नुवाकोट (घलेभञ्ज्याङ) । पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभञ्जयाङमा नै रहेकोमा विश्वस्त रहन स्थानीयवासीलाई आग्रह गरिएको छ । केही सञ्चारमाध्यमबाट गलत समाचार सम्प्रेषित भएकोमा ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष सीता पराजुलीले बुधबार विज्ञप्तिमार्फत् पञ्चकन्या गाउँपालिकाको केन्द्र वडा नं. ३ को लाकुरीभञ्ज्याङ नै रहेको प्रस्ट्याएका छन् ।

कार्यसञ्चालनमा सहजता ल्याउने अभिप्रायले तत्कालका लागि घलेभञ्ज्याङमा अस्थायी कार्यालय निर्माण गरी सेवाप्रवाह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ५ को अधिकार प्रयोग गरी २०७४ कार्तिक ३० गतेको गाउँसभाले पहिले भनिएको मोठभञ्ज्याङलाई परिवर्तन गरी लाकुरीभञ्ज्याङ कायम गरेपछि केन्द्रसम्बन्धी कुनै थप निर्णय नगरेको उक्त पालिकाले प्रस्ट भनेको छ ।
पञ्चकन्या गाउँपालिकाले यस घटनाबाट स्थानीय सरकारलाई नै बदनाम गर्न खोजिएको भन्दै विरोध जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘पञ्चकन्या गाउँपालिकाको केन्द्र घलेभञ्ज्याङ भन्ने गलत समाचार सम्प्रेषण गरी आम पञ्चकन्यावासीमा भ्रम पैदा गर्दै नागरिकको नजरमा सिंगो स्थानीय सरकारलाई नै बदनाम गर्न चालिएको कदमप्रति घोर भर्त्सना गर्दछ ।’ उक्त गाउँपालिकामा ५ वटा वडा छन् ।






