काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।
साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः अचानक अस्वस्थ्य भएका छन् । उनको अस्वस्थताका कारण आज बस्ने भनिएको पार्टी सचिवालयको बैठक भोलीका लागि सरेको छ ।
नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक बस्ने गृहकार्य भइरहेको तर प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूल भएका कारण सचिवालय बैठक भोलीका लागि सारिएको जानकारी दिए । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक सारिएको हो ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो ।






