात्रा गर्ने सल्लाह बस स्टपमा नै भयो । यो निर्णयलाई कार्यान्वयन गर्न कुन बस लिने भनी गुगलमा सर्च गर्न सुरु गरियो सोही बेला २ नम्बरको बस हेर्दाहेर्दै हामीलाई छोडेर गयो । हामीले ब्रिक्स्टनबाट भक्सल जाने बस कति नम्बर हो भनेर टुंगो लगाउँदा २ नम्बरको बसले छोडेको हो ।
‘ए…२ नम्बरको बस नै जाँदोरहेछ नि !’ मित्रको विस्मय मिश्रित भनाइसँगै यसो समयतालिका हेर्दा ३ मिनेटमा अर्को बस आउने कुरा थाहा भयो ।
‘अर्को आउँदै रहेछ नि’ भन्दै केहीबेर पर्खेर बस्यौं ।
त्यो बेलासम्म बस स्टपमा निक्कै यात्रुहरुको जमघट भइसकेको थियो । मैले बसको समयतालिका सूचना पार्टीमा हेर्दै गर्दा एक वृद्ध महिला आएर बेन्चमा बस्न खोजिन र हामीले यसो ठाउँ छोड्दै ‘सरी’ भन्यौं । तर, ती महिलाले म ठीकै छु भन्दै आफूलाई असक्त नभएको र अरु माथि भर पर्न नचाहेको प्रतिक्रिया अप्रत्यक्ष रुपमा जनाइन् । मैले सोचें, यस्तै मान्छे होलान् बिपतमा समयमै सहयोग पाउन नसक्ने ।
जब मान्छे जन्मन्छ र आफ्नो आमाको साथमा विस्तारै हुर्कंदै जान्छ । अनि आमाकै सहारामा पहिलो शब्द बोल्न सिक्ने, पहिलो कदम हिँड्न सिक्ने, नयाँ नयाँ कुराहरुको उत्सुकतामा चाहना राख्ने काम आमाकै काखमा सिक्दछ । आमाकै वात्सल्यताका साथ समयमा खाने, पिउने, सुत्ने, उठ्नेजस्ता कुराहरुको पहिलो अनुभूत हरेक बच्चाहरुले गरेका हुन्छन् । जब बच्चाहरु आमाको न्यानो काखमा हुर्कंदै आफैं स्वबलम्बी, आत्मनिर्भर हुन्छन् तब विचरा आमा विस्तारै एक्लो हुँदै जान्छिन् । सबै बालबच्चाहरु आफ्नो काखबाट निस्केर टाढा जान्छन् तब उनी शारीरिक रुपमा बिस्तारै असक्त अवस्थामा प्रवेश गर्दै जान्छिन् । जीर्ण हुँदै गएको आफ्नो शरीरलाई कति पर्वाह नगरी बलियो मनोवलका साथ हरेक आमाहरु यसरी गाउँघर, सहरबजारदेखि बेलायतको राजधानीमा समेत उस्तै रहेको अनुभूत भयो उनलाई हेरेर । अरुको सहायता लिने भन्दा पनि अरुलाई सहयोग गर्नमै अक्सर आफूलाई व्यवहारमा पनि मैले अनुभूत गरें । सायद ती महिलाका बच्चाहरु सबै हुर्के बढेर आ–आफ्नो बाटो लागिसकेका होलान् तर बुढेसकालमा कसैको सहाराबिना नै आफ्नो दिन ब्यतित गर्न विवश भएको उदाहरण ती महिलाबाट मैले अनुभव गरें ।
यत्तिकैमा २ नम्बरको बस आइपुग्यो, ओईष्टर कार्ड (प्रीपेड रेल कार्ड) निकालेर बसमा चढ्ने पंक्तिमा आफूलाई उभ्यायौं, बल्ल थाहा भयो त्यो बेलासम्म त्यहाँ निक्कै यात्रुहरु भेला भइसकेका रहेछौं । ती महिला पनि हामी सँगसँगै बसमा चढिन् । ती महिलालाई तल्लो तलामै बसेको हेर्दै हामी भने बसको उपल्लो तलामा चढ्यौं । लन्डनको रातो बसमा यात्रा अगाडि बढिरहँदा लाग्यो जिन्दगीका हरेक पलहरुको महत्व आ–आफ्नै रुपमा विशेष हुने रहेछ । जब माथिल्लो तल्लामा पुग्यौं बस झन्डै भरी नै रहेछ त्यसैले सबभन्दा अग्रपंक्तिमा दायाँ बायाँमा एक एकवटा सीट खालीरहेछ त्यसैमा आफूलाई राख्यौं । हाम्रो यात्रा विस्तारै अगाडि बढ्न थाल्यो । ब्यस्त समय भएकाले हरेक बसस्टपमा बस रोकिने गर्दथ्यो । लाग्थ्यो रत्नपार्कबाट हिँडेको लोकल बसझैं मान्छे टिप्ने र झार्नेक्रम बसले गरिरह्यो हरेक स्टपमा । त्यत्तिकैमा एक्कासी एकजना ब्यक्ति झन्डै पाँचौं पंक्तिको सीटबाट चर्को स्वरमा आफ्नो साथीसँग वार्तालाप गरेको आवाजले एकछिन सबैलाई छक्क पार्यो । हेर्दा झन्डै २५/३० वर्षको लामो जगल्टे कपाल पालेको हब्सी जातको केही सपिंगको झोला हातमा बोकेको रहेछ ऊ आफ्नै तरिकाले फोनमा कुरा गर्न सुरु गर्यो । यसो आङ तन्काउने बहानामा पुलुक्क हेरें को रहेछ भनेर । भाँचिएको अपभ्रम्सित अंग्रेजी भाषामा कुनै रंगको बारेमा कुरा गरेको अन्दाज मैले गरें । निक्कै लामो समयसम्म उ आफ्नै संसारमा रह्यो जब कि त्यहाँ ऊ बाहेक अरु कोही छैन झैं गरी । बसका सबै यात्रुहरुमा सन्नाटा छाएको थियो । उसका कति कुराहरु बुझिँदैनथ्यो भने कति कुराहरु अन्दाज लगाउन मात्र सकिन्थ्यो । हाम्रो यात्रा भने लगातार अगाडि बढी नै रहेको थियो । हरेक स्टपमा यात्रुहरु चढ्ने र ओर्लनेक्रम थियो तर त्यो व्यक्ति भने निस्कने छेकछन्द थिएन । अन्तमा बस ब्रिक्स्टन स्टेसनमा रोकियो जहाँ त्यो ब्यक्ति पनि उत्रियो । मैले फर्कीफर्की निक्कै परसम्म हरें उसको स्वभाव संझँदै ।
समय र परिस्थितिसँग अगाडि बढ्दा कहिले फरक अनुभव हुने गर्दछ, कोही यो संसारमा आफूबाहेक अरुको वास्ता गर्दैनन् जो अक्सर अरुको पीडामा आफू रमाउने गर्दछन् । आफ्नो क्रियाकलापले अरुलाई पर्न सक्ने असरको वास्ता नगरी आफ्नै संसारमा रमाउने मान्छेहरुले अरुको समस्या बुझ्न मुश्किल पर्छ । स्वार्थले भरिएको मान्छेहरुको स्वभाव संसारकै सबभन्दा विकसित सभ्यतामा बोकेको राष्ट्र, हाम्रो देशभन्दा २ शताब्दी अगाडि रहेको राष्ट्र बेलायतको राजधानी लन्डनमा यस्ता व्यक्तिहरु भेटिनु लन्डनको बारेमा अनुभव नभएकाहरुले कल्पनासमेत गर्न सक्तैनन् । लाग्छ, यस्तै कुराहरु नै जीवनका तीता मीठा, उतार चढाब रहेछन् ।
हाम्रो बस यात्रा लन्डनको थेम्स नदी छेऊ भक्सल स्टेसनमा रोकियो । बसबाट उत्रेर थेम्स नदी छेउ विस्तारै दायाँबायाँको दृश्य अवलोकन गर्दै हिँड्यौं । जाडो मौसम भएको र हावाले लन्डनलाई झन् चिसो बनाएको कारणले न्यानो कपडाभित्र राखेर थेम्सको किनारातिर हिँड्यौं । लाग्थ्यो थेम्स नदीलाई खडेरीले निकै प्रभाव पारेको छ, नदी किनाराहरु घटेर पानीको सतह धेरै तल झरेको थियो । थेम्स नदीमा ठूलाठूला डुंगाहरु बाहिरिएका थिए खोलामा दुवाली थुनेर घटेको पानीमा बाँकी रहेको ढुंगाझैं । कतै डुंगा तैरन पर्याप्त पानी नभएझैं देख्न सकिन्थ्यो । यस्तै दृश्यहरुलाई हेर्दै अगाडि बढ्यौ लगातार आफ्नो गन्तव्यतर्फ । केही पर पुगेपछि हाम्रो आँखालाई एक आकर्षक दृश्यले तान्यो । हामी हिँडिरहेको सडकको बायाँ साईडमा भयानक महल अगाडि ठूलो शंखेकीराको आकार सजाइएको थियो । के रहेछ भनी उत्सुकता जगाई उतैतिर जाने निधो गर्दै बाटो काट्यौं । जसलाई ‘टेट ब्रिटेन’ (सन् १८९७/१९३२ नेशनल ग्यालरी अफ ब्रिटिस आर्ट र १९३२/२००० टेट ग्यालरी)का नामले चिनिने आर्ट म्युजियम सीटी अफ वेस्टमिनिस्टरको मिलब्यांकमा अवस्थित सबैभन्दा पुरानो विशाल भवन चित्रकारिताको संग्रहालयको नामले चिनिँदो रहेछ ।
त्यो कुरा जब हामीभित्र पस्यौं छर्लंग देख्न पाइयो । सर हेनरी टेट पहिलो ब्यारोनेट, एक चिनी व्यापारी फिलान्थ्रोपिस्टको नाममा स्थापना गरिएको टेट ग्यालरी ब्रिटिस कलाको प्रमुख स्रोत मानिन्छ । पुराना दुर्लभ चित्रकलाका फ्रेमहरुदेखि आधुनिक युगको कला सबैको संकलन यहाँ हेर्न पाइन्छ । विभिन्न फरक किसिमका कलाहरुको संकलन र इतिहास बोकेको उक्त भवन तीन तलामा विभाजित छ । सन् १५४० को पुरानो कला प्रदर्शन कक्षबाट सुरु भएको ग्यालरीमा विभिन्न फरक सालका आ–आफ्नै विशेष महत्व बोकेका फरक कक्षाहरुमा आधुनिक समयका कलासम्म देख्न पाइन्छ । मिलब्यांकमा अवस्थित उक्त ग्यालरीभित्र विभिन्न राष्ट्रबाट पर्यटकहरुको ओइरो लागे पनि त्यहाँ पुग्दा शान्त, रमणीय र आनन्ददायी वातावरणको अनुभूत हुन्छ । विभिन्न समयमा बनाइएका भिन्दाभिन्दै किसिमका महंगा फ्रेमहरु हेर्दै जाँदा एउटा बाँसुरी बजाइरहेको चित्रले मलाई आकर्षित गर्यो । यसो आफू पनि हल्का बाँसुरी बजाउने सोख भएकाले होला बुझ्न मन लाग्यो र त्यतैतिर लागें । १८ औं शताब्दीमा एक अज्ञात अन्धो बाँसुरी बादकको एक तैलचित्र हुन सक्ने अन्दाज गरिएको छ । जुन समयमा प्राय: अन्धा बाद्यवादकहरुको बाहुल्यता हुने गरेको कुरा थाहा भएको छ । उक्त क्यानभास सन् १७७७ मा मार्टिन पÞmेर्डिन्यान्ड क्वाडलद्वारा बनाइएको थियो । सबै कक्षहरुको अवलोकनपश्चात् संग्रहालयबाट बाहिर निस्कँदै धेरै कुराहरुको सम्झना साथ हामी हाम्रो गन्तव्यतर्फ लाग्यौं ।
झन्डै १० मिनेटको हिँडाइपछि हाम्रो गन्तव्य पुगिने थियो तर लन्डनका सड़क पेटीहरु दिउँसोको लन्चका लागि सलबलाउन थालेको रहेछ हामीलाई पत्तै भएन । मान्छेहरुको भीडभाडले बाटो छिरिसक्नु थिएन तर पनि भीडहरुबाट छलिँदै र छल्दै हामीलाई अगाडि बढाइरह्यौं । कतैकतै काठमाडौंको गल्लीहरुमा चटपटेका सानो ट्रलीहरु झैं लन्डनका गल्लीहरुमा विभिन्न किसिमका खानाको थुप्रै स्टलहरुमा मान्छेको लावालस्कर देख्दा ईंग्ल्यान्डको राजधानीमा नै छुइनजस्तो लाग्यो । अन्तत्वगत्व चिसो हावाको स्पर्श सँगै वेलिंगटन ब्यारेकको गेटमा प्रवेश गरी दिउँसोको लन्चको लागि भान्सा घर (कुक हाउस) तिर लागियो ।
दिउँसोको खानापश्चात् बैठक समाप्त गरी रोचक तथा रमाइलो छोटो यात्रासँगै घर फर्कियौं । जीवन विभिन्न रंगले भरीपूर्ण र लामो हुन्छ तर यसलाई सही तरिकाले यापन गर्न सके हरेक दिन सुनौलो हुने गर्दछ । सकारात्मक सोच र विचारले जिन्दगीमा उर्जा प्रदान गर्ने गर्दछ त्यसैको एक अनुभुत आज भयो तर थाहा छैन भोलि कुन बाटोमा खुट्टा पर्ने हो हेर्न र भोग्न बाँकी नै छ ।






