चौतारोमा दुई थुङ्गो फूल

SHARE:

लिंग्खिमको सेरोफेरो
पहिले कोही नहिँड्ने कुनै बाटोले नभेट्ने जंगल सबै बजार भएका रैछन् गाँठे ! एकपल्ट मज्जाले सुस्केरा मारेर बोल्नु भो बाबा । हामी साइँला काकाको ससुराली घर पुग्न लाग्यौं । काकाले भन्नु भो हौ माइला दाइ पहिलेको तरुनीसोराने कान्छी बिस्र्याै ? बाबा एउटा हातले हल्का मुख छोपेर मुसुमुसु हाँस्नु भो । मैले अन्दाज गरें बाबा भाइबुहारीको छेउमा सर्माउनु भयो । सेसेहांग बोल्यो फुपू हामीकहाँ आइपुग्यौ ? हाम्रो पहाड पुगियो ? बाबाले भन्नुभो, यो गाउँको नाम लिंग्खिम हो अब अझै २ घण्टापछि मात्र हामी थिवा संगवारो पुग्छौ । अनि त्यहाँबाट पनि ३ घण्टा जति पैदल हिँड्नु पर्छ ईखाबू पुग्न । तर, बिचरा ! सेसेहाङलाई बाजेको कुरो भालुलाई पुराणजस्तै भो, के थाहा कता लिंग्खिम, कता थिवा ट्वाल्ल परेर बाजेलाई हेरिरह्यो ।

म पुरै अलमलिएँ सानोमा खेलेको हिँडेका ठाउँहरू कुनै ठम्याउन सकिरहेको थिइनँ । सानो छँदा यही लिंग्खिम गाउँ ठूली फुपूको घर कति आउने जाने गर्थें । तमोर खोलातिरको सबै मेला बजारहरूमा डेरा बनाएर किराना दोकान थाप्नु हुन्थ्यो फुपाले । उहाँकै दोकानमा रातो मिठाई सितालु मिठाई किनेर कति खान्थ्यौं । दोकान थाप्दाथाप्दै फुपाको नाम पछि सिराने कान्छाबाट दोकाने कान्छा भएको थियो ।

लिंग्खिमदेखि उता हामी ६ जनामात्र जानु पर्नेथ्यो काकाकाकीहरू ससुरालीमै केही दिन बसेरमात्र ईखाबु आउने सल्लाह थियो । सोहीअनुरुप उहाँहरु त्यहाँ ओर्लनु भो । तर, गाडी मालिकले हिजै रिजर्भ गरेका ६ जना मान्छेले माङ्गयुङ्गमा पर्खेर बसेका छन् हामी झवाट लिएर आउँछौ भनि बाटोमै हामीलाई नि ओरालिदियो । काकाकाकीले जाउँ तल घरमा यसो तातो चिया, पानी खाएर जानूस् । यो बाटोमा के रुँगेर बस्नुहुन्छ जाडोमा भन्न थाल्नुभो ? रातभरको अनिँदो पानी पिउन नपाएर थाकेको शरीर घिसार्दै काकीको माइती घरतिर ओरालो लाग्यौं । पुग्नेबित्तिकै लाजै नमानी चिया मागेर बाबाले आफ्नो केही औषधिहरू गन्न थाल्नु भो । सबैले शरीर तनाकतुनुक तन्काइयो काकीको भाइबुहारी जेठीले हतारहतार चाउचाउ खाजा बनाइदिनु भो । थकित शरीरलाई नाथे चाउचाउ पनि सारै मीठो लाग्यो ।

खाना बनाउने कुरो हुँदै गरेको सुनेर काकीलाई भनेँ, ‘होइन काकी हामी जान्छौं गाडी आउँछ होला खानाको दुःख नगर्नुस्’ गाडीले काकीको भदैलाई नै आइपुगेको खबर दिने भनेकोले एकछिन फोन पर्खेर बस्यौं । केहीबेरमै फोन पनि आयो हामी हतारहतार बिदा भएर उकालो लाग्यौं । ओरालो झर्न जति सजिलो थिएन उकालो चढ्न । विशेषगरी बिमारी बाबाको सास बढ्न थालेको महसुस गरें मैले । बाबाले २ वर्ष अघिदेखि मुटुको औषधि खान थाल्नुभएको थियो । यस्तो अवस्थामा पनि सहास बटुलेर आफ्नो जन्मगाउँ ईखाबु आफ्नो छोरीज्वाइँ, नातिनातिनी सबै अघि पछि लाएर जाँदै हुनुहुन्थ्यो ।

गाउँमा फुपूहरू भन्नुहुन्थ्यो सुकु तेरो बाबा जति धान नाच्ने अनि राम्रो स्वर भएको तन्नेरी नै थिएनन् है उहिले । फुपुहरूको त्यो बेलाको कुरो सम्झेर मेरो बाबाको जवानी कल्पना गर्थें म, अहिले मेरो बाबा झन्डै ६८ वर्ष पुग्नु भो । तेरो बाबा कतै भर्ती भिरौंदा नि नलागेपछि बिहे गरिदिएको त, पछि तँ जन्मेको एक महिनापछि पो एक्कासी शाही सेनामा भर्ती लाग्यो भन्दै मलाई हेरेर बाजे हाँस्नुहुन्थ्यो, आज मेरो बाजेको त्यो उमेर र बाबाको यो उमेरको अन्तरभित्र म आफ्नै छाँयामा खोजिरहेको छु ।

बाबा उकालोमा हिँड्न नसकेकोले बिजयजी र छोरीलाई गाडी पर्खाउन अघि पठाएर म, बाबालाई डोर्‍याउन थालें तर गाडी आउने अत्तोपत्तो थिएन । बाटोछेउमा निलो टिनको छाना हालेको एउटा नयाँ चौतारा थियो । त्यो चौताराको पल्लोछेउमा एउटा युवकको सिलालेख माथि रंगिन फोटो टाँसिएको थियो । वल्लोछेउमा एक तरुनी युवतीको रंगिन सिलालेखमा उसैगरी फोटो थियो । ती सिलालेखका अक्षरहरू सेसेहाङ्गले हातमा बोकेको लौरोले घोच्दै कस्सीकस्सी पढ्न लाग्यो, हामी सबै उकालो हिँड्दाहिँड्दा थाकेको शरीर बिसाउँदै बसेर सुन्न थाल्यौं ।

नाम सबिना मोहेरेसँग लिंग्खिम जन्म २०५० साल पुस ७ गते, मृत्यु २०७० साल कार्तिक १२ गते, मृत्युको कारण सडक दुर्घटना । युवक पनि सोही दुर्घटनामा मरेको पुस्टि भो । माथिको जन्म मितिले मेरो मुटु नराम्रो गरी घोच्यो । मेरो पनि छोरी २०५० साल असारकै हो । त्यो नानीको आमालाई सम्झेर एकपल्ट मेरो कोख नरमाइलो गरी चसक्क चस्केर दुख्यो । ऊ सँगैको मेरो छोरीलाई पुल्लुक्क हेरें उनी थाकेर मेरै कुममाथि टाउको अड्याएर सुस्ताइरहेकी थिइन् । मनमनै उनलाई दीर्घायुको आशीर्वाद दिएँ ।

छेउमा चौतारो बनाउँदा लागेको ढुंगा माटो र आगो फुकेर तापेको चुला सबै जस्ताको तस्तै देख्दा लाग्थ्यो गएको हप्तामात्र चौतारो सकिएको हो । र लिम्बूहरूको संस्कार संस्कृतिअनुसार चौतारो सकिएको दिन, रातभरी हाक्पारे गाउने, धान नाच्ने विधिहरू सकिएको जस्तो थियो । मृत्युले कहिले ठूलो सानो नभन्दोरहेछ के गर्नु खुईया… बाबाले लामो सास तानेर सुस्केरा हाल्दै भन्नु भो । चन्द्रकलाले भनिन्, ‘दिदी यो केटी त म सँगै को हो नि ! विचरा ८ कक्षामा पढ्दै थिई म चिन्थे नि, त्यति भनेपछि सेसेहांग र कविता निकै उत्सुक भए कुरो सुन्नलाई । हाम्रो कुरो नटुंगिँदै एउटी अधबैंसे महिला डोको र हँसिया बोकेर आइपुगिन्, हामीलाई देखेर आती केयुन्ग्बा तरेबासी नि बे ? (कहाँ बस्ने पाहुनाहरू होला ?) आसेवारो ! प्रतिउत्तरमा बाबाले भन्नुभो (आनिगे थोह युखाबू केयुन्ग्बा सिगेरो) नानी । हामीमाथि ईखाबु बस्ने बटुवा पो हौ नानी, बाबाको कुरो सुनेर, ए..भन्दै आफ्नो पोल्टोबाट सेतो जुवारी फूल दुई थुङ्गो झिकेर दुवै सिलालेखको सिरमा चढायो अनि ढोग्यो । हामी छक्क पर्दै आँखा चिम्म नगरी हेरिरह्यौ । कुरो गर्नलाई बाबा सिपालू छँदै थियो सुरु गर्नुभो, अनि नानी यो मर्ने दुईजना तपाईंको को हुनुहुन्छ ? सारै दुःखको घटना भएछ यति कलिलै उमेरमा ? बाबाको कुरोले उनी भावविभोर हुँदै भन्न लागिन्, हो नि दाजु अस्ति भर्खर कार्तिकको घटना हो यो छोको नानीको जेठी दिदीलाई थेचम्बु पारि सिगपुरको केटा माग्न आएर ठूलो बिहे भयो यहाँबाट लोकंदी थुप्रै गएका थिए । तर अरु सबै हतार नहुनेहरू बिहेमै बसेछन् यो दुई जना चेली माइतीचाहिँ हतार भएकोले बिहे नसकी बिदा भएर हिँडेछन् ।

दिनको ४ बजेतिर काबेली माथिको मियाखाको ढुसेनी भन्ने ठाउँमा निस्किएर चिया, खाजा खान भनि गाडी रोकिएछ । उसलाई अलि गाडी लागेकोले सविना चाहिँ गाडीमै बसेछ, दाजुचाहिँ ओर्लिएर एक कप चिया पिएछ । पछि बचेका केही मान्छेबाट थाहा भएअनुसार त्यो गाडीको मालिक पनि साथै आएको थियो रे । ढुसेनीमा २ बोतल बियर खाएपछि गाडी आफै कुदाउने भएछ, उसको ड्राईभर त मानेको थिएन रे तर मालिकले छोड आफ्नो मालिकलाई केही नजान्ने ठान्छस् मुला…? यसो भन्दै गाडी खोसेछ । केही माथिसम्म ठीकै थियो रे तर दशा भनेको बाजा बजाएर आउँदैन भन्थे जानीजानी त्यो मालिकले बाजा मात्र होइन नौमती बाजा नै बजाएर दशा बोलाएछ । गाडी झन्डै ५०० मिटर जति तल खसेको थियो रे । आफ्नो ओढ्नेको फेरोले आँसु पुछ्दै कुरो अगाडि बढाई त्यो छेउको सिलालेखमा हुने हेन्डसम केटा उनको कान्छा देवर रहेछ अनि छेउकी चाहिँ काका ससुराकी छोरी नन्द ।

कुरो सुन्दासुन्दै बाबाले भावुक हुँदै सोध्नु भो, ‘नानी देवरले बिहे गरेको थिएन ? निकै झोक्किनु भो बिहेको कुरो सुनेपछि किन नहुनु नि ? थियो एउटी अलक्षिना मेरो देवर मरेको ४ महिना नपुग्दै पोइल गई ३ जना बलाख नानीहरु छन् मै पाल्दैछु । मेरो देवर ताप्लेजुंग जिल्लाभरिकै टप भलिबल खेलाडी घरबाट कति दिनसम्म बाहिर बस्थ्यो घरमा नानीहरुसँग देउरानीमात्र हुन्थी । दिनरात कराउथी आफ्नो लोग्नेलाई सराप्थी, कहिलेकहीँ देवर खेलेर घर आउँदा पनि खाली झगडा मात्र गर्थी । म पनि कान्छालाई नै गाली गर्थें, ‘तिमी लोग्ने मान्छेहरू खाली बाहिर भुल्छौ घरको दुःख देख्दैनांै भन्थें !’ सायद दिक्क मानेर होला महिनांै मेरो घर आउँदैनथ्यो । तर गाली गरे पनि माया लाग्थ्यो मैले सानैदेखि हुर्काएको हो । मेरो बिहेमा सानो २ वर्षको नानी थियो सासुको शेषपछि उनीहरुलाई हुर्काउने जिम्मा कति सजिलै मेरो भागमा परेको थियो, जेठानी जेठाजुहरू सबै छुटिएर हिँडे म घरको साइँली बुहारी । मेरो उमेर कतिनै छिपिएको थियो र ? त्यो बेला भर्खर १६ पूरा गरेर १७ त लागेकी थिएँ । भगवान्ले मलाई बलाखामै आमा बनाइदियो सबै देवर, नन्द हुर्काएर बिहेदान गरिदिएँ । आफ्नो पनि छोराछोरी बिहे गरेपछि नहुने कुरै भएन । बेलाबेला लामो सुस्केरा हालेर आँसु पुछ्दै देवरको सिलालेख हेर्थिन्, त्यहाँ भएको फोटोलाई हेर्थी अनि भन्थी बजिया सारा दुःख मलाई सुम्पेर गइहालिस् ? हुन त, तँ भएर पनि कहिले पो सुख दिएको थिइस् र ? हामी बाँकी कुरो सुन्न निकै उत्सुक हुँदै थियौं ।

तर, हाम्रो गाडी हरण बजाउँदै माथि डाँडामा आइपुग्यो । ठीक त्यहीबेला श्री लिंग्खिम छोरा ठूलो थर्मश बोकेर स्या..स्या..गर्दै टुप्लुक्क आइपुग्यो । थर्मस देखेर मेरो बूढो बिमारी बाबा खुसी हुनु भो, कविता र चन्द्रले त्यो थर्मसको चिया बाँड्ने काम गर्दागर्दै गाडी आइपुग्यो । श्रीलाई धन्यवाद र त्यो दुखी दिदीलाई सान्त्वना दिँदै हामी हिँड्यौ ।
क्रमशः….

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!