नुवाकोटमा अर्गानिक पदमार्ग बन्दै

SHARE:

एटा संवाददाता
काठमाडौं । नुवाकोटको ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ क्षेत्रलाई प्राङगारिक कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रियामा नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले यस क्षेत्रलाई नयाँ तरिकाबाट पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका हुन् । ‘पुरानै तरिका र योजनाले मात्रै अब पर्यटनको विकास हुन सक्दैन’, उनले भने, ‘करोडौं खर्च गरेर बनाएको विगतका योजनाहरु अलपत्र परेर प्रभावहीन भएका छन्, अब स्थानीय विशेषता र प्रांगारिक उत्पादनमार्फत कृषि पर्यटनलाई बढावा दिने हो’।

 

प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङको सचिवालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख तामाङले आफू कृषि राज्यमन्त्री हुँदादेखि सोचेको योजनाअनुसार नै उक्त कार्यक्रम ल्याउन सफल भएको बताइन् । बजेट निर्माणको अन्तिम समयमा नेपाल सरकारको अर्थमन्त्रालय र कृषि विकास मन्त्रालयमा पहल गरी प्रदेशमार्फत कार्यान्वययन हुने गरी सशर्त बजेट विनियोजन भएको उनले जानकारी दिइन् ।

गत वर्ष प्रदेशको पर्यटन मन्त्रालयबाट बजेट विनियोजन भई ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार परिएको थियो । उक्त डिपिआर अपूर्णता रहेको भन्दै स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाहरुले कृषि–पर्यटनको पाटो छुटेकोले त्यसलाई समेट्दै, महत्वपूर्ण धार्मिक, सांस्कृतिक र साहासिक पर्यटनका ठाउँहरु उल्लेख गर्न सुझाव दिए ।

प्रदेश सांसद बद्री मैनालीले ककनीमा पर्यटनको विकास हुन नसक्नुको मुख्य कारण गुठी जग्गा भएको बताए । प्रदेशमा गुठीसम्बन्धी अधिकार नभएको भन्दै सांसद मैनालीले केन्द्रसँग पहल गरिरहेको जानकारी दिए ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले तीन तहकै सरकारको समन्वयमा उच्चस्तरीय प्राविधिक समितिमार्फत अध्ययन र कार्यविधि बनाई कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । यस कार्यक्रमको दुरगामी महत्व रहेको भन्दै सहसचिव सुवेदीले यो कार्यक्रमसँग केन्द्र सरकारकै सफलता जोडिने भएकोले समन्वय र सहयोग रहने बताए ।

अन्तरक्रियामा प्राङ्गारिक कृषिविज्ञ गोविन्द शर्मा, गाउँ पर्यटन प्रवर्द्धन मञ्चका निवर्तमान अध्यक्ष कमल सापकोटा र कृषि विज्ञ एवं पूर्व सहसचिव शरदचन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तोताहरुले सरकारी योजनाको प्रशंसा गर्दै सरोकारवालको सुझावलाई समेट्दै उक्त योजनालाई प्रदेशको गौरवको योजनाको रुपमा विकास गर्नु पर्ने सुझाए । यस कार्यक्रमको प्रभावकारी कार्यन्वयन भएमा यो क्षेत्र दक्षिण एसियाकै नमुना कृषि–पर्यटन क्षेत्र बन्ने दाबी समेत उनीहरुले व्यक्त गरे ।

कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष एवं कांग्रेसका स्थानीय नेता रामकृष्ण थापाले डिपिआर बनाउँदा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल नगरिएको भन्दै असन्तुष्टि पोखे । आफू अध्यक्ष रहेको शिवपुरीका ८ वटामध्ये ७ वडालाई प्राङ्गारिक पदमार्गले छुने भएकाले यो निर्माण कार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रदेशकी उपसभामुख राधिका तामाङलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए । अध्यक्ष थापाले विगतमा पनि दलीय प्रतिनिधि र सरोकारवालाबीच समन्वय नहुँदा थुप्रै योजना कार्यान्वयन निष्प्रभावी रहेको भन्दै स्थानीय सरकारको तर्फबाट आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङ, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश ३ का पर्यटन विकास आयोजना प्रमुख शिव सापकोटा, कृषि ज्ञानकेन्द्र नुवाकोटका प्रमुख तेजप्रसाद दवाडी, निवर्तमान प्रमुख केशवराज खनाल, तरकारी जोन नुवाकोटका निवर्तमान प्रमुख डा. कमलराज गैरे, शिवपुरी राष्ट्रिय निकुञ्जका प्रतिनिधि पशुपति अधिकारी, टान अध्यक्ष नवराज दाहाल, टानका पूर्वअध्यक्षहरु सुमन पाण्डे, दिपक महत, शिवपुरी, ककनी र दुप्चेश्वरका वडा अध्यक्षहरु, स्थानीय कृषक तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

उपसभामुख राधिका तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोनडुप प्रतिष्ठानले व्यवस्थापन तथा सहआयोजना गरेका थिए । उक्त कार्यक्रमका सुझाव तथा निकर्षलाई प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समक्ष प्रस्तत गरिने उपसभामुख तामाङले बताए ।

सो पदमार्ग यस आर्थिक वर्षमा ५ करोड बजेटबाट अघि बढाइँदै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!