नुवाकोट । कांग्रेसी नेताहरुको आडमा नेपाल एसबीआई बैंकको शाखा केन्द्र अपायक खोलिएपछि पञ्चकन्या गाउँपालिकामा विवाद चर्किएको छ । वडा नं २ सहरेटार बजारमा खोलिएको शाखालाई गाउँपालिकाको अस्थायी कार्यालय रहेको ठाउँमा सार्न धेरै पटकको आग्रह एसबीआई बैंकले अटेरपछि विवाद चुलिँदै गएको हो । एसबीआई बैंक गत भदौमा पञ्चकन्या गाउँपालिका २ मा बसेको हो । पञ्चकन्या गापाको केन्द्र वडा नम्बर ३ को लाकुरीभञ्जयाङ कायम गरिएको छ । तर, खानेपानी, अन्य पूर्वाधार निर्माण भइनसकेकोले अस्थायी रुपमा अहिले गाउँपालिका कार्यालय घलेञ्जयाङमा राखिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय सरकारको कारोबार र नागरिकको पहुँचका लागि खोलिएको बैंक पायक पर्ने ठाउँमा राख्न नमानेको भन्दै गाउँपालिकाले बुधबार बोर्ड हटाउन पत्र काटेको थियो । गाउँपालिकाको पत्रको बेवास्ता गरेको बन्दै शुक्रबार इलाका प्रहरी कार्यालयलाई पत्र लेखेर बोर्ड हटाउन निर्देशन दिइएको थियो । पालिकाको निर्देशनअनुसार थोरै संख्यामा प्रहरी बैंक रहेको सहरेटार पुग्नसाथ कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतका भतिज रमेश महत दलबलसहित आएपछि बोर्ड हटाउन सकेनन् । बैंकले हेड अफिस र राष्ट्र बैकको अनुमतिबिना कसैले हटाउन नमिल्ने कानुनी प्रावधान रहेको भनेपछि प्रहरी त्यसै फर्किएका थिए ।
गाउँपालिकाले तोकेको स्थानमा बैंक नबसेको, अनुमति नलिएको, नागरिकको पहुँच बाहिर बैंक शाखा खोलिएको भन्दै रुष्ट रहेका गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले बैंकले राजनीति गर्न खोजेको आरोप लगाए । ‘बैंकले बोर्डमा गाउँपालिकाको नाम राख्ने भनेको नमान्ने भएपछि बोर्ड हटाउन खोजीएको हो’,अध्यक्ष तामाङले भने, ‘नेता बोलाएर बैकले राजनीति गर्न खोजे । स्थानीय सरकारलाई टेरेनन् ।’
एसबीआई बैंक सहरेटार शाखाका मेनेजर अश्विन आचार्यले राष्ट्र बैंकले स्थानीय तहमा जानु भनेकाले आएको बताउँदै भने,‘हाम्रो कर्पोरेट अफिसले घलेभन्ज्याङमा हेरेर पूर्वाधार नभएको भन्दै तल राखेको हो । गाउँपालिकाले माथि घलेभन्ज्याङमा चाहियो भन्छ । मैले एक्लैले सार्ने नियम छैन ।’ तर गाउँपालिकाले पूर्वाधार र सुरक्षाको प्रबन्ध गरे पनि बैंक दलगत प्रभावमा अपायक ठाउँमा जबर्जस्ती सञ्चालन गराइरहेको दाबी गरे । गाउँपालिका अध्यक्ष तामाङले भने, ‘तल कुनामा बैंक बसेको छ । बैंकसम्म जान टाढाका जनताले सास्ती व्यहोर्नु पर्छ । भवन चाहियो भने त्यो दियौं । सुरक्षाको लागि ईलाका प्रहरी राखियो । बाटो छैन भने सडक ल्याएँ । त्यति गर्दा पनि बैंक आएन । समन्वय पनि नगर्ने अनि कानुनी ढंगले पत्र पठायौं ।’
गाउँपालिकाको अस्थायी कार्यालयबाट बैंकसम्म जान दुईभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यता छ । उक्त बैंक छिमेको तादी गाउँपालिकाको खरानीटारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको दूरी पैदलमा आधा घण्टाकोमा रहेको छ । स्थानीयले कुनै क्षेत्रलाई बैंक नै बैंक, कुनै क्षेत्रलाई एउटा पनि बैंक नजिक नभएको भन्दै गुनासो पोख्छन् ।
गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा बैंक तथा वित्तीय संस्था नभएको, बैंक भएर आउन हटेर गरेकोले अर्को बैक ल्याउने कार्यक्रम पारित गरेको उनले बताए ।
बैंकका मेनेजर आचार्यले नजिकैको नवजीवन माविको एसईईमा पास हुने विद्यार्थीको बिदाई कार्यक्रम सकेर कांग्रेस नेता रमेश महत बैंकमा आइपुगेको र प्रहरी पनि त्यति बेला आएको बताउँछन् । ‘नेता आउनु र प्रहरी आउनु सँगै भो’, उनले भने, मैले राजनीति गरेको होइन् ।’
कांग्रेस जिल्ला नेता महतले बैंक संघीय सरकारअन्तर्गतको भएकाले त्यसरी बोर्ड हटाउने नमिल्ने बताए । ‘प्रहरीलाई गृह र अर्थ मन्त्रालयको चिठी ल्याएरमात्र बैंकको बोर्ड हटाउन मिल्छ भनेको हो’, महतले भने,‘राष्ट्र बैंकले बाहेक अरुले बैंक सार्न मिल्दैन ।’ राजनीतिक स्वार्थमा बैंक मुछिएकोले कुनै पनि बेला पञ्चकन्यामा तनाव सिर्जना हुने स्थिति बनेको छ । गाउँपालिकाले एसबीआइ बैंकलाई केन्द्र नजिक नसरे हटेर जावोस् भनिरहेको छ भने कांग्रेस पक्षधरले हाल बैंक रहेको ठाउँलाई कायम राख्ने बल गरिरहेको छ । बैंकको विषयले राजनीतिक लडाइँ सुरु भएको पञ्चकन्यामा सहमति, समझदारीबाट दुवै पक्ष अघि बढ्नु पर्ने विज्ञहरु औंल्याउँछन् ।






