लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने औंल्याएका छन् । उद्योग, वाणिज्य प्रवर्द्धन संवाद परिषद्को शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताए ।

यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेको उनलाई उद्धृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “चन्दा सङ्कलन र लुटपाट गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न कानूनअनुसार अघि बढ्छ ।”

बैठकमा अबका दिनमा विगतका अनुभवका आधारमा सम्मेलनलाई प्रतिबद्धताका रुपमा मात्र सीमित नरही व्यवहारमै रुपान्तरण गर्न के–कस्ता कार्यक्रम बनाउन आवश्यक रहन्छ भन्नेबारेमा विस्तृत छलफल भएको सचिव ढुङ्गानाले जानकारी दिनुभयो । सार्वजनिक निजी साझेदारीको स्वरुप अर्थात् सार्वजनिक र निजी क्षेत्रबीचमा अन्तरक्रिया गर्दै मुलुकको आर्थिक विकासका क्षेत्रको पहिचान र सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले परिषद्को गठन भएको हो ।

परिषद्को मङ्सिरमा बसेको पहिलो बैठकको निर्णयअनुरुप परिषद् गठन आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको तथा सात विषयगत क्षेत्रले नीति पृष्ठपोषण दिनका लागि समिति गठन गर्ने गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव पनि सो अवसरमा दिइएको थियो । सचिव ढुङ्गानाले भने, “आगामी लगानी सम्मेलनमा निजी क्षेत्रको सहभागितालाई कसरी प्रवद्र्धन गर्ने र सम्मेलनलाई कसरी सफल तुल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।”

मुलुकको आर्थिक विकासका क्षेत्र के के हुन्, अरू के हुन सक्दछन् यसमा सहभागिता कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने पाटोबाट विस्तृत छलफल भएको उक्त बैठकमा विषय विज्ञको सुझावलाई सम्बोधन गर्न नीतिगत आधार बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ । मुलुकको पूर्वाधार, उद्योग, उच्चस्तरको कृषि उत्पादन, पर्यटन तथा ऊर्जा क्षेत्रको विकासका लागि परिषद्ले विषयगत क्षेत्र निर्धारण गरेको छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र समृद्धिका लागि आगामी सम्मेलनबाट कसरी फाइदा लिन सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भएको जानकारी दिए । उनले भने, “लगानीकर्तालाई यहाँको लगानी वातावरणका सम्बन्धमा कसरी बुझाएर आकर्षण गर्न सकिन्छ भन्नेबारे समीक्षा भएको बैठकमा प्रधानमन्त्रीज्यूबाट सम्मेलनलाई सफल तुल्याउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।”

मुलुकमा उत्पादन बढाउन, उद्योग, व्यपार र वाणिज्य प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको परिषद् विकास र समृद्धिका लागि खम्बाका रुपमा रहने विश्वास गरिएको छ । प्रधानमन्त्री मातहत रहेको उक्त परिषद्ले अन्तर्राष्ट्रिय व्यपार, उद्योग विकास र लगानी साथै कृषि उत्पादनमा जोड र उपभोक्ताको अधिकारको संरक्षण गर्नेजस्ता विषयमा नीति तर्जुमा, योजना र कार्यक्रम बनाउने र अनुगमन गर्ने कार्य गर्दै आएको छ ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा पुष्पराज कँडेल, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीलगायत निजी क्षेत्रका अरू प्रतिष्ठानका प्रतिनिधिसहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!