गुठी विधेयक खारेजीको माग गर्दै उपत्यकावासीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले विधेयक फिर्ता लिए पनि बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो, जहाँ आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताए ।

भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् । तर, उपत्यकावासीले विधेयक खारेज गर्नुपर्ने माग राखिरहेका छन् । मन्त्री अर्यालको निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो ।






