बेलायतमा सुनिए ‘अराजक कवि’ सुब्बा

SHARE:

लन्डन । शुक्रबारको ट्राफिक छिचोलेर ह्यरोस्थित बोरो फुटबल क्लबमा मान्छेहरू ओइरिँदै थिए । कार्यक्रम संयोजक नरेश काङमाङ केही तनावमा देखिए । ढिलो सुरु हुनुभन्दा पनि उपस्थिति पातलो हुन सक्ने सम्भावनाले उनमा बेचैनी बढ्न थालिसकेको थियो ।

थप अबेर हुन नदिन युद्ध कवि काङमाङ स्टेजमा प्रकट भए । उनले एकल कविता साँझबारे बोल्न थाले । ‘गोजीमा कविता भेटे’ वाचन गरे । र, निम्ता गरे साँझका नायक कवि उपेन्द्र सुब्बालाई । चेली गीतकार शशी थापा सुब्बाले माङ्गेन्ना उठाइन् फूलमाला पहिराएर । सामाजिक अभियानकर्मी रामशरण सिम्खडाले लिम्बु जातिको पवित्र प्रतीक सिलाम साक्मा छातीछेउको कोटमा उनिदिएर शुभेच्छा प्रकट गरे ।
सिर्जनशील अराजक कवि सुब्बालाई देख्नेबित्तिकै दर्शक श्रोतामा मुस्कानका रेखाहरू देखा परिसेकका थिए । बोल्न थालेपछि भने हाँसोको फोहोरा छुट्न थाल्यो । यूके छिर्ने सपनाचाहिँ पान्थरको आङसाराङमा बस्दैताका थिएछ । गल्लाकहाँ जाँदा छाती नपाएका सुब्बा अढाई दशकपछि कविका रूपमा बेलायती भूमी छिर्दा आफ्ना सहपाठी र गाउँले दाइहरू सम्झे । ‘अनुहार नमिलेको त्यैमाथि लाहुरे पनि हुन नसकेको मान्छे,’ फिस्स हाँस्दै भने, ‘म यूके नि आइपुगेँ । मलाई हेर्न तपाईहरू पनि आउनुभो ।’

सुब्बाले मिडियाकर्मी सिर्जना निङ्लेकूलाई डाकिन् । उनले ‘कसम’ कविता सुनाइन् । प्रेम कविता सुनाउन लाइसकेपछि आफ्नै स्वरबाट वाचन गर्न तम्सिए । काव्य साधनाको उत्तराद्र्धमा चर्चा बटुलिरहेकै अवस्थामा रहेका उनले ‘कीर्ति’ सुनाए । त्यसपछि, उनले लगत्तै कवि एवम् कार्यक्रम प्रस्तोता फणीन्द्र भट्टराईलाई बोलाएर अर्को कविता पाठ गर्न लगाए ।

रङ्गकर्मी सुनिल पोख्रेलको ‘जार’ भन्ने नाटकमा आधारित दुखी पात्रलाई आधार बनाएर लेखिएको ‘ख्यालीमा हारेको ध्रुव’ सुनाउनअघि उनले रेला गर्न कसुर बाँकी राखेनन् । ‘आम्बा पहिले रातभर हिँडेर पालाम् भन्दा पनि हुन्थ्यो । अहिले रातको नौ बजेपछि छोरी मान्छेलाई निस्कन मुश्किल छ,’ फेरि थपे, ‘यसो सोच्दा लाग्छ अहिलेको जस्तो मी टु मुभमेन्ट सबैभन्दा बढी लिम्बुहरूलाई लाग्ने थिएछ ।’ यति भनेपछि हलमा थामिनसक्नुको हाँसो गुञ्ज्यो । कविताका दौरानमा पालम सापटी लिएकोमा उनले मदन चोङवाङलाई सम्झे । एकछिनपछि फेरि भने, ‘आजसम्म नपढेको कविाता पढेछु । जिब्रो लट्पटियो ।’ उनले फेरि सञ्चारकर्मी विमला सेनेलाई डाके । उनले ‘परतन्त्र’ सुनाइन् । रमाइला किस्साहरू धाराप्रवाह जोडेर छेउको मान्छेलाई मूच्र्छा पार्ने खूबी राख्छन् उपेन्द्र सुब्बा । ‘हामी लिम्बुहरू देउता पनि ढाँट्ने मान्छे । नेत्लाङ राखेर झुक्याउँछौँ,’ यति बोलिसकेपछि उनले थाले ‘ढुङ्गाको मन’ । हल भरिभराउ भइसकेका थिए ।
पछिल्लो समय कविहरू सेलिब्रिटी बन्दै गएकोमा उनले सन्तुष्ट व्यक्त गरे । दुई वर्षभित्र करिब आधा दर्जन बढी मुलुकहरूमा उनले कविता सुनाउन भ्याइ पनि सकेका छन् । सिलिचुङ साप्ताहिक र यसको अनलाइन संस्करणले आयोजना गरेको एकल साँझमा सुब्बाले दुई दर्जन बढी रचनाहरू सुनाए । उपन्यासकार सुष्मा रूपाबुङ राईले ‘अँध्यारोको गीत’, कवि गोपीकृष्ण सापकोटाले ‘पुतली’ , गीतकार शशी थापा सुब्बाले समान–अन्तर’ , कवि जगत नवोदितले ‘मेरो आमाको नाम’ , कवि लक्ष्मी राईले ‘शालिक’ र कवि अमित थेवेले ‘कान्छीको झुम्के बुलाकी’ वाचन गरेर कविलाई बेला बेला आराम दिए । दुई घण्टाको प्रस्तुतिलाई बिट मार्नुअघि उनले सबैको व्यग्र प्रतीक्षामा रहेको क्लासिक कविताहरू ‘साँल्दीज्यू ! एक ट्वाक् चढाऊँ कि’ र ‘भेडेटाको पिकनिक’ सुनाए ।

कवि सुब्बाले आफूले कविता लेख्न बस्दा त्यस्तो बिघ्न विषय नभएर बा, आमा, सन्तान, छरछिमेककै पात्रहरू पानामा खेल्ने गरेको रहस्य खोले । उनका कविता, गीत र कथाहरूमा लिम्बु समुदायको साँस्कृतिक मिथक, जनजीवन मुन्धुमी पात्र, सँस्कार, सँस्कृति चेतयुक्त प्रसङ्गहरू भरिभराउ हुन्छन् । उपेन्द््र सुब्बाका हालसम्म तीन कविता सङ्ग्रहहरू र एक कथा सङ्ग्रह प्रकाशित छन् । तीमध्ये ‘खोलाको गीत’ कविता सङ्ग्रह र ‘लाटो पहाड’ कथा सङ्ग्रह चर्चित छन् । उनको पटकथामा दर्जन चलचित्रहरू बनिसकेका छन् । सिलिचुङ साप्ताहिकका प्रधान सम्पादक किरण राईले कवि सुब्बा लाई मञ्चमा उतारेर साहित्यमा निर्माण भएको फरक मानकतालाई प्रस्तुत गरेको बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!