खादामा किन खसखस ?

SHARE:

काठमाडौं । बौद्ध धर्म परम्पराअनुसार खादालाई पवित्र पुष्पको रुपमा प्रयोग गरिन्छ । प्राचीनकालदेखि जन्म, विवाह, मृत्युलगायत धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा खादाको प्रयोग हुँदै आएको छ । हिमाली भेगमा फूल नहुने भएकाले खादाको प्रयोग हुँदै आएको थियो । पछि आएर खादाको प्रयोग व्यापक बनेपछि खादाबारे विभिन्न भ्रम सिर्जना हुन थालेको छ । पछिल्लो समयमा खादाका विषयमा विभिन्न व्यक्तिहरुले भ्रमपूर्ण अभिव्यक्ति दिन थालेका छन् । जसका कारण खादा प्रयोगकर्ता बौद्ध धर्मावलम्बीहरु आक्रोसित बनेका छन् ।

पछिल्लो समय पूर्वमन्त्री तथा सांसद खगराज अधिकारीले खादा प्रयोगमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् । जसका कारण उनको व्यापक आलोचना भएको छ । सांसद अधिकारीले सार्वजनिक कार्यक्रममा मन्तव्य दिँदै खादाको विरोध गरेका थिए । उनले खादा प्रयोग बहिष्कार गर्नुपर्ने र प्रतिवन्ध लगाउनुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् ।

खादामा फ्री तिब्बत लेखिएको हुने भन्दै खादा प्रयोग गरे चीनसँगको सम्वन्ध राम्रा नहुने तर्क दिएर सांसद अधिकारीले एक कार्यक्रममा विरोध गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि अहिले सांसद अधिकारीलाई कारवाही गर्नुपर्ने र सांसद पदबाट हटाउन विभिन्न संघसंस्थाले माग गरेका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल बौद्ध महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद, नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले खादाको विरोधमा अभिव्यक्ति दिने सांसद अधिकारीलाई तत्काल निलम्बन गर्दै छानविन गर्न माग गरेको छ ।

खादा पवित्र पुष्प भएको भन्दै नेपाल बौद्ध महासंघका महासचिव खेन्पो कमल भण्डारीले खादाबारे भ्रम छर्ने काम धर्मनिरपेक्ष मुलुकका पूर्वमन्त्री तथा सांसद अधिकारीले गरेको भन्दै तत्काल कारवाही गर्न माग गरे ।
सामाजिक सद्भाव भड्काउने काम गरेको, छिमेकी मुलुकसँगको सम्बन्धमा दरार पैदा गर्न खोजेको आरोप लगाउँदै नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पाले नैतिकताका आधारमा सांसद अधिकारीले सार्वजनिक रुपमा माफी माग्दै पद छाड्नुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले विभिन्न बहानामा आदिवासी जनजातिहरुमाथि दमन गर्ने काम भएको भन्दै खादा प्रयोगबारे सांसद अधिकारीले त्यस्तो अभिव्यक्ति दिनुले बौद्ध धर्मावलम्बीमाथि घात भएको बताए ।
खादा प्रयोगबारे यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै विरोध गरेका थिए । खादा विदेशबाट आयात गर्नुपर्ने, नकुहिने भएकाले पनि वातावरणीय रुपमा घातक भएको भन्दै खाता प्रयोग नगर्न ओलीले एक सार्वजनिक कार्यक्रममा बोलेका थिए ।
पर्यटन मन्त्रालयले पनि खादा प्रयोगमा रोक लगाउन आन्तरिक सर्कुलर नै जारी गरेको थियो । सो सर्कुलरको व्यापक विरोधपछि सो सर्कुलर खारेज गरिएको विज्ञप्ति दिएका थिए । खादाविरुद्ध षड्यन्त्र गर्ने सांसद अधिकारीलाई कारवाहीको माग गर्दै सभामुख कृष्णबहादुर महरा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार नै ज्ञापनपत्र बुझाएको छ ।

खादाको महत्व र धार्मिक अर्थबारे नेपाल बौद्ध महासंघ महासचिव खेन्पो कमल भण्डारीले यसरी प्रष्ट्याएकका छन् –
खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो । खादालाई शुभ संकेतको रूपमा लिइन्छ । यति मात्रै नभएर अचेल हरेक धर्मावलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चियन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाइन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाइन्छ । पुष्प मालाहरु बर्‍ह्रैकाल, बाह्रै महिना सबै स्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो ।

खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ?
खादा जसरी हाम्रो देशमा तराइ पहाड़ हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दु:खद आत्मालाई शान्ति मिल्नको लागि खादा चढाइएको हो । सातौंं शताब्दीदेखि क्रमश: विकास र विस्तार हुँदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आइपुगेका छन् ।

खादाको धार्मिक अर्थ
खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यत: सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपिमा केही मन्त्रहरु लेखिएको देख्न सकिन्छ । सम्भोटा लिपिमा ‘टाशी देलेक फुन्सुम छ्योक’ लेखिएको हुन्छ, जसको अर्थ ‘सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस’ भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् ।
सम्भोटा लिपिमा ‘ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ’ जसको अर्थ ‘दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस’ भन्ने हो । त्यस्तै ‘ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग’ जसको अर्थ ‘दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस’ भन्ने हो ।
खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।
१. धुक : यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा : यसको अर्थ शुभ साइतको प्रतीक हो ।
३. भुम्बा अर्थात कलश : यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल : यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शंक : यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह : इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा : यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८. धर्मचक्र : यसको अर्थ धर्म फैलाउने भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेको छ ।
१. निलोको अर्थ आकाश
२. पहेँलोको अर्थ जमिन र माटो
३. रातोको अर्थ अग्नी
४. सेतोको अर्थ बादल
५. हरियोको अर्थ जङ्गल हो भन्ने बुभिन्छ ।
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको सांकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ । त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र सांकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!