पर्सा । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा रगतको अभाव भएको छ । रगत अभाव भएपछि अखिल (क्रान्तिकारी) २ नं प्रदेशको आयोजनामा वीरगंज ब्लड बैंकले बृहत रक्तदान कार्यक्रम संचालन गरेको छ । सोही रक्तदान कार्यक्रममा विद्यार्थीहरु पनि सहभागी भएका छन् ।

हावाहुरीबाट बारा र पर्सामा समस्या भएको थाहा पाएपछि रातारात अखिल (क्रान्तिकारी)का नेता दिपेश पुन केही साथीहरुका साथमा घटनास्थल आइपुगेका छन् । उनले पनि रगतको अभाव हुन नदिन भन्दै सार्वजनिक आव्हान गर्दै रक्तदान गरेका छन् । विद्यार्थी टिम सोमबार दिनभरी उद्वारकार्यमा सक्रिय रहने र भोलीदेखि राहत संकलन वितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने अखिल (क्रान्तिकारी) प्रदेश सचिव सुर्य नारायण शाहले जानकारी दिए ।
अभियान टिममा उपाध्यक्ष दिपेश पुन, सचिव सुर्य नारायण शाह, प्रदेश संयोजक प्रभाकर गुप्ता लगायतको टिम सक्रिय छन् । दिपेश पुन नेतृत्वमा भूकम्प पीडितको उद्दार र राहतको व्यापक काम भएको थियो । त्यस्तै विभिन्न प्राकृतिक विपत्ति र असहज परिस्थितिमा दिपेशको नेतृत्वमा मानवीय काम हुँदै आएको छ । बारा र पर्सामा आएको हुरीबतास पीडितका लागि पनि सहयोगी बनेर रातारात बारा आइपुगेका हुन् ।
हावाहुरीका कारण बारा र पर्सामा कम्तीमा ३१ जनाको मृत्यु भइसकेको भने पाँचसयभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए ।
एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।







