लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो ।
काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय खेन्पो गुरु संगय फुन्टशोक शेर्पाको बिशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहने छ ।
दुई चरणमा आयोजना गर्न लागिएको उक्त १ मे शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो छिरिङ्ग, खेन्पो यन्तेन, लामा कोशिषलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्ने भएको छ । त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी युकेका उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिए । उनका अनुसार शुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ्ग गरिने कार्यक्रम रहेको छ । सो पश्चात प्रवचन र अभिषेक प्रदान गरिने छ ।
बीसीसी युकेका अध्यक्ष आङ्ग दावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अन्त्यमा श्रद्धेय खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) दिनेछन् ।
सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रमका लागि भोजनतथा दिपप्रज्वलनमा दान गर्न इच्छुक महानुभावहरुले बीसीसी गुम्बाको कार्यालयमा सम्पर्क गर्न कार्यक्रम संयोजक गुरुङले जानकारी गराए ।
साथै, बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसार उक्त कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडीलाई बिशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विभिन्न गुम्बाका गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको छ ।
निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको अध्यक्ष शेर्पाले जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भैदिनहुनका लागि सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेका छन् ।






