काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भ्रष्टहरुको संरक्षण गरेको ठहर गरेको छ । पार्टी एकताको एक वर्ष बितिसकेपछि फाइनल भएको नेकपाको राजनीतिक प्रतिवेदन छपाईका लागि प्रेसमा गएको छ । गत जेठ ३ गते नेकपा एकताले एक वर्ष पूरा गरेको छ ।

प्रतिवेदनमा काँग्रेस बारेमा के उल्लेख छ ?
नेपाली काँग्रेस
नेपाली काङ्ग्रेस नेपाली काङ्ग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । यद्यपि, यसले लोकतान्त्रीकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काङ्ग्रेसले नै गरेको छ । त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवम् अन्योन्यास्रित सम्बन्ध छ ।
यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । उसको यही आर्थिक नीतिकै कारणबाट काङ्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन ।
नेपाली काङ्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘ प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोँगमा परिणत भएको छ ।
नेपाली काङ्ग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिनसकेको छैन । उसको नेतृत्वमा सरकार हुँदा कैयौँपटक राष्ट्रिय हितविपरीत सन्धि– सम्झौता र राष्ट्रियतामाथि आघात पुर्याउने निर्णय भएका छन् ।
२००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरूमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ । राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ ।
नेपालको लोकतान्त्रिक सङ्घर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ ।
नेपालको लोकतान्त्रिक सङ्घर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ ।
विगतमा हामीले सामन्तवादविरुद्धको सङ्घर्षमा पटक–पटक नेपाली काङ्गे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ । तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली काङ्ग्रेस नै हो ।






