
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’
मन्त्री बाँस्कोटा बोल्नुअघि मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष यादव खरेलले सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाएका थिए । मन्त्री बाँस्काटोले ठट्यौली पारामा भने, ‘हुँदाहुँदै यादव खरेलजस्तो सिनियर कलाकारलाई पनि भड्काएछन्,।’ बाँस्कोटाले भोलिका दिनमा हलिउडले पनि अवार्ड गर्छु भन्यो भने गर् भन्नुपर्ने बताए ।
मन्त्री बाँस्कोटाले अगाडि भने, ‘सरकारले सन् ०२० मा भिजिट नेपाल मनाउँदैछ, यसको पनि पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि हामीले मिडिया समिट पनि गर्दैछाैं । यसका लागि २०/३० करोड खर्च गर्दैछौं । भोलि नेपालका पत्रकारलाई १० करोड नदिने, विदेशी पत्रकारलाई २०/३० करोड रुपैयाँ दिने भनेर विरोध होला !’
मन्त्री बाँस्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खोइ भनेर प्रश्न गर्दै जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए । मन्त्री बास्कोटाले भने- ‘बालाजुको जग्गा खोई ? जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ?’
मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘त्यो जग्गा खोई ? त्यो जग्गा कसले खायो ? त्यो जग्गा खानेलाई कारवाही गर्ने कि नगर्ने ? सरकारले त्यसै काठमाण्डौमा अत्याधुनिक स्टुडियो बनाउने भनेको होइन । सरकारले काम गर्न त आँटिरहेको छ त ।’
मन्त्री बाँस्कोटाले जग्गा खानेलाई पहिले घिसारेर अगाडि ल्याउने अनि स्टुडियो बनाउने बताए । आधा घन्टा लामो मन्तव्य राखेका मन्त्री बाँस्कोटाले राष्ट्रिय चलचित्र नीति ०७१ पारित गर्ने प्रतिवद्धतासमेत जनाए । उनले चलचित्रकर्मीलाई यो बिषयमा छलफल गर्न आउन आग्रह गरे । मन्त्री बाँस्कोटाले साउनदेखि बक्स अफिस देशभरि पूर्णरुपमा लागू हुने स्पष्ट पारे । साथै नेपाली चलचित्रको विकासका लागि सरकारले सधैं काम गर्ने बताए ।






