चौतारोमा दुई थुङ्गो फूल

SHARE:

जानु काम्बाङ्ग लिम्बु
बेलायतबाट एक महिनाको बिदा मनाउन हामी दुवै श्रीमान्÷श्रीमती टर्किस एयरबाट २०१५ जनवरी ३ तारिक आइतबार नेपाल उडेका थियौं । साथमा साइँला काकाकाकी र ठूलो भाइ दिल्लीप्रसाद पनि थिए । भाइ अलि अशक्त भएकोले हाम्रो साहारा लागेर काकाकाकी हिँड्नु भएको थियो । हामी टर्कीको एयरपोर्ट स्तानबुल पुग्दा झमक्क साँझ पर्‍यो । लन्डनबाट प्लेन ढिलो उड़ेकोले टर्कीको ट्रान्जिट टाईम झन्डै झन्डै हतारजस्तो भयो । धेरै वर्षपछि आफ्ना अपÞmन्तहरूसँग भेट हुने हर्षले मन निकै चञ्चल भइरहेको बेला टर्की स्तानबुल खासै रमाइलो लागेन ।

काठमाडौँ केही दिन बसेर झापा गइयो, छोरी कविता धेरै वर्ष जनकपुर होस्टेल बसी आफ्नो स्टाफ नर्स सकेर आएकी थिई । आमा बुवासँग केही दिन बसेर सिधंै ताप्लेजुंग जाने योजना थियो, त्यहीअनुरुप किनमेल, गाडी बन्दोबस्त र अन्य विभिन्न कामहरूमै व्यस्त भइयो तर, अभाग्यबस ठीक माघ ८ को संविधान बन्ने हल्लाको मुखैमा पुगिएकोले, पूर्वाञ्चल बन्द थियो । पहाड जाने गाडी बन्दोबस्त गर्न मात्र ३ दिन लाग्यो । कतै के नमिल्ने कतै गाडी सानो.. यस्तै गर्दागर्दै झापामै ५ दिन बित्यो । बल्लतल्ल छैटांै दिनमा साईत जुर्‍यो त्यो पनि भागेर राति जानुपर्ने । हतारहतार धरान फोन गरेर काकाकाकीलाई बिर्तामोड बोलाइयो, गाडी बन्दले राति नै पशुपतिनगर जाने बसमा सुटुक्कै आएर त्यो दिन दिनभर बुट्टाबारी आफन्तकोमा बस्नु भयो । काकीको बहिनी र दुई बहिनी भदैनीहरू थपिएर हामीलाई जम्मा १२ सिटको गाडी चाहिएको थियो ।

बेलुकीको खाना पछिको समय दिएर ७ बजेतिर गाडी घरमा बोलाइयो । तर अर्को फसाद ७ सिटको सानो गाडी पठाइदियो । हाम्रो तर्फबाट बाबासहित ५ जना थियौ । एकपल्ट पड्किनु भो छार्हा बन्दुकजस्तै गरी विजयजी, उहाँको कुरो सुनेर गाडीवालाले भन्यो ठीकै छ सर माथि बिर्ताबजारसम्म जाउँ त्यहाँबाट म साथीको गाडी मिलाइदिन्छु हाम्रो ठूलो गाडी रिजर्भ गएको आइपुगेन यो पनि दार्जीलिङ्ग जानु तयार भएको क्यान्सिल गरेर यहाँ ल्याएको हो । यति लामो पुराण सुनाइरहेको ड्राइभरको कुरोले एकछिन चुप बनायो । सेसेहांग र कविता मस्त थिए, केटाकेटीको जात कति आनन्द शोक न सुर्ता, भोक न भकारी । बाबा झ्यालको सिटमा ख्वाक्क ख्वाक्क खोक्दै बसिरहनु भएको थियो । गाडी चन्द्रगडी काटेर हुईकियो उकालो बिर्तामोडतिर, ठुल्ठुला कान रिसले रातो रातो भएको थियो विजयजीको । म गाउँ नपुगेको ३० वर्ष भइसकेको थियो । बाबाहरूको अंशबन्डा भएको थिएन, पहाडको जग्गाजमिन सबै कान्छा काकाले गरी खाँदै हुनुहुन्थ्यो । ठेट, टेरिका ? कहाँको यस्तो गाडी पठाइदिएको यार ? एकोहोरिएर मन गाउँ घरमा डुलाइरहेको बेला एक्कासी फेरि मेरो ध्यान भंग गर्दै विजयजी कराउनु भो । झन् त्यत्रो भनेको हामी १२ जना छौं है भनेर ? होइट…नहुने रैछ साथीहरू । गाडीवालाले भन्यो खोई सर यो नेपाल बन्दको बेला गाडी नै पाउँदैन के गर्ने ?
बिर्ताबजार पुगेर गाडी रोकियो तर फेरि पनि कानै चिरेको जम्मा १० सिटको गाडीले पर्खिरहेको थियो । अर्को ठूलो बम पड्कियो त्यहाँ । होइन यार…यो गाडीवालाहरूले मेरो भाषा पो बुझ्दैनन् कि के हो ? ड्राईभरले डराउँदै भन्यो के गर्नु सर गाडी नै छैन, यसैमा मिलेर जानुस् दु:खसुख ? त्यही गाडीमा मिलेर जानुबाहेक विकल्प नरहेपछि हामी खाँदाखाँद गरेर हिँड्यौं ।

बाटो काटिदै थियो, गाडी कुटीडाँडा उकालो लाग्यो । कसैलाई छड्के कसैलाई कोल्टे पर्न अनुरोध गर्दै मैले निकै कोसिस गरे मिलेर बस्नलाई तर, कोही त्यसरी बस्न तयार भएननं् । बरु सबै आफ्नो लागि सिट ओगटेर बस्ने नियतमा थिए । गाडी उकालो लागेपछि बस्न झन् कस्टकर बन्दै गयो, केहीबेरमा सबै घुर्न थाले, म मात्र आफ्नो १२ वर्षको भदाई सेसेहांगलाई काखमा लिएर रातभरि अनिँदो बसिरहें । बाहिर औंसीको रातझैं निष्पट अँध्यारो थियो ।

गाडीमा गीत घन्किरहेको थियो…म तिम्रो सहर छाडी टाढा जाँदै छु, कन्याम, पशुपतिनगर हुँदै ईलाम पुगेर ओरालो लाग्दा पुवा माई ओरालो झर्‍यो है अब पुल तरेर उकालो लागेपछि राँके भन्ज्यांग पुग्छ, अगाडिबाट बाबाले भन्नुभो । ड्राईभरले क्यासेट घन्काइरह्यो उकालीमा पनि हजुर मोटर जाँदो रैछ ड्राईभर दाइलाई स–सलाम माया सरर जाऊ जाऊ रेलैमा ! कति समाचारतिर ड्राईभर निदाएर दुर्घटना भएको खबर सुनिन्थ्यो, ती नै आङ सिरिङ्ग हुने समाचारहरू सम्झेर होला म निदाउनै सकिन बरू, बेलाबेला ड्राईभरलाई निन्द्रा नलागोस् भन्ने मनोसायले गफ लाउँथे ।

बाबा र काका लगातार घुर्रघुर्र गर्दै घुर्नु हुन्थ्यो । यता मेरो छेउमा बस्ने कान्छी छेमा भने बेलाबेला झ्याल खोलेर वाक्कवाक्क गर्नुहुन्थ्यो तर बाँकी चाहिँ हाल्नु हुन्नथ्यो । सोध्थे छ्यामा पानी पिउने ? केही जवाफ आउँदैन थियो, एकबोतल पानी बोकेर ताप्लेजुंग नपुगेसम्म निद्राबाट ब्यूउझिने सबैलाई पिउने भनी सोधिरहें अत्यमा जस्ताको तस्तै ताप्लेजुंग पुर्‍याएँ । काटियो राके भन्ज्यांग, पौवा भन्ज्यांग, कान्छी दोकान, लालीखर्क अनि ओरालो झर्‍यो फिदिम बजार रातको १:३० बजेको थियो बजार पुग्दा । सुत्ने सबै ब्यूउझिए, सेसे ब्युँझिएपछि अलिक रिलिफ महसुस गरें मैले ।

एकछिन रोकेर फेरि हुइकियो गाडी जोरसाल ओरालो।्र एकैछिनमा हेङ्ग्वा खोला नाघेर भारप्पा उकालो लाग्यो । उकालो लगेपछि फेरि गार्हो हुनु थाल्यो सेसेलाई काखमा राखेर बस्न, मनमनै सरापिरहें नेपालको राजनैतिक पार्टीहरूलाई, बल्ल बल्ल नेपाल आउँदा पनि सुख छैन, साला ? दिउँसो मज्जाले हिँड्न पाए पनि कति रमाइलो दृश्यहरू हेर्न पाइन्थ्यो होला ? अब फेरि यस्तो दिन कहिले आउला ? आँखा झिमिक्क नगरी चतुरे डाँडा काटेर जोरपोखरी हुँदै गोपेटार पुग्यो गाडी । गेपेटार पाँचथर जिल्लाको एक पुरानो बजार हो गाडी नपुग्दै यो बजार अवस्थित थियो । सेपिलो पाटामा पर्ने भएकोले यहाँ घाम ढिलो आइपुग्छ, जाडो महिनामा निक्कै चिसो हुन्छ । यहाँ किनमेल गर्न ओयाम, च्यांग्थापू, थर्पु, सिनाम, थुमेदेन, तेल्लोक, सिकैचादेखि मदिबुंग आदिमा बसोबास गर्ने मान्छेहरू आउँछन् ।

मलाई भने एकरातको यात्रा पनि सदियांै लामोजस्तो लागिरह्यो । लोग्ने स्वास्नी बीचको सम्बन्धमा जहिले पनि स्वास्नी नै प्याउलो हुने चलन चलिआएकोले होला म पनि विजयजी सँग प्याउलिँदै थिए, तर मेरो प्याउलोपनलाई विजयजीले बेवास्ता गरेझैं लागेकोले चित्त दुखिरहेको थियो, अन्तत मलाई पिसाबले पिरोलेर हो या रिसले थाहा भएन गोपेटरदेखि ३० मिनेटको बाटो काटेपछि गाडी फेरि रोक्नु लगाएँ अनि छिरें झाडीतिर ।

गाडी बिस्तारै गणेश चोकदेखि ओरालो लाग्यो । बाबा थर्मसको पानी खन्याई औषधि खान लाग्नु भो । गाडी तेज रफ्तारमा सिंगापुर हुँदै काबेली पार गरेर उकालो लाग्यो । म रातभरको अनिदोले थाकिसकेकी थिएँ, सेसेहांगलाई काखबाट ओरालेर म उभिएँ । छोरी कविता मस्त निद्रामा छे बेलुकी हिँड्ने बेला औषधि खाएर हिँडेको ऊ अझै बिउझिएको छैन । कहीँ हिँड्न नमाने छोरी मम्मी ड्याडीसँग रहरै रहरमा गुड्दै थिई कहिल्यै नहिँडेको पहाडतिर ।

गाउँघर निकै रमाइलो देखिन्थ्यो वारिपारि बिजुली बत्ति झिलिमिली थियो । रात रातभरी बत्ति बल्ने गाउँ थेचम्बु अनि पारिपट्टि निगुरादेन, फूलबारी, हान्ग्पांग छेन्तांग त्यसैगरी चक्पुर, सान्थाक्रा हुँदै खोक्लिंग सबै, सबै देखिन थाल्यो । हेर्दाहेर्दै हामी ताप्लेजुंगको मियाखा पुगिसकेछांै, बाबाले भन्नु भो मेरो मावाला गाऊ आयो है ! मैले बोजुलाई सम्झिरहेको बेला, आहा ….कति रमाइलो हाम्रो पहाड भन्दै काकी पनि आङ तन्काउँदै निन्द्राबाट ब्युझ्नु भो । सडकको तल माथि रहेको घरहरूबाट बिहानको भाले बस्न थालेका थिए । पहिले हामी ताप्लेजुङ्गदेखि फिदिम हिँडेर जाँदा माथि आठराई भदौरे डाँडादेखि देखिन्थ्यो यो मियाखा, नाग्खोलेंग थेचम्बू सबै, सबै ्र तर आज समयको चक्रसँगै नाखोलेंग, मियाखा, दोखु सबै सहर भएको छ । घुम्ती घुम्ती दोकान छ घर घरमा धारा छ, हेर्दा लाग्छ सहरका दिन गए अब पालो गाउँको आयो । सडकमाथि मुनि अलैंची अम्लिसो झाप्पै छ कति रमाइलो र मनमोहक छ हाम्रो गाउँघर ।

ताप्लेजुङ पुग्दा बिहानको ४ बजेको थियो । सबै ओर्लियौं तर एकै छिनमा सबै फेरि ट्याक्सीमै फर्कियौं बिहानीपख ताप्लेजुङ यति चिसो थियो कि एकैछिन पनि उभिसक्नु थिएन । ताप्लेजुङको नयाँ ट्याक्सी स्ट्यान्ड ओरालो ओरालो ठाउँमा थियो । ताप्लेजुङ चिनिसक्नु थिएन जताततै घरैघर, ३० वर्ष पहिले देखेका पुराना घर कुनै थिएनन् । बाबाले भन्नु भो केही वर्षअघि यहाँ भीषण आगलागी नभएको भए ताप्लेजुङ यसरी नयाँ ढंगले परिवर्तन हुने थिएन । मलाई पनि बाबाको कुरो हदैसम्म सही लाग्यो ।

लिंग्खिम जाने प्यासेन्जर तपाईंहरू हो ? एकजना गाडीवालाले गाडी रोकेर हामीलाई सोध्यो । हो..हो भाइ, तपाईंलाई श्री लिम्बूले पठाएको हो ? काकाले भन्नु भो, हो भन्ने भएपछि ड्राईभरले हाम्रो सबै समान हुडमा लोड गर्न थाल्यो हामीले बाझ्दै जुध्दै झापाबाट ल्याएको ट्याक्सी छाडेर नजिक हाम्रो जन्मघर जाने ट्याक्सी चढ्यौं सबै जना खुसीले गदगद । काकी भन्दै हुनुहुन्थ्यो धन्न गाडी आयो लिन नत्र त यो उज्यालो हुनेबेलाको चिसो सिरेटोले खतम भइन्थ्यो ।
कुरो गर्दै जाँदा थाहा भो । काकीको भदैले हामी आउँदै गरेको खबर पाएर गाउँतिरकै गाडी लिन पठाएको रहेछ । मान्छे हिँडेजस्तो, सडक ताप्लेजुङदेखि हान्ग्देंवातर्फ नगई माथि सुकेटारबाट बुन्ग्कुलुंग सिरान हुँदै फुरुम्बोतिर मोडियो । बेस्सरी नै चिसो थियो बाटोभरी सेतै हिउँ र कालो शित झरेको थियो । हामी १२ जनामाथि कञ्चनजंघा हिमाल जाने ३ यात्रीसमेत थपेर १७, १८ वर्षे एउटा केटाले गुटुङटुङ गाडी हाँक्न थाल्यो । जाँदै गर्दा उहिल्यै हिँडेको ताप्लेजुङ टुक्रे बजार हुँदै हाङ्देवा, आसाङ पार्टी हुँदै ओरालो झरेर फुरुम्बो खोलाको अप्ठ्यारो पुल तर्दै मित्लुङ्ग र सेङ्वाको बाटो हिँडेको सारै याद आयो । त्यहाँ हुने केही स्थानीयलाई सोध्दा भन्थे, ए…अहिले गाडीको बाटो आएपछि त्यो बाटो कोही नहिँडेर जंगल भएको छ एक्लोदुक्लो भेट्यो भने लुट्छन्, चोर पो लाग्छ ! अचम्म लाग्यो सुनेर ।

बेलुकी हिँडेदेखि तातो केही पिउन नपाएर सबैको मुख सुकेको थियो । कालो अलकत्रे सडक सुकेटारदेखि छाडियो, कच्ची सडक यस्तो रफ थियो कि ! भन्नु पर्‍यो भने भैँसी पनि हिँड्न सक्दैन थियो । तर, जिप हिँड्नु मात्र होइन गुड़ीरहेथ्यो अचम्म लाग्थ्यो कत्रो आँट भएका होलान् यी भर्खरका ठिट्टा ज्यान माया मारी गाडी हाक्छन् ?

सोच्दै थिए गर्लम्म आवाज आयो धुँवाको मुस्लो छुट्यो भित्र बस्ने सबै एए…ए…ए…गर्दै थिए छेउमा बस्ने एक जना बाहुन बाबै भन्दै थिए राम …राम…राम… जिप पुरै चिप्लिसकेको रहेछ धन्न भित्तातिर जोतिएछ । एउटा मान्छे अघिदेखि हामी सबैसँग गफ लडाउँदै थियो, गफ छाडेर एक्कासी करायो, होइन गधा गाडी कसरी चलाउँदै छस् अलिक हेरेर क्लज दबा ? पत्ति जोगा बरु अगाडि ढुंगा भए रोकेर हटा भनेको ? मनमनै भनें कत्ति न मालिक भको ? ऊ मस्त गफ लगाएर बस्ने ड्राईभर ओर्लेर ढुंगा हटाउनु रे ? डरले चिसोमा काप्दै हामी सबै ओर्लियौं । बिचरा स्कुल पढ्दापढ्दै होमवर्क गर्न भुलेर सरले कुट्छ भनी भागेजस्तो “फुच्चे गाडी चालक’’ चुपचाप गाडी बनाउने टुल्स खोज्दै थियो । ढल्केर हेर्‍यो मालिकले पत्ति नै गएछ फेरि करायो..तपार्इंहरु एकछिन पर्खिनुस् पत्ति भाँचिएछ हामी फेर्छौ । जिप पुरै भासिएको थियो अरु सडक सुक्खा भएर धूलो भए पनि त्यो एरिया भने अलैंचीमा कटाएको पानीले गर्दा बाटो हिलो थियो । हामी फुरुम्बोदेखि वारिपट्टिको ठूलो अलंैची र उतिस घारीमा थियौं ।

लगभग ४० मिनेटपछि गाडी बनियो सबै दाजुभाइहरुले मिलेर ठेलठाल गरेर केही तलसम्म ल्याए अनि हामीलाई फेरि चढाए, केहीबेरमै हामी फुरुम्बो खोला काटेर खेबेङ्ग पुग्यौं । उहिले मान्छेले तर्न नसक्ने खोलाहरू अहिले अलैंची सिन्च्याउन ठाउँ ठाउँमा कटाएर खोलै सुकाएछन्, खोलातिर पानी नै थिएन । सिस्नेखोला काटेपछि मान्ग्युंगको डाँडा निस्केर दिसापिसाब गरौँ है भन्दै गाडी रोकियो । सायद यात्रामा खानपिन नमिलेर ग्यास्टिक बल्झिएकोले हो कि ! मलाई निकै बिसन्चो जस्तो महसुस भो । केटाहरू सबै सजिलो गरी भित्तातिर फर्किए । छोरी मान्छे जति अप्ठ्यारोमा पर्‍यौं । म बाटोमुनि निकै तलसम्म झरें तर जताततै चिहान नै चिहान थिए । कोही भर्खर एक महिनाअघि मात्र पुरिएका जस्ता कोही निकै पुरानो, कुनै भर्खर बरखीअघि मात्र सिमेन्टले लिपिएका जस्ता थिए । मलाई चिहान भनेपछि त्यसै त्यसै डर लगेर आयो, आइसकेको पिसाब पनि रोकेर फर्की आएँ । सबै गाडीमा बसिसकेका थिए म पनि चढें । माङ्गयुङ्ग काटेर करेंग करेंग उकालो लाग्यो ।
गाउँका घरहरू सबै अलैंचीबारी र उतिस घारीभित्र थिए । उहिले अकबरे खुर्सानी, करेला, सिमि, सकुस अम्बक आदि ईत्यादि रोपिने कोठेबारी भरिभरि अलैंची थियो । लिंग्खिम सिरान पानदोलुङ्ग पाताल हुँदै गाडी ओरालो झर्‍यो । क्रमश:

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!