लगानी सम्मेलन : ७७ परियोजना प्रस्ताव, १७ मा आवेदन

SHARE:

काठमाडौँ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ ।

सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए ।
यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको थियो । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेको थियो । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेको थियो । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेको थियो ।

राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गरे । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए– विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन ।

भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए ।

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ ।

नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ ।

जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउनुहुने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेको थिएन ।

सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो ।

पन्ध्र परियोजनामा लगानीको घोषणा
लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ । सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गरे । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । उक्त समझदारीमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भएको छ । सो समझदारीमा सिजी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र टुर्कसेलका व्यापार प्रमुख एनसिजेट मुराट इर्किनीले हस्ताक्षर गरे ।

प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा प्रवद्र्धक सतलज विद्युत् निगमका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका सहायक प्रबन्धक सरोती विनोद कुमार, एभरेष्ट बैंक नायब महाप्रबन्धक गिरिश कोइली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संयुक्त रुपमा हस्ताक्षर गरे । उक्त आयोजनामा स्टेट बैंक अफ इण्डियाको रु छ हजार ५६० करोड, एभरेष्ट बैंकको रु ८१२.६१ करोड र नबिल बैंकको रु ४८७.५८ करोड लगानी गर्ने भएको छ ।

कूल १६४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र हुनान सिन्ह्वाको अन्तर्राष्ट्रिय व्यापार प्रमुख झू झेन्ज छेनले हस्ताक्षर गरे । लगानी बोर्ड नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष(आएमएफ)बीच सिमरा विशेष आर्थिक क्षेत्र निर्माणसम्बन्धी समझदारी भयो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न सामझदारी भएको हो । सो समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा विशेष आर्थिक क्षेत्र (सिमरा) का प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आएमएफका नेपाल, भूटान तथा बङ्गलादेश हेर्ने क्षेत्रीय व्यवस्थापक वेण्डी विमर तथा वरिष्ठ लगानी अधिकृत पङ्कज सिन्हाले हस्ताक्षर गरे ।

बनेपा हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि निर्माणका लागि उक्त कम्पनीका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक एड्डी सियाबीच हस्ताक्षर भएको छ । त्यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने समझदारीपत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहबीच समझदारी भएको छ । उक्त रकम पूर्वाधार विकासमा खर्च गरिने एनआरएनले जनाएको छ ।

नेशनल कोल्याटरल म्यानेजमेन्ट र नेपाल वेयर हाउस कम्पनी लिमिटेडबीच हरित भण्डारगृह निर्माण गर्नेसम्बन्धी समझदारीमा कम्पनीका प्रबन्ध निर्देशक आनन्दा बगिरा र केल्याटरल म्यानेजमेन्टका उपप्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकबीच हस्ताक्षर भयो ।

पूर्वाधार विकास सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्माको लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशन (एमएलसिए) बीच समझदारी भएको छ । महासङ्घका अध्यक्ष रवी सिंह र एमएलसिएका अध्यक्ष उक्या विनले सो समझदारीमा हस्ताक्षर गरे ।

त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणका लागि कोरियाली प्रवद्र्धक कोसेपले ६५० मिलियन डलर बराबरको लगानी प्रतिबद्धता गरेको छ । आगामी असोजबाट आयोजनाको निर्माण गरिने कोसेपका उपाध्यक्ष हाक विक किमले बताए । भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा गरेको छ । सोसम्बन्धी घोषणामा नेपालका लागि मुथोड ग्रुपका निर्देशक अनिल कार्कीले जानकारी गराए ।

लगानी बोर्ड नेपाल र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र दक्षिण अफ्रिका लगानी बोर्डका निमित्त प्रमुख युनुश हुसैनले हस्ताक्षर गरे ।

अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर गरे । यस्तै डोल्मो हिमालय इनर्जीले पनि लगानीको घोषणा गरेको छ ।

उद्योगी–व्यवसायीमा उत्साहसँगै चासो
‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् । मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम वातावरण तयार भएकाले आफूहरु उत्साहित भएको उल्लेख गर्दै सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी लगानीकर्ताले नीति कार्यान्वयन र लगानी सुरक्षाका लागि सरकारी प्रतिबद्धताको दृढतापूर्वक कार्यान्वयन खोजेका छन् ।

लगानी प्रोत्साहनका लागि सरकारले आवश्यक कानून बनाएर सहजता तुल्याएको प्रति खुशी व्यक्त गर्दै उनीहरुले प्रशासनिक काम कारवाहीमा देखिएका कमीकमजोरी हटाउन सरकारले कस्तो कदम चल्ने हो भनेर प्रतीक्षा गरेको बताएका छन् । विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनासँगै नयाँ राजनीतिक परिवेशमा नेपालमा पहिलो पटक २०४८ सालमा लगानी सम्मेलन भएको थियो । त्यस सम्मेलनमा करीब १० करोड अमेरिकी डलर विदेशी लगानीको प्रतिबद्धता आएको र झण्डै २५ प्रतिशत कार्यान्वयनमा आएको थियो । शान्तिप्रक्रिया टुङ्गिएसँगै २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७३ सालमा तत्कालीन सरकारले दोस्रो लगानी सम्मेलन आयोजना गरेको थियो ।

दोस्रो सम्मेलन झण्डै रु १४ खर्बको वैदेशिक लगानी प्रतिबद्धता भएकामा त्यसको २५ प्रतिशत कार्यान्वयनमा आएको सरकारको भनाइ छ । यसपटक सरकारले सम्मेलनलाई लक्षित गरी सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनाका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ । यसबाहेक अन्य आवश्यक कानून तर्जुमाको चरणमा रहेको जनाइएको छ । संविधानअनुसार तीनै तहका निर्वाचनपछि राजनीतिक स्थितरता कायम भएको परिस्थितिमा भएको यस सम्मेलनमा लगानीकर्ताबाट प्राप्त हुने प्रतिबद्धतालाई कार्यान्वयन गर्न सरकारले अवसरका रुपमा लिनुपर्ने आर्थिक क्षेत्रका जानकारहरुको जोड छ । यो अवसरलाई प्रयोग गर्न चुकाउन नहुने उनीहरुले बताएका छन् । सरकारी अधिकारीले भने लगानी सुरक्षाका लागि पूर्ण प्रत्याभूति दिलाउँदै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

सरकारी प्रतिबद्धताप्रति चासो
सम्मेलनमा सहभागी उद्योगी र व्यवसायीले सरकारले लगानीका लागि उपयुक्त कानूनी वातावरण बनाएकामा खुशी व्यक्त गरे पनि कार्यान्वयनको अवस्था भने अझै हेर्न बाँकी रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले अहिले स्थित सरकारसहित उद्योगमैत्री वातावरणको नयाँ मोड देखिएको बताए । उनले सरकारसँग अबको एक मात्रै एजेण्डा आर्थिक विकास भएको धारणा व्यक्त गरे । “यसमा निजी क्षेत्रसँगको सहकार्यमा सरकार अगाडि बढेको छ, हामी उत्साहित छौँ,” अध्यक्ष राणाले भने । आर्थिक समृद्धिका आधारहरु सुशासन र नीतिगत तथा वित्तीय क्षेत्रको सुधारमा सरकार अगाडि बढेको पाइएको बताउँदै उनले अहिलेको सम्मेलनमा धेरै लगानीकर्ता उत्साहित देखिएको बताए । उनले लगानीका लागि कानूनी वातावरणसँगै पूर्वाधार निर्माणमा बाटोघाटो, ऊर्जा, विमानस्थलजस्ता विषयमा प्राथमिकता दिनुपर्ने भन्दै आफ्ना प्रतिबद्धता कार्यान्वयनमा सरकार लाग्नुपर्ने आवश्यकता औँल्याए ।
महासङ्घका उपाध्यक्ष किशोर प्रधानले पहिलेका सम्मेलनमा प्रतिबद्धताअनुसार लगानी नआउनुमा देशको वातावरण नै मुख्य कुरा भएको बताउँदै अहिलेको वातावरण फरक रहेको उल्लेख गरे ।

निर्वाचनपछि तीनै तहको सरकार गठन भएको र राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उनले भने, “कानूनमा भएको सुधारले सकारात्मक सङ्केत दिएको छ, त्यो व्यावहारिक रुपमा देखिनुपर्छ ।” उनले थपे, “एक दिनमा हुने कामलाई १७ दिन लाग्यो भने त्यो १६ दिनको मूल्य कसरी व्यवस्थापन गर्ने, समयमै काम गर्ने वातावरण हुनुप¥यो, कानून बन्ने तर व्यवहारमा लागू नहुने, काम गर्दा घुस खुवाउनुपर्ने जस्ता समस्या हटाएर समयमै काम हुने वातावरण ल्याउनुपर्छ ।”

गैरआवासीय नेपालीमा उत्साह
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का अध्यक्ष भवन भट्टले यो पटकको लगानी सम्मेलनमा गैरआवासीय नेपाली उत्साही भएको बताए । सम्मेलनमा प्रतिबद्धता धेरै आएपछि सबै कार्यान्वयनमा नआउने उल्लेख गर्दै उनले नेपालमा लगानीका लागि शुरु भएको प्रक्रियाले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताए ।
सम्मेलनमा अपेक्षाभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता हुनु नै सम्मेलनको सफलताको पहिलो कडी भएको बताउँदै उनले सरकारले लगानीको वातावरणका लागि छ वटा कानूनमध्ये तीन वटा कानून बनाइसकेको र अन्य प्रक्रियामा रहेकामा खुशी व्यक्त गरे ।

“कुनै पनि देश आफ्नै लगानीले धनी भएको इतिहास छैन, अमेरिकाले पनि पाँच करोडभन्दा बढी लगानी गर्नेलाई ग्रिनकार्ड दिने गरेको छ, सरकारको अभियानलाई टेवा पु¥याउन हामीले रु १० अर्बको लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्दैछौँ त्यही बास्केट फण्डबाट लगानी हुन्छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!