लन्डन, सनिवार २६ जुलाई २०२६ – भारतीय सहर दार्जिलिङका चर्चित तथा लोकप्रिय नेपाली सांगीतिक समूह ‘मन्त्र ब्यान्ड’को भव्य सांगीतिक प्रस्तुतिले बेलायत संगीतमय बनेको छ। मगर संघ युकेद्वारा रसमर एरिनामा आयोजित ‘म्युजिक फर युनिटी’ नारासहितको खुला सांगीतिक कार्यक्रम (ओपन कन्सर्ट) मा ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेको हो।
कार्यक्रममा ब्यान्डका मुख्य गायक भास्कर देवान, लिड गिटारमा प्रज्ञा लामा, बेस गिटारमा प्रभाष सुब्बा, किबोर्डमा मनिष थापा, ड्रम्समा बिर्जु चौधरी (ब्रिज) र फ्लुट तथा साक्सोफोनमा विधानले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए।
मगर संघ युकेको निमन्त्रणामा नेपालबाट बेलायत पुगेका चर्चित तथा लोकप्रिय कलाकार निता थापा मगरले कार्यक्रममा आफ्नो बेजोड प्रस्तुति दिएका थिए। त्यस्तै ‘द भोइस अफ नेपाल’ सिजन ७ की सेकेन्ड रनर-अप पुनम गुरुङ तथा सिजन ३ का सेमिफाइनलिस्ट गोबिन पुनले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मनोरञ्जन गराए।
यसैगरी, लोकदोहोरी गायक-गायिकाहरू सम्झना भण्डारी, सबिना बुढा मगर, रुपी सिञ्जाली मगर, बिमता घर्ती मगर, राजेन्द्र घर्ती मगर र निरुता पुन मगरले गायन प्रस्तुति दिएका थिए। नृत्यतर्फ ‘मगर गट ट्यालेन्ट’ आठौँ संस्करणका विजेता एलिसा पुन मगर र प्रतिमा पुन मगरका साथै नेपालबाट पुगेका कलाकारहरू सरिष्मा राम्जाली मगर र अस्मिता राना मगरले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
चर्चित तथा लोकप्रिय गायक पवन राना मगर, मेस नेपाल युके २०१२ विजेता दुर्गा गुरुङ र मगर गट ट्यालेन्ट २०२४ का विजेता मिल्कन थापा मगरले सांगीतिक कार्यक्रम संचालन गरेका थिए।
मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) को अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि र रसमर बोरो काउन्सिलका उपमेयर जीव बेलवासे विशेष अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा उपाध्यक्ष एवं प्रमुख संयोजक गुमानसिङ थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि दुवाडी र विशेष अतिथि बेलवासेले शुभकामना मन्तव्य दिनुभएको थियो। औपचारिक सत्रको सञ्चालन महासचिव गोमन पुन मगरले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संयोजन सांस्कृतिक सचिव नुनु पाइजा मगरले गर्नुभएको थियो।
अध्यक्ष लालबहादुर पुन मगरले ‘ओपन कन्सर्ट’ लाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने मन्त्र ब्यान्ड, अतिथि कलाकारहरू, प्रायोजक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण दर्शकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।







