काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० क्रिकेटको अलराउन्डरतर्फको वरीयतामा नेपाली टोलीका कप्तान पारस खड्काले छलाङ मारेका छन् । उनले यसपटक एकैपटक १५ स्थान सुधार गरेका छन् । ताजा वरीयताअनुसार पारस अलराउन्डरतर्फ २६औँ स्थानमा छन् । मलेसियाविरुद्धको टी–२० शृंखला र टी–२० विश्वकपअन्तर्गत अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कप्तान पारस अलराउन्डरतर्फको वरीयतामा उकालो लागेका हुन् । आइसिसीले बुधबार नयाँ वरीयता सार्वजनिक गरेको हो ।
पारसको यो वरीयता कुनै पनि नेपाली खेलाडीले आइसिसी वरीयतामा हात पारेको अहिलेसम्मकै उच्च हो । पारसले भारतका सुरेश रैना र जिम्बावेका इल्टोन चिगुम्बुरासँगै संयुक्त रूपमा २६औँ स्थानमा प्राप्त गरेका छन् । उनीहरूले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटमा नाम चलेका दिग्गज क्रिकेटरलाई पछि पारेका छन् । भारतीय राष्ट्रिय टोलीका अलराउन्डर हार्दिक पाण्ड्यासमेत उनीभन्दा पछि छन् । पाण्ड्या पारसभन्दा १६ स्थानपछि ४२औँ स्थानमा छन् । यस्तै, टी–२० फ्रेन्चाइज क्रिकेटमा बल र ब्याटबाट सशक्त प्रदर्शन गर्ने वेस्टइन्डियन खेलाडी एन्ड्रे रसेल पनि पारसभन्दा वरीयतामा निकै पछि परेका छन् । रसेल कप्तान पारसभन्दा २७ स्थानपछि ५३औँ स्थानामा छन् ।
टी–२० क्रिकेटको ब्याटिङतर्फ पनि कप्तान पारसको वरीयतामा सुधार आएको छ । उनी नयाँ वरीयताको ६६औँ स्थानमा आइपुगेका छन् । यो वरीयतामा उनले भारतीय पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी, वेस्टइन्डिजका क्रिस गेलजस्ता विस्फोटक ब्याट्सम्यानलाई पछि पारेका छन् । धोनी कप्तान पारसभन्दा मात्रै एक स्थान पछि छन् । कप्तान पारस (४१७ रेटिङ प्वाइन्ट)ले धोनी (४१५)लाई दुई अंकले पछि पारेका हुन् । गेल भने पारसभन्दा सात स्थान पछि ७३औँ स्थानमा छन् । न्युजिल्यान्डका कोरे एन्डरसन अझ पछि छन् ।
टी–२० अलराउन्डरमा अर्का नेपाली खेलाडी सोमपाल कामीको वरीयता खस्किएको छ । सिंगापुरमा भएको टी–२० विश्वकप छनोट प्रतियोगितामा ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेका सोमपालको वरीयता खस्किएको हो । उनी नयाँ वरीयतामा ६७औँ स्थानमा पुगेका छन् । उनी कुनै समय आइसिसी अलराउन्डर वरीयतामा ४९औँ स्थानसम्म पुगेका थिए । टी–२० क्रिकेटको अलराउन्डरतर्फको वरीयतामा नेपालका कप्तान पारस र सोमपाल दुई खेलाडी मात्रै समावेश छन् ।
टी–२० क्रिकेटको बलिङतर्फ समावेश दुवै नेपाली खेलाडीको वरीयता खस्किएको छ । नयाँ वरीयताअनुसार वसन्त रेग्मी ७१औँ र सोमपाल कामी ७८औँ स्थानमा छन् । विश्वकप छनोट प्रतियोगितामा गरेको कमजोर प्रदर्शनकै आधारमा दुवैको वरीयता खस्किएको हो । आइसिसीको नयाँ वरीयतामा यी दुई नेपाली खेलाडीभन्दा अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्क पछि छन् ।






