सेमन्त राई
बालक हुँदा कता कता मस्तिष्कको उपल्लो छेउमा धमिलो सम्झना आउँछ, गाउँ घरमा गाई थाकिसके पछि र गोरु हलोमा नारिन नसक्ने अवस्थामा सस्तो मूल्यमा बेचिएर सदाको लागि जिन्दगीभर बसेको घर छोडी मधेसतिर लगारिनु पर्ने कथा । अब यो गाई गोरु काम लाग्दैन, यसपालिको हिउँद काट्न मुस्किल पर्छ, बरु अहिले नै बेचेर अर्को किने ठीक हुन्छ भन्दै मन बिगार्ने त्यो खरितेको नियतले मालिकसँगको नजिकको सम्बन्धलाई बिगारेर आखिर अलिकति पैसाको लोभमा उसैको हातमा साथ लगाएर आप्mनो मालिकले बेचेका हुन्छन् कुनै बेलाको उही प्यारो गा
ई गोरुलाई । बैंस हुँदा सबैको प्यारो हुने तर बूढो हुँदै गएपछि सबैले छिःछिः, दुरदुर, घृणा, हेला गर्ने यो प्रकृतिको नियत नै हो कि क्या हो ? “काम लागुन्जेल भाँडो काम नलाग्ने भएपछि अफालसिंग ठाँडो” भने झैं ब्याइरहुन्जेल गाईले स्याहार पाउने, तीन÷चार मुरीको बीउ जोतुन्जेल गोरुले राम्रो स्याहार पाउने तर बूढो भएपछि काम नलाग्ने घाँडो भएर अपहेलित हुनु पर्ने विचरा ती पशुहरुको जीवन । खरितेहरु हिउँदमा खेतबारीभरी बास बस्तै हुलका हुल थारो गाई, बूढी गाई, गोरु बटुल्दै मधेसतर्फ पशुबजारमा ग्राहकको माग आपूर्ति गर्न व्यस्त हुन्थे ।
गाउँभरी घुम्दै हल्ला गर्दै यसरी बटुलेका पशुहरु चार÷पाँच दिन लगाएर अक्करको अप्ठ्यारो भीरको बाटो साईसाई र सुईसुई गर्दै हुलका हुल सिमाना कटाउने चलन हिउँद लागेपछि खरितेहरुको जीविकोपार्जन गर्ने एक पेसा नै हुन्थ्यो ।
“माली गाई ब्यायो है, बिगौती खान पाइने भयो । यो माली गाई त कति दुधालु छ, बाच्छा सारै सपार्छ । यसपालि पनि बहर नै ब्याएछ ।”
माली गाईको जताततै हाईहाई हुन्छ, दूध धेरै दिन्छ भनेर स्याहारसुसार पनि धेरै हुन्छ । समयमा कुँडो, खोले पकाएर बिहान बेलुका दिने, मीठो घाँस खोजेर ल्याइदिने गरिन्थ्यो । सँगै बाँधेर राखिएको बूढो गोरु वा थाकिसकेको गाईलाई कसैले न त बिचरा भन्छन्, न कसैले वास्ता नै गर्छन् । दाँतले घाँस चपाएर राम्ररी खान सक्ने अवस्थासमेत उनीहरुको हुँदैन । बूढो भएपछि धेरै स्याहार चाहिने अवस्थामा न त कुनै रेखदेख हुन्छ न त कसैलाई उनीहरुको दयामाया नै हुन्छ । बरु तन्किएर घाँस खान खोज्दा उल्टै “तँलाई पड्के” जस्ता शब्दले गालीगलौज गरी दुहुना गाईलाई मात्र रेखदेख गर्दछ, उही मालिक जो उसैलाई पहिला खुब स्याहारसुसार गरेर पाल्थ्यो । त्यस्तै बेंसी खेत जोत्न सक्ने, पाखाबारी जोत्न सक्ने, हलोमा नारिएर खेती उतार्ने गोरुलाई समयमा घाँस पानी दिइन्थ्यो, स्याहार गरिन्थ्यो र भक्कु जोतिन्थ्यो । हरेक वर्ष खेती उतार्ने ती नै हल गोरु हुन्थे । आज तिनै बूढा गोरु र गाईहरु अलि पर बाँधिएका छन् थोरै घाँस र परालको भरमा सास अल्झाउनका लागि मात्र । लाग्छ, उनीहरु आफ्नो अन्तिम दिनको प्रतिक्षामा जीवनका पलहरु गन्ती गरिरहेका छन् । वर्षायाममा घामपानी नभनी खेतबारी सबै जोतेर मंसिरमा अन्नबाली भित्र्याउँदा किसानलाई खुब आनन्द लाग्दथ्यो । मालिकहरु ती गोरुलाई स्याहारिरहन्थे जबसम्म ती गोरुहरु जुवामा नारिन सक्थे । घामपानी, झरी, बादल केहीले पनि नरोक्ने, मेला नसकुन्जेल हलो र जुवाको भारी काँधमा बोकेर वर्षायाम बिताउनु पर्ने सबै बल बैंस रहुन्जेल मात्र रहेछ ।
यसैगरी उहिले नै चरनमा चरिरहेका बथानबाट खाइलाग्दा बहरहरुलाई आफ्ना आमाबाबाको काखबाट सुटुक्कै चोरेर खरितेले सिमाना कटाउने प्रथाले गर्दा नै त होला विचरा गाईहरु आफ्नो बच्चाविहीन हुने गर्दथे । कलिला बहरहरुको बथानले तुम्लिंगटारको लामो समतल भूमि हुँदै कत्लेभन्ज्या¨ काटेर नयाँ मालिकको साथ लागेर धरानतर्फ लगारिनु पर्दथ्यो । आफ्नो गोठभन्दा धेरै टाढा नचिनेको ठाउँ हुँदै खरितेको हातबाट अपरिचित मालिकको साथ लागी विदेश काट्नु पर्दा ती बहरहरु गाउँघर सम्झेर एक पटक सभा खोलामा तुरुक्क आँसु झारी मुटु दरिलो बनाई जाँगर तर्थे । नयाँ मालिकको साथमा परेपछि के हुने हो, कस्तो व्यवहार गर्ने हुन्, भन्ने चिन्ताले मनमा सताइरहेको हुन्थ्यो भने अर्कातिर नयाँ ठाउँको यात्रामा जीवन रमाइलो पनि हुने आशामा मन खेलाउँदै सिमानाको नजिकतर्फ अगाडि लम्किन्थे ती बहरहरु । खरितेलाई कुनै वास्ता थिएन गाउँघरका बहरहरु जम्मा पारेर बेचिसकेपछिको उनीहरुको जिन्दगीका पीडाको बारेमा । गाउँघरको डाँडाकाँडा उकालो ओरालो, गाउँबेंसीमात्र हिँडेका ती रहरलाग्दा बहरहरु एकैचोटि चार चक्के मोटर र छक्छके रेल चढेर देहरादुनतिर लाग्दा मन कति कुण्डिन्थ्यो होला । कति विरक्तिन्थ्यो होला उनीहरुको मन यसरी आफ्नो प्यारो जीवन शैलीबाट एक्कासी कतै कसैको खटनमा चल्नु र हिँड्नु पर्दा । खाँदबारी र दिङ्गलाको डाँडाबाट गाईले टाढा नचिनिने छाँयाजस्तो तल तुम्लिङ्गको खोंचमा हेर्दै ड्वाँ… ड़वाँ… गर्दै आफ्नै भाषामा बहरहरुलाई घर फर्कन आग्रह गरेको हृदयविदारक दृश्य कति नमीठो देखिन्थ्यो । उनको आवाज अरुणको खोंचभित्र त्यत्तिकै हराएर बिलिन हुँदा आफ्नो सन्तानले आफूलाई बिर्सिसकेको पो होकी जस्तो गरी आफैं भावुक पनि हुन्थिन् । आमाले खनेको, बाबाले जोतेको खेतबारी अब बहर हुर्केपछि पालो देला भनेर आशा गरेको बेलामा यसरी कसैले थाहै नपाई सुटुक्कै लैजाँदा विचरा उनीहरुको दिल निक्कै रुन्थ्यो होला । तल्लो गोठको माले, माथ्लो गोठको झुलेहरु सबै गाउँघर नै शून्य बनाएर अर्काको देश जोत्न जानु पर्ने यो कस्तो बाध्यता थियो ।
आफ्नो सन्तानले भोगचलन गर्ने जग्गा जोत्ने बेलामा कहाँ सिङघई पटनीको अनकन्टार बस्तीमा जोतिनु पर्ने, मलायाको अन्जान पाटाहरुमा नारिनु पर्ने, ब्रुनाई, इण्डोनेसिया र मलेसिया, बोर्नियोका गोरु जुधाईमा लड्नु पर्ने । ईटालीको मोण्टेक्यासिनोको जुधाईमा जुध्न जानु पर्ने, मोनस्ट्रीको जोखिमपूर्ण घमासानमा ती लक्का बहरहरु मजाले जोतिनु पर्ने । त्यसरी जोतिँदा लाउँलाउँ खाँउखाउँका बहरहरुको जीवनको अन्तसमेत नचाहेर नै भए पनि मोण्टेक्यासिनोको उकालोमा मोनस्ट्री हमलाको दौरानमा भएको थियो । त्यो जुधाईमा कति हराएर घर फर्कन पनि सकेनन् तर त्यसको क्षतिपूर्ति कसैले पनि पाएनन् ।
मालिक भनाउँदाहरुलाई बहर जोत्न पाए पुगीहाल्यो । कति मरे कति हराए आज पनि त्यहाँको नाम नखुलाइएको चिहानलाई नियालेर हेर्दा मन भक्कानिन्छ । यस्ता पीडादायक घटनाले उनीहरुको परिवारलाई जीवनभर कति पिरोल्यो होला । त्यो बिडम्बना त उनीहरुलाई मात्र थाहा छ जसले त्यो पीडा भोगेका थिए । त्यसरी पराईको देशमा जोतिनु पर्दा कतिले आफ्नो जिन्दगीको अन्तिम सास पराइभूमिमा फेर्नु परेको थियो त्यसको पीडा केवल सयौं कोस पर रहेको उसको परिवार आमा बाबालाई मात्र थाहा भयो होला । मालिकको लागि छानीछानी खरितेले अरु बहरहरु आपूर्ति गरिनै रहन्थे र उनीहरुलाई नयाँ नयाँ प्रजातिका बहरहरुको परिपूर्ति भइरहन्थ्यो । उनीहरुलाई दाउन, जोत्न र जुधाउन पाए उनीहरुका परिवारको पीडा, चिन्ताको बारेमा कुनै मतलब हुँदैनथ्यो ।
एउटा बहर बिस्तारै एक लक्का गोरु भएर बैंसभरी कहिले मलायाको मेलामा, कहिले बोर्नियोको खेतमा, कहिले ईटाली, बर्मा, हङकङ, मेसोपोटामियाँ, सिंगापुर, बेलायत, अफगानिस्तान, कोसोभो, बोस्नियाजस्ता धेरै बेंसीहरुमा जोतिए । खरितेको हातबाट अर्को मालिकको पासमा परेका ती हिजोका बहरहरु आजभोलि उही मधेसतिर कुनै मोलबिनाको बूढो गोरुझैं लखेटिनु परेको छ । कल्कलाउँदो चिल्लोचाप्लो बहर आज हजारौं हलो जुवा खियाएर आफ्नो मालिकको आज्ञा पालना गरे पनि अबका दिनहरुमा बेकम्मा भएर सिमाना काटिनु परेको छ । गोठमा एउटै बास बसेको, एउटै गाँस खाएको भए पनि मालिकले कहिल्यै दाम्लोबाट स्वतन्त्र जीवन जिउन दिएको थिएन। घोडे रम पिलाउँदै, बढाईचढाई गर्दै फुरुक्क बनाई आफ्नो काम फत्ते गर्ने मालिकले खै सास अल्झाउन थोरै घाँसबाहेक बढी केही पनि दिन चाहँदैनन् । जे खान दियो त्यसैमा सन्तोष मानेर जिन्दगी बिताएका बिचरा ती बहरहरु अर्काको खेत जोत्नसम्म जोतेर बिस्तारै भित्री मधेस हुँदै उही पशुबजारमा बिक्री हुन गइरहेका छन् । बल हुँदा मै हुँ भन्ने बहरहरु पनि खै बूढो भएपछि एउटै बजारमा बेचिनु परेको बिडम्बना छ ।
मालिकहरुको बहर दाउने सीपलाई भने मान्नै पर्छ किनभने जुवामा नारीन नमान्नेलाई समेत फकाइफुलाई फुरुक्क बनाई भएभरको तागतले हलो तान्न सक्ने बनाउँछन् उनीहरु । बिचरा उ जहिले पनि गोरुकै तहमा रहनुपर्ने, उनीहरुको हेराई कहिले पनि परिवर्तन नहुने । त्यो बेलाका चिल्ला बहरहरु सबै आफ्नो जवानीलाई आहुती दिएर कति आफ्नो गाउँघर फर्किए, कति फर्किएनन् । फर्केकाहरु पनि घाइते भएर कोही डुँडो, खोरोण्डो भएर फर्कनु परेको थियो । उनीहरुलाई चाहिँदासम्म उपयोग गरे त्यसपछि पत्रुको दर्जामा लखेटे ती निर्दयी मालिकहरुले । खाउँखाउँ लाउँलाउँ उमेरको लाठे बहरलाई लगेर नफर्काउनु वा फर्काएकाहरु पनि सकल्लो नहुनुले पारेको वेदना त छँदैथ्यो तर उनीहरुलाई कुनै क्षतिपूर्तिबिना नै घर पठाउनुले जीवनभरको लागि पीडा थपेको थियो । आफ्नो शरीरको समेत अधिकार नहुनु के ती बहरहरुको कुनै गल्ती थियो र ? स्वतन्त्र रुपमा आफ्नै बगालसँग रनवनमा रमाउँदै बैंसको उन्मादसँग कुर्लीरहेको जीवनबाट सुटुक्कै अलग्गिएका बहरहरु आज बूढो भएर अलपत्र परेका छन् अनिश्चित समयको बाँकी जीवन जिउने क्रममा उही खरितेले बेचेकै मालिकको छत्रछाँयामा ।
आखिर सबै बलेको आगो ताप्नेमात्र त हुन्, जोवन हुँदा आकाशमा उचालीउचाली विचराहरुलाई जोत्नसम्म जोते र अहिले आएर उनीहरुको कुनै मूल्यमान्यता राख्दैनन् । हिजो खरितेबाट सिमाना काटिएका विचरा ती जवानहरु आज यसरी अशक्त बृद्ध भएका छन् उनीहरुको दुःखलाई हेरेर हाँसीहाँसी बसिरहेका छन् उनै मालिक भनाउँदाहरु । यसरी काम फत्ते भएपछि अलपत्र बनाएर लगारेका बूढाहरु अधिकारको खोजीमा आप्mनै मालिकसँग आजभोलि थोरै सिंगौरी खेल्न खोजिरहेका छन् । जुध्ने शक्ति क्षिण र न्यून भइसकेका ती कमजोर शरीरहरुले कतिसम्म जुध्न सक्ने हुन् हेर्दै जानु छ । मालिकहरुको पनि क्षमता पहिलेको तुलनामा निकै कमजोर हुँदै आएकाले कानमा तेल हालेर “काग कराउँदै गर्छ पीना सुक्दै गर्छ” भनी बसेको अवस्थाको अनुभूत हुन्छ । आर्थिक अवस्था पहिलाको जस्तो सबल नभएकोले मालिकहरु अनेक बहाना बनाएर उनीहरुलाई अलमल्याइरहेका छन् । उ बेलाका बहरहरु अहिले उत्तिकै जोसका साथ पहिलेको बदला लिन तम्सीरहेका छन् ।
खरितेहरु भने अझै पनि उसरी नै बहरहरुको खोजीमा छ्यासछ्यास्ती छन् फरक यतिमात्र छ पहिलेका बहरहरुलाई गोठबाट समातेर सुटुक्कै लानु पथ्र्याे भने आजभोलि बहरहरु आफैं जोतिन आउँछन्, कसैले झुक्याएर सुटुक्कै लैजानु पर्दैन । मालिकहरु त उही हुन् पहिले र अहिलेको, फरक त्यतिमात्र हो यी बहरहरुको भविष्य बूढो पिढीको भन्दा धेरै उज्यालो छ, आशा छ उनीहरुको जवानीपछि उही बूढो गोरुको कथा उनीहरुको जीवनमा दोहोरिँदैन होला । मालिक भनाउँदाहरुलाई खुनको बदलामा घुँडा टेकाउन हाम्रा उहिलेका बहरहरु सफल हुने हो कि नहुने हो हेर्न बाँकी नै छ । यो न्यायको लडाइँ सास रहुन्जेलसम्म लड्ने संकल्पका साथ बूढाहरु लागिरहेका छन् । आयु कसैको पनि बढ्दैन र समय एकातिर मात्र दौडन्छ, कतै ती बहरहरुको जवानीको मूल्य चुकाउन नपाई बूढो गोरुहरुको बथान सकिने पो हो कि भन्ने गहिरो चिन्ताको विषय रहेको छ ।






