काठमाडौं । चिनमा जारी वल्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले दोस्रो स्वर्ण पदक जितेका छन् । आइतबार भएको १० किलोमिटरको क्रस कन्ट्रीमा निमेशले स्वर्ण जितेका हुन् ।
चिनको चान्दुकमा भएको प्रतिस्पर्धामा निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका थिए । विश्वका विभिन्न देशका पुलिस र आर्मीका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागीता जनाएका हुन् ।
यद्यपि नेपाली पासपोर्ट भएका कारण प्रतियोगितामा उनको देश नेपाल नै उल्लेख हुने गर्दछ । निमेशले जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको हाफ म्याराथन (२१.५ किलोमिटर) मा पनि स्वर्ण जितेका थिए ।
क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो तथा आयोजक चिनको खेलाडी तेस्रो भए । निमेशले दुई वर्षअघि अमेरिकाको लसएन्जलसमा भएको वल्ड पुलिस फायर गेम्समा पनि यी दुबै विधामा स्वर्ण पदक जितेका थिए ।
यस पटक उनले यी दुबै विधामा आफ्नो उपाधि रक्षा गरेका हुन् । जारी प्रतियोगितामा निमेशले १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गर्ने छन् । यो विधाको प्रतिस्पर्धा अर्काे आइतबार रहेको हुने छ ।
प्रतियोगितामा स्वर्ण जितेपछि निमेशले चिनबाट खुसी व्यक्त गरे । ‘आजको प्रदर्शन पनि निक्कै राम्रो भयो । अन्य खेलाडीलाई निक्कै पछि छाडेको थिए’, निमेशले भने, ‘अवसर पाएको अवस्थामा अझै राम्रो गर्न सक्छु भन्ने अनुभव भएको छ ।’
सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश सिंगापुरको घरेलु प्रतियोगितामा स्थापित धावक हुन् । सिंगापुरमा हुने प्रायः प्रतिस्पर्धा जितीसकेका निमेशले त्यहाको राष्ट्रिय च्याम्पियन खेलाडीलाई समेत नियमित रुपमा पराजित गर्दै आइरहेका छन् ।
उनलाई अघिल्लो साता मात्रै सिंगापुर पुलिस फोर्सले वर्षको उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो । त्यसअघि गत वर्ष उनलाई सिंगापुरको गृह मन्त्रालयले वर्षको उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो ।






