बयान बदलेर मानव तस्कर वडाध्यक्ष सुनबहादुर तामाङलाई उन्मुक्ति, पैसा र पहुँचकै भरमा पर धकेल्दै जेल यात्रा

SHARE:

उच्च अदालत पाटनबाट सफाइ पाएर निस्किँदा पनि सुनबहादुर तामाङको अनुहारको जीतको भाव थिएन। बरु पीडिततिर हेर्न उनले संकोच मानिरहेका थिए। जुन महिलाको बयान अनेक धम्की र प्रलोभनमा पारेर बदलिएको थियो, उनी चाहिँ अथाह पीडा र भारी मन बोकेर फर्किइन् । नुवाकोटको दुप्चेश्वर–१ का वडाध्यक्ष तामाङलाई मानव तस्करीको मुद्दामा जिल्ला अदालतको फैसला उल्ट्याएर असार ३१ गते उच्च अदालत पाटनले सफाइ दियो। उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासबाट सफाइ पाएर फकिँदा पनि सुनबहादुर हतास र पराजित मानसिकतामै थिए।

२०५२ सालबाटै सुरु भएको जेल यात्रालाई सुनबहादुरले पैसा र पहुँचकै भरमा पर धकेल्दै आएका छन्। उच्च अदालतमा उनले प्रस्तुत गरेको बयान र पीडित महिलाले प्रस्तुत गरेको बयानले यही प्रमाणित गर्छ।

जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजङ्ग शाहको एकल इजलासले २०७४ चैत ७ गते मानवतस्कर सुनबहादुरलाई ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। मानव तस्करीमा भएको फैसलामध्येमा सुनबहादुरलाई भएको सजाय सबैभन्दा ठुलोमध्येको एक हो। यो मुद्दा उच्च अदालतमा आइपुग्दा उल्टियो। अपराधमा संलग्नलाई उन्मुक्ति दिएर बरु पीडितलाई जेल पठाउने प्रपञ्च भयो।

उच्च अदालतले पीडित महिलाको बयानका आधारमा सुनबहादुरलाई सफाइ दिएको उल्लेख गरेको छ। ‘झुठ्ठा बकपत्र गर्ने जाहेरबाली एवं पीडित परिवर्तित नाम ३७ लाई मुलुकी ऐन अ.व. १६९ नं. बमोजिम रु. १५००।– जरिवाना र २० दिन कैद हुने ठहर्छ,’ उच्च अदालतले गरेको फैसलामा भनिएको छ। तर, सोही अभियोगमा मुद्दा दायर गरिएका टीकाराम तामाङलाई चाहिँ जिल्ला अदालतले गरेको ३० वर्षको कैद सजायलाई उच्च अदालतले सदर गरेको छ।

‘मानव तस्करी जघन्य अपराध हो, यस्ता विषय सुक्ष्म अध्ययन हुनुपर्छ,’ पाटन उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले नेपालन्युजसँग भने, ‘तर यो मुद्दामा पीडित महिलाको बयान र सम्पूर्ण प्रमाणहरु हेरेर नै फैसला आएको हो।’

घटनाक्रम

यौनधन्दाका लागि नेपाली महिलाहरुलाई सबैभन्दा बढी लगिने ठाउँ हो –दिल्ली। त्यसपछि दोस्रो स्थानमा पर्छ, मुम्बई। यी पीडित महिलालाई पनि मुम्बई नै पुर्याइएको थियो। मुम्बईको कोठीबाट भागेकी तामाङ थरकै यी महिला केही नेपालीको सम्पर्कमा थिइन्। २०७० असारमा जब उनी कोठीबाट भाग्न सफल भइन्, तिनै नेपालीहरुको साथले शक्ति समूहको सम्पर्कमा पुगिन्।

२०७० असार २५ गते शक्ति समूहले जिम्मा लिएपछि उनी नेपाल फर्किएर अभियुक्तहरुविरुद्ध मुद्दा दायर गरिन्। जिल्ला अदालतमा दायर गरिएको रिटमा प्रश्नसँग भनिएको छ, ‘सुनबहादुरकी कान्छी पत्नीको मुम्बईस्थित कोठीमा मलाई बेचेएको हो।’ त्यही आधारमा मुद्दा अघि बढ्दा जिल्ला अदालतले अभियुक्त सुनबहादुरविरुद्ध ३७ वर्ष ६ महिनाको कैद सजाय तोकेको थियो। तर, दुई वर्षपछि पीडितको घाउमा खाटो बसिसक्यो। अपराधमा संलग्नहरुले पनि सल्बलाउने मौका पाए। अन्ततः पीडितलाई त्रास, धम्की र प्रलोभनमा पारेर मुद्दा उल्ट्याउन विवश पारियो। यतिसम्म कि, उच्च अदालतमा आइपुग्दा मुद्दाको फाइलबाट राधा तामाङको नामै गायव पारिएको छ।

शंकाको घेरामा सुनबहादुर

उच्च अदालत पाटनबाट सफाइ पाएका सुनबहादुर एक पटक मात्रै मानव तस्करीको अभियोगमा फसेका होइनन्। २०५२ सालमै उनलाई जिल्ला अदालतले २ वर्षभन्दा बढी कैदी सजाय गरिसकेको थियो। दुई युवतीलाई सुनबहादुर र उनका भाइ कान्छा भनिने सञ्च तामाङले विवाह गर्ने प्रलोभनमा पारेर बेच्न मुम्बई लाने क्रममा काँकरभिट्टाबाट उद्धार गरिएको थियो।

जिल्ला अदालतका न्यायाधीश शाहले गरेको फैसलामा उद्धार गरेर ल्याउना साथ ती पीडित महिलाको बयानमा सुनबहादुर, उनकी पत्नी राधा तथा अन्य अभियुक्तहरुको कर्तुत प्रष्टसँग उल्लेख गरिएको थियो। विवाहको प्रलोभनमा पारी ती महिलालाई बेच्ने टीकाराम र मुख्य नाइके सुनबहादुरलाई कैद सजाय र जरिवाना गरेको जिल्ला अदालतले कोठी सञ्चालक राधालाई चाहिँ फरार अभियुक्त भएको जनाउँदै तामेलीमा राखेको थियो। उच्च अदालतमा सुनबहादुरले मानव तस्करीमा संलग्न नभएको बताएका छन्। ‘जाहेरवाली भारतमा रहेको समयमा सुनबहादुर तामाङ भेट्न गएको र निजलाई सहयोग नगरेको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ, म भारत गएर निजलाई भेटेको छैन, म गएर भेटेकै हो भने पनि भेटेर सहयोग नगरेका कारणले मैले निजलाई बेचबिखन गरेको भन्ने अर्थ लगाउन मिल्दैन,’ सुनबहादुरले बयानमा भनेका छन्।

एक वरिष्ठ अधिवक्ता सुनबहादुरको यो बयानमा खोट रहेको बताउँछन्। ‘गएर भेटेकै हो भन्ने सुनबहादुरको बयानमा गम्भीर अनुसन्धान गर्नुपर्छ, यदि उसको सम्पर्क कोठी सञ्चालकसँग थिएन भने उ किन त्यता जाने? जानुको प्रयोजन के हो,’ उनले भने, ‘यो फैसला संशयपूण छ।’

सुनबहादुरले राधा आफ्नी पत्नी नभएको दावी पनि गरेका छन्। आफ्नी जेठी श्रीमती साहिली तामाङको २०६८ सालमा निधन भएको उल्लेख गरेका सुनबहादुरले अहिले आफु कान्छी लक्ष्मी घ्लान तामाङसँग बस्दै आएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!