
काठमाडौँ । नेपाल–भारत संयुक्त प्राविधिक समितिले पूर्वमा सप्तरीको खाँडोदेखि पश्चिममा राप्ती नदीसम्म द्विदेशीय निकासका १३ वटा विन्दुमा ‘द्विपक्षीय तटबन्ध निर्माण टुंगोमा नपुग्दा र भारततर्फ नदीको प्राकृतिक बहावमा रोकावट आउँदा’ डुबान तथा कटान समस्या बर्सेनि बढेको निष्कर्ष निकालेको छ । समितिले गत वर्ष असार १२ देखि १६ र मंसिर ४ देखि ७ सम्म गरेको स्थलगत अध्ययनमा नदी नियन्त्रण गर्ने नाममा जथाभावी बनाइएका संरचनाकै कारण द्विदेशीय सीमावर्ती बिन्दु आसपासका बस्ती डुबान र कटानमा परेको निष्कर्ष निकालेको हो। उक्त निष्कर्षसहितको प्रतिवेदन गत वर्ष माघ ४ मै परराष्ट्र मन्त्रालयमा बुझाउँदै ‘देखिएको डुबान/कटान समस्या सुल्झाउन कार्ययोजना तय गर्दै कूटनीतिक च्यानलबाट अघि बढ्न’ सुझाव दिइएको थियो।
‘पहिलो पटक भारतले सीमावर्ती बिन्दुमा बनाइएका संरचना (बाँध/तटबन्ध) को त्रुटिका कारण दुईतर्फी डुबान/कटान समस्या उब्जिएको रहेछ भनेर सहमतिको माइन्युटमा हस्ताक्षर गरेको छ, यो एउटा उपलब्धि हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक अन्तरसंवादमा भने। उनले डुबान समस्याको कारण पहिल्याइसकेको अवस्थामा निकट भविष्यमा बस्न लागेको द्विदेशीय परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो मामिलालाई गम्भीरतापूर्वक उठाइने प्रतिबद्धता जनाए।
सिँचाइ विभागका उपमहानिर्देशक इन्जिनियर प्रदीप थापाका अनुसार वर्षायाममा द्विदेशीय सीमावर्ती बिन्दुमा सबैभन्दा बढी डुबान/कटान हुने प्रमुख १३ क्षेत्रमा दुवै देशका प्राविधिकले दुई पटक गरेर १० दिन स्थलगत भ्रमण गरेका थिए। पूर्वको खाँडो (सप्तरी) नदी हुँदै लंगडीगोठ (सिरहा), कमला (धनुषा), रातो (जलेश्वर), लखनदेही (सर्लाही), लालबकैया (रौतहट), वाग्मती (रौतहट), गण्डक पश्चिम (नवलपरासी), खजुरा/झरै खोला (नवलपरासी), बजाहसागर (कपिलबस्तु), महलीसागर (कपिलबस्तु), वाणगंगा (कपिलबस्तु) र राप्ती (बाँके) सम्मका दसगजा वारपारका डुबान क्षेत्रमा समितिले भ्रमण गरेको थियो।
भ्रमण गरेमध्ये लालबकैया, वाग्मती र रातो नदी क्षेत्रमा नेपालतर्फ तटबन्ध तथा नदी व्यवस्थापन भए पनि भारततर्फ तटबन्ध नभएका कारण बर्खाको बाढी दसगजापारिको उँचो सतहका कारण फर्किएर (ब्याक वाटर) नेपाली भूमिमा छिर्ने गरेको अध्ययनमा पाइएको उपमहानिर्देशक थापाले बताए।
यसैबीच, बाँध, डुबान र तटबन्धबारे अन्तरसंवादमा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धमा ‘पानी प्रबन्ध’ को कुरा सबैभन्दा जटिल र महत्त्वपूर्ण रहेको बताए। ‘भारतले अन्तर्राष्ट्रिय प्रावधान र सन्धि–सम्झौताविपरीत प्रतिकूल तरिकाले सीमावर्ती क्षेत्रमा बाँध वा सडक बनाइरहेको अवस्था छ,’ उपाध्यायले भने, ‘भारतीय पक्षले गर्नु नहुने अर्घेल्याइँ गरिरहेको छ। हाम्रो परराष्ट्र मन्त्रालयले आँखामा आँखा जुधाएर संवाद नगरिन्जेल यी समस्या सुल्झने होइन, बल्झिरहने देखिन्छ।’






