काठमाडौँ । आइतबार रातिकाे हावाहुरीले प्रभावित बारा र पर्सामा गृह मन्त्रालयले ४६८ वटा त्रिपालसहित कपडालगायतका सामग्री पठाएको छ । मन्त्रालयकाअनुसार ४६८ वटा त्रिपाल, ४ हजार १ सय ३८ थान कपडासहित ३ ट्रक सामग्री बारा पुगेकाे छ ।

पीडितहरुलाई खाद्यान्न लगायतका सामग्री स्थानीय स्तरबाट व्यवस्था भइरहेकाे मन्त्रालयले जनाएकाे छ।गृह मन्त्रालयले घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक प्रतिकार्यमा सबै सराेकारवालाबाट सहयाेगकाे अपेक्षा समेत गरेकाे छ।
मन्त्रालयले आइतबार राति बारा र पर्सामा आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको जनाएको छ। गृहले सोमबार साँझ जारी विज्ञप्ति जारी गर्दै बाराका २६ र पर्साका १ गरी २७ को मृत्यु भएको पुष्टि गरेको हो।
मृत्यु हुनेमा १० पुरुष, ११ महिला र ६ बालबालिका रहेका छन्। गृहले घटनामा ६ सय ६८ घाइते भएको र २८४ जना प्राथमिक उपचारपछि घर फर्किसकेको जनाएको छ।
बाँकी घाइतेमध्ये ३ सय ७५ जनाको पर्सा र बारास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ। गम्भीर घाइते ९ जनालाई भने सेनाको हेलिकप्टरमार्फत थप उपचारका निम्ति काठमाडौं ल्याईएको थियो। उनीहरुकाेत्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ।
मन्त्रालयले घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाइएको र स्थानीय तहमा समेत नेपाली सेनाको मेडिकल टीम र नेपाल प्रहरीबाट खटिएको दुई मेडिकल टीम परिचालित भएको जनाएको छ।
यसैबीच नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल, खाद्यान्न, कपडा लगायतका सामग्री सहयोग गर्ने भएको छ।






