सल्लाहकार तथा संयोजक, क्होलासोंथर अध्ययन भ्रमण तमुधिं युके
गुरुङको ऐतिहासिक थलो क्होलासोंथर कास्कीमा पर्दछ । त्यहाँ पुग्ने मान्छेहरु विरलै भेटिन्छन् । यो सांस्कृतिक, मौलिकताको हिसाबले अत्यन्त महत्वपूर्ण स्थल हो । तथापि राज्यले अहिलेसम्म अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खनन् भने गरेको छैन । विगतमा केही प्रयत्न भए पनि सार्थकता पाउन सकेन । पछिल्लो समय तमुधिं युके नेतृत्वको टोली त्यो ठाउँको भ्रमण गरेको छ । क्होलासोंथरको अवस्था र अब कसरी संरक्षण र विकास गर्नुपर्छ विषयमा भ्रमण टोलीमा सहभागी एकेन्द्र गुरुङसँग एभरेष्ट टाइम्सले जिज्ञासा राखेको थियो । प्रस्तुत छ, तमुधिं युकेका सल्लाहकार तथा क्होलासोंथर अध्ययन भ्रमण संयोजक एकेन्द्र गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश ।
वैशाख पहिलो साता तपाईंहरु गुरुङको ऐतिहासिक थलो क्होलासोंथर पुग्नुभयो, विदेश बस्ने अनि ऐतिहासिक थलो सम्झने भन्ने प्रश्न उठ्ला नि ?
स्वदेशमा भन्दा प्रवासमा बस्दा आफ्नो देशको बढी माया लाग्छ । बढी बुझ्न मन लाग्छ र देशको वास्तविकता के हो भन्ने जिज्ञासा बढी हुन्छ । जहाँसम्म क्होलासोंथर अध्ययन भ्रमणको सन्दर्भ छ, हामी तमुधिं युकेको तर्फबाट त्यहाँ गएका हौं । तमुधिं युके जातीय संस्था हो, जातीय संस्थाको उद्देश्य भनेकै आफ्नो जाति, धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्ने, जातीय पहिचानको बारेमा बुझ्न चाहने हुन्छ । क्होलासोंथर कस्तो रहेछ, हाम्रा पुर्खाहरु कसरी बसेका रहेछन् । त्यसबारे कतिसम्म अध्ययन गर्न सक्छौं, कतिसम्म बुझ्न सक्छौं भन्ने यावत् कुराका लागि हामी क्होलासोंथर गएका हौं ।
आफ्नो पुर्ख्यौली पैतृक थलो, आफ्नो भाषा, संस्कार, संस्कृति, सभ्यता विकास भएको ठाउँमा हामी जानुपर्छ । त्यसलाई प्रमोट, उजागर गरेर विश्वसामु चिनाउनुपर्छ भन्ने मान्यतासहित हामी पुगेका हौं ।
आफ्नो भाषा, संस्कार, संस्कृति र सभ्यताको उद्गमथलो टेक्दाचाहिँ कस्तो अनुभूति गर्नुभयो ?
त्यहाँ पुगेपछि अधिकांश साथीहरु भावुक बन्नुभयो । कसै कसैले त, मैले राम्रो सपना देखेँ भन्नुभयो । पुर्खाहरुले धेरै समय बिताएको ठाउँ, अहिले गुरुङको जतिपनि संस्कार संस्कृति छन्, त्यो त्यहींबाट विकासित भएको हो भन्ने कुराले हामी भावुक भयौं । हामी फेरि पनि आउनुपर्छ, यसलाई चिनाउनुपर्छ जस्ता खालका कुरा हाम्रा बीचमा भएको छ । त्यसमा हाम्रा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, दुईजना उपाध्यक्ष हुनुहुन्थ्यो । तर, भ्रणम कार्यक्रम संयोजक म आफैं थिएँ । हामी अनुसन्धाता होइन र त्यस भ्रमण टोलीमा विज्ञ पनि कोही थिएनन् । तत्काललाई त्यो ठाउँ पुगौं भन्ने उद्देश्य मात्रै थियो हाम्रो ।
कस्तो रहेछ त त्यो भूगोल ?
त्यो ठाउँ समुद्र सतहबाट ३५ सय मिटरको उचाइमा छ । क्होलासोंथरमा हामीले तीनवटा गाउँका अवशेष देख्न सक्छौं । त्यो ठाउँ दक्षिणतिर मोहडा फर्केको छ । एकदमै जाडो हुन्छ । हिउँ परेको थियो । त्यहाँ राजाको दरबार, सभाघर (छोंजधिं) हामीले देख्यौं । घोडा बान्ने ठाउँ, तत्कालीन समयमा त्यहाँका ज्योतिषहरु, पच्यु, अग्रजहरु बसेर छलफल गर्ने र जोखना हेर्ने ठाउँ पनि हामीले देख्यौं । त्यसका अलावा तत्कालीन समयमा प्रयोग गरिएको ढिकीहरु, जाँतोहरु पनि हामीले देख्यौं ।
त्यहाँबाट उकालो दुई घण्टा हिँडेर चार हजार मिटरको उचाइमा एउटा गुफा रहेछ । त्यसको नाम ज्होम्स्यो उँ (ओडार) । त्यो ओडारमा तपस्या गरेर बस्ने रहेछ । अलि तल गएपछि राजाको घोडा दौडाउने ठाउँ पनि हामीले देख्यौं । तत्कालीन समयका राजदरबार र त्यो बेला बस्ती हुँदाको सम्पूर्ण कुराका अवशेष देख्न सक्छौं । भौगोलिक दृष्टिकोणले क्होलासोंथर दक्षिणतिर फर्किए तापनि एकदमै उचाइमा रहेको छ ।
त्यस्तो कष्टकर ठाउँमा कसरी सभ्यता विकास भयो होला ?
त्यो ठाउँमा कसरी मान्छे बसे होलान् भनेर हामी सहजै अनुमान लगाउन सक्दैनौं । तर, पनि त्यहाँको भग्नावशेषलगायत सम्पूर्ण कुरा हेर्दा मान्छे पक्कै पनि बसेको हुनुपर्छ । हामीले यसमा मनाङ, मुस्ताङ र लमजुङकै विकट ठाउँका गाउँहरु हेर्दा पनि मिल्दोजुल्दो भूगोल पाउँछौं । संसारमा नयाँ प्रविधि विकास नभएको अवस्थामा मान्छे त्यहाँ बसेको हुनुपर्छ, बसेका रहेछन् भन्ने अनुमान लगाउन सक्छौं ।
अध्ययन भ्रमणपछिको योजना के छ ?
बेलायतमा गुरुङहरुको भाषा, संस्कृति विकास गर्न, नयाँ पिढीमा हस्तान्तरण गर्नका लागि तमु फोरम संस्था खोलेका छौं । त्यो फोरममा गुरुङका भाषा, संस्कार, संस्कृतिलाई तीनटा भाषामा लेख्ने योजना बनाएका छांै । फोरमका दुइजना डाइरेक्टर पनि हामीसँग हुनुहुन्थ्यो । उहाँहरु तमुधिं युकेसँग पनि अट्याचमेन्ट भएको अवस्था हो । हामीले अध्ययन भ्रमणमा देखेका र अनुभूत गरेका कुराहरुलाई जनसमक्ष ल्याउने कोसिस गर्नेछौं । तमुधिं युकेले पनि आफ्नो ढंगले काम गर्नेछ ।
क्होलासोंथरमा रहेको ढुंगा, गारो सबैका नाप, नक्सा हामीले ल्याएका छौं । बेलायत पुगेपछि सम्बन्धित विज्ञसँग परामर्श गरी नयाँ ढंगले यसबारे जानकारी गराउने उद्देश्य छ ।
देश, विदेशमा गुरुङ संघसंस्थाहरु दर्जनौं छन् । तर, यस्ता ऐतिहासिक थलो संरक्षण र प्रचारमा ध्यान दिन कमी भयो भन्ने लाग्दैन ? खाली सरकारले चासो दिएन भन्ने गुनासो सुनिन्छ ?
वास्तवमा गुरुङ संघसंस्थाहरु यसमा सक्रिय हुनुपर्ने हो । संस्थाहरुले नसके सरकारलाई घचघच्याउनुपर्ने हो । त्यो भइरहेको अवस्था छैन । क्होलासोंथर प्रदेश नं. ४ को कास्कीस्थित मादीगाउँपालिकाको भूगोलमै पर्दछ । मादी गाउँपालिकाका सबै साथीहरु त्यहाँ जानुभएको थियो । बेलायतबाट आउने बेलामै क्होलासोंथरबारे अन्तक्र्रिया, गोष्ठी गर्ने हामीबीच कुरा भएको थियो । जब हामी क्होलासोंथर भ्रमण गरेर फर्कने क्रममा सिक्लेसमा प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको विशेष आतिथ्यतामा, त्यहाँका सांसद, गाउँपालिकाका अध्यक्षहरु, तमुधिं युके, तमुका सबै संघसंस्थाहरुको सहभागितामा अन्तत्र्रिmया कार्यक्रम गर्यौं । क्होलासोंथरलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा सबैको चासो रह्यो । त्यहाँ एउटा घोषणापत्र पनि तयार भएको छ । त्यसले पनि केही काम गर्छ होला ।
विगतमा पनि क्होलासोंथरको अध्ययन भए तर निष्कर्ष निकालिएन । फेरि पनि अनुसन्धानको काम टुंगोमा पुगिएन भने के अर्थ रहन्छ र ?
पहिले पहिलेका भग्नावशेषहरुको फोटो हेर्दा अग्लो, ठूलो जुन किसिमको देखिन्थ्यो, त्यो अहिले छैन । हामीले बाहिरी मुलुकमा हेर्दा जुन ठाउँमा पुराना, ऐतिहासिक कुराहरु जो छ, त्यसलाई अत्यन्तै संरक्षण गरेर राखिएको हुन्छ । नेपालको सन्दर्भमा गुरुङहरुको ऐतिहासिक थलोमा के कुरा अध्ययन भए, के कुरा उत्खनन् गर्यो भन्ने कसैलाई जानकारी छैन । त्यो जानकारी नहुँदानहुँदै पनि त्यहाँ हिँड्ने मान्छे, त्यहाँका गोठालाले ढुंगाहरु उप्काएर फालिदिने, सबै कुरा लथालिंग पारिदिने काम भइरहेको छ । हामी गएर त्यसरी फाल्न भएन, संरक्षण गर्नुपर्यो भन्नुपर्छ ।
लमजुङका घनपोखरा, नाम्दुङ र घलेगाउँका स्थानीयले भोगचलन गर्दै आएको छ क्होलासोथर छ । गोठलाँदा त्यहाँको ढुंगा छुन भएन अनि त्यो ठाउँमा अध्ययन भ्रमणमा जानेहरुका लागि पौवा बनाइएको छ, त्यो अन्यत्रै बनाउनुपर्यो । नयाँ संरचना बनाउँदा त्यहाँका भग्नावशेषका ढुंगा छुन भएन । टाढैबाट ल्याउनुपर्यो । त्यहाँको आकार, ढुंगा, रुख सबै चिजको महत्व हुन्छ । त्यहाँका ढुंगाहरु फलामले कुँदेर बनाइएको छ । यसमानेमा त्यहाँ फलामको विकास भइसकेको रहेछ । धेरै कुरा बुझ्नुपर्ने हुन्छ । कमसेकम त्यो म्यासेज हामी दिन्छौं । हामीले धेरै कुरा दिन नसके पनि सानोतिनो सन्देश चाहिँ दिएका छौं ।
तपाईहरुको भ्रमणपछि क्होलासोंथरको संरक्षण र विकास हुने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
म एकदम आशावादी छु । अहिले मुलुक संघीयतासहितको नयाँ संरचनामा गइरहेको छ । र, प्रत्येक गाउँपालिका, गाउँसभालाई यो अधिकार छ । हामी तमुवानको कुरा गरिरहेका छौं, तमुहरुको पहिचानको कुरा गरिरहेका छौं भने आफ्नो थातथलो बारेमा, आफ्नो इतिहासबारेमा कमसेकम कुरा उठाएका छौं । हामी पुगेर आयौं, यो विषय सबै तहतप्कामा सन्देश प्रवाह भएको छ ।
यत्तिमात्रै नभएर संसारको कुनै पनि ठाउँमा, जहाँ तमुहरु बसेका छन्, नेपाली बसेका छन् त्यहाँ यो सन्देश गएको छ, जान्छ । कुनै न कुनै क्षेत्र र तहबाट यसको संरक्षणमा केही काम अवश्य हुन्छ भन्ने हामीलाई
लागेको छ ।
क्होलासोथरको विकास र संरक्षण हुन नसक्नुमा विकट भएकोले हो ?
एकदमै विकट ठाउँ हो । त्यो ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । लमजुङ, मनाङ, मुस्ताङ संसारकै सबैभन्दा राम्रो पर्यटन रुटमा पर्छ । तर, क्होलासोंथरमा कोही पर्यटक पुग्छ न कोही मान्छे नै । पुग्ने भनेका गोठाला हुन् । र, हिउँद लागेपछि आदिम्थलो भन्नेहरु अध्ययन गर्न जान थालेका छन् । त्यसकारण त्यहाँ पुग्न मान्छे विल्कुलै कम हुन्छ ।
अब त्यहाँ पुग्न प्रत्येक गाउँपालिकाका साथीहरु चाहे त्यो क्होलासोंथरका किन नहोस्, चाहे मादी गाउँपालिकाको नै किन नहोस् । सबैले आआफ्नो ठाउँबाट त्यहाँ पुग्ने बाटो मर्मत र निर्माण गर्नुपर्छ ।
त्यहाँ कुन कुन बाँटो हुँदै जान सकिन्छ ?
क्होलासोंथर घनपोखरा, भुुजुङ, पसगाउँबाट पनि पुग्न सकिन्छ । भाचोक, याङ्जाकोट, ताङतिङ र सिक्लेसलगायत सबै ठाउँबाट त्यहाँ पुग्न सकिन्छ । सबभन्दा छोटो बाटो सिक्लेसबाट हो । तर, त्यो बाटो एकदमै उकालो, अप्ठ्यारो छ । त्यो बाटोलाई विस्तार र पुनर्निर्माण गर्नुपर्छ ।
त्यत्तिमात्रै होइन, प्रत्येक गाउँपालिकाले आफ्नो ठाउँबाट त्यहाँ पुग्ने सहज बाटो निर्माण गर्नुपर्छ । ठाउँठाउँमा धर्मशाला, पाटीपौवाको निर्माण गर्नुपर्छ ।
भनेपछि पर्यटनको राम्रो सम्भावना पनि छ ?
त्यो एकदमै सम्भावना देखेको छु । बेवसाइट बनाएर संसारभरिका मान्छेहरुलाई क्होलासोंथरको बारेमा जानकारी गराउनुपर्छ । बाहिर बस्ने नेपालीका छोराछोरी अर्थात् नयाँ पिढीहरु संसारका नयाँ ठाउँमा घुम्न चाहन्छन् । त्यहाँ जाने बाटो अलि राम्रो बनाउनुपर्छ । बाटोमा पानीको व्यवस्था गर्नुपर्छ । पाटीपौवा नभए पनि कमसेकम पाल टाँगेर बस्ने व्यवस्था हुनुपर्छ । त्यसो गर्यौं भने धेरै मान्छे त्यहाँ आउने वातावरण बन्छ ।






