मोरङ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासलाई प्रहरीले मुद्दा चलाएको छ ।
धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका आचार्यलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ।
आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए। तर, आचार्यमाथि गोली प्रहार भएको पेस्तोल प्रहरीले बरामद गर्न गर्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालयले हेर्ने उक्त मुद्दामा आरोप प्रमाणित भए १ वर्ष कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका आचार्यलाई विशेष प्रहरी अनुसन्धान टोलीले सोमबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेर विराटनगर ल्याएका थिए।






