नेपाली लोकरक ब्यान्ड नेपथ्य पहिलोपटक मलेसियामा गुन्जदै

SHARE:

काठमाडौँ । अध्ययन र अन्य अवसरका निम्ति बिदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ ।

क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै आएकाहरूले ‘जेप क्वालालम्पुर’ मा सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्नेछन् ।

जापानको जेप नेटवर्कअन्तर्गत रहेर चार वर्षअघि मात्र तयार भएको यो अन्तर्राष्ट्रिय रंगमंच सहरकै मुख्य पर्यटकीय गन्तव्य बुकित बिन्ताङमा अवस्थित छ । स्थापनाको साढे तीन दसक लामो यात्रामा पहिलोपटक यो मुलुकका दर्शकमाझ उपस्थित हुनलागेको नेपथ्यका लागि मलेसिया २० औं देश हुनेछ भने क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर ।

तन्नेरीहरूकै सङ्घर्ष र सपनाबाट उठेको नेपथ्यका निम्ति वैदेशिक रोजगारीका गन्तव्यहरू प्रारम्भिक टेको बनेका थिए । गत वर्ष प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा नब्बेको दशकताका ब्यान्ड जन्मिएसँगै जापान र हङकङका अनुभवहरूलाई प्राथमिकतासाथ उल्लेख गरिएका छन् । त्यसैगरि ब्यान्डले हिजोआज सबैजसो कन्सर्टमा प्रस्तुत गर्ने गरेको म्युजिक भिडियो ‘मै मरिजाउँला, जीवन छोटो छ’ पनि पछिल्लो कालखण्डकै रचनामध्येमा पर्छ, जसमा श्रम गरेर पारिवारिक समुन्नतिको सपना देख्ने तन्नेरीको गाथा समेटिएको छ ।

‘मलेसियाबाट धेरै अगाडिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपाला बल्ल भेटघाटको जोग जुर्न लागेकोमा असाध्यै खुसी छु,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई टेको दिने तन्नेरीहरूसँग स्वदेशको माया बाँड्न म र मेरो टिम आतुर छौँ ।’
लाहुरे परिवारकै सदस्य भएकाले कुनै समयको ‘मलाया’ सँग आफ्नो पनि विगत जोडिएको अमृत बताउँछन् ।

आफूहरू बसोबास गर्दै आएको स्थानमा नेपथ्यको पहिलो उपस्थितिलाई लिएर क्वालालम्पुर मात्र नभई पर–परसम्मका नेपालीबीच पनि व्यापक चासो अनि उत्साह देखिएको स्थानीय आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ ले जनाएको छ । ‘जताततैका जमघटहरुमा कन्सर्टबारे चर्चा चल्न थालेको छ भने फोनमार्फत जिज्ञासा राख्नेहरू पनि दिनदिनै बढिरहेका छन्,’ आयोजक संस्थाका विपिन नकर्मी भन्छन्, ‘दर्शकको सुविधाका लागि सकेसम्म बन्दोबस्त मिलाइरहेका छौँ ।’ विपिनका अनुसार अनलाइन बाहेकका माध्यमबाट टिकट काट्ने दर्शकलाई गाह्रो नपरोस् भनेर दर्शकको घरसम्मै टिकट ‘डेलिभरी’ को व्यवस्था पनि मिलाइएको छ ।

विभिन्न मुलुक र तिनका सहरहरू नेपथ्यको उपस्थितिसँगै सिङ्गो नेपाली सङ्गीत क्षेत्रका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आएका छन् ।
फरक–फरक स्रोतका अनुसार पाँच लाखभन्दा बढी नेपालीहरुको बसोबास हुदै आएको देखाउने मलेशियामा हालसम्म सामुदायिक हिसाबले गरिने ससाना गीत तथा नृत्यका संयुक्त आयोजनाहरुको मात्र रेकर्ड देखिन्छ ।

नेपथ्यले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउन भरिसक्य कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्रामा जस्तै यो यात्रामा पनि कलाकार, प्राविधिक एवं व्यवस्थापकको टोली क्वालालम्पुर पुग्दै छ ।

‘मलेसियामा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकहरुको स्वादमा बढोत्तरीका लागि हामीले स्तरीय कार्यक्रमस्थल देखि प्रस्तुतिका विभिन्न पाटामा उत्तिकै ध्यान पुर्‍याएका छौँ,’ ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘दर्शकले सङ्गीतका साथसाथै नेपाली समुदायकै जमघटको पनि स्तरीय आस्वादन अनुभव गर्नेछन् ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!