बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बाह्रौं अभिव्याक्ति शृङ्खलाको लागि गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गर्ने भएको छ । अध्यक्ष दिपा लिम्बू राईको अध्यक्षतामा बसेको बैठकले सस्ंथाको बाहौं अभिव्यक्ति शृङ्खलाको लागि जानु काम्बाङलाई छनोट गरेको हो । यस वर्षको अभिव्यक्ति शृङ्खला आगामी १४ सेप्टेम्बर २०१९ को दिन मीडल्याण्डमा आयोजना गर्ने संस्थाले जनाएको छ ।
गीतकार तथा कवि जानु कामबाङ बेलायतका सक्रिय स्रष्टा हुन् । गीत, कविताबाहेक कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्त कलम चलाउँदै आएका जानु कामबाङको कवितासङ्ग्रह ‘शिविरमा ईश्वर’ (सन् २०१६), गीति एल्बम ‘अनुभव’ (सन् २०१६), ‘जानु’ (सन् २०१८) र कथासङ्ग्रह ‘नउघ्रेको जुन’ (सन् २०१८) प्रकाशीत भइसकेको छ ।
यसैगरी गीतिसंङ्ग्रह, नियात्रा र उपन्यासजस्ता महत्वपूर्ण कृतिहरू प्रकाशोन्मुख रहेका छन् । बाल्यकालदेखि साहित्यमा रूचि राख्ने गरेका जानु काम्बाङको फुटकर रचनाहरू बेलायतबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरूमा प्रकाशित हँुदै आएको पाइन्छ ।
जानु काम्बाङ गीति लेखनको क्षेत्रमा एक सशक्त हस्ताक्षर हुन् । उनको गीतहरू दुई सयको संख्यामा रेकर्ड भइसकेका छन् । भने ‘वेचिदिन्थे यो जवानी’ (चलचित्र मट्टिमाला), ‘कयौ प्यासी रातहरू’, ‘तिमी भित्रभित्र’ै र ‘यस्तो एउटा संसार…’जस्ता गीतहरू निकै लोकप्रिय छ । राजेश पायल राई, मेलीना राई, सन्जीवनी, प्रमोद खरेलदेखि नेपाल आइडलका प्रथम विजयी सीडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, सुनीता थेगिम, बबिना कीराती, सुजन तिगेला र मीना निरौला लगायतका थुप्रै लोकप्रीय कलाकारहरूको स्वर रहेका छन् ।
जानु काम्बाङ साहित्य लेखन सँगसँगै सामाजिक संघसंस्थाहरूमा पनि सक्रिय रहँदै आएका सामाजिक कार्यकर्ता हुन् । उनी हङकङ नेपाली मञ्च, यूकेको उपाध्यक्ष हुन् भने ताप्लेजुङ समाज यूकेको महासचिवको कार्यभार सम्हालीरहेका छन् ।
यसैगरी याक्थुम माङ्गेना चुम्लुङ, यूकेको सचिव रहेका छन् । नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्य र नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आजीवन सदस्य रहेका छन् । यसैगरी गीतकार संघ नेपालको आजीवन सदस्य र बेलायत संयोजक पनि हुन् । सामाजिक सेवासंगै पत्रकारिता पनि उनको अर्को कार्यक्षेत्र पर्दछ । बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकाहरू र अनलाइन खबरहरूमा जानु काम्बाङको समाचार र लेखहरू प्रकाशित हुँदै आएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सिर्जनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो ।
सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया । सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा रूपक श्रेष्ठ र २०१८ सालमा साहित्यकार गणेश राईलाई अभिव्यक्ति शृङ्खलामा मञ्च प्रदान गरिँदै आएको छ ।






